नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9963 · वि.सं. २०७५

नि.नं. 9963 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादित कि.नं. २५ को जग्गामध्ये साबिकमा केही जग्गा स्वर्गीय अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहका नाममा रहेकोमा पछि तत्कालीन राजा वीरेन्द्रका नाममा आएको र केही जग्गा स्वयं तत्कालीन राजा वीरेन्द्रका नाममा रहेकोमा नयाँ नापीमा सबै जग्गालाई एउटै कित्ताको रूपमा कि.नं. २५ कायम गरी श्री ५ महाराजाधिराज नारायणहिटीको नाममा दर्ता स्रेस्ता कायम भएको देखिए पनि राजा वीरेन्द्रको देहावसानको समयमा उक्त सम्पूर्ण जग्गा र सोमा रहेको घरजग्गाको लालपुर्जामा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको कायम भएको थियो । यसबाट के पुष्टि हुन्छ भने कि.नं. २५ को घर जग्गा स्वर्गवासी राजा वीरेन्द्रको स्वामित्वमा रहे भएको देखिने । (प्रकरण नं.३) नेपाल ट्रष्टअन्तर्गत पर्ने सम्पत्तिका सम्बन्धमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४(१)(क) ले राजा वीरेन्द्र, रानी ऐश्‍वर्य र निजहरूका परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको सम्पत्ति ट्रष्टअन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गर्ने अधिकारसमेत दिएको देखिन्छ । साथै दफा ४ को उपदफा (३) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दाबी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानूनबमोजिम कसैको हक वा दाबी सिर्जना हुने छैन भनी स्पष्ट कानूनी व्यवस्था भएको पाइँदा विवादित सम्पत्ति श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा नामसारी हुँदैमा वा राजा वीरेन्द्रको परिवारका सबै सदस्यको परलोक भएकै कारण तत्कालीन राजा ज्ञानेन्द्रमा अपुताली हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.७) विवादित विजयाघर तत्कालीन राजा वीरेन्द्रको देहावसान हुँदाका अवस्थासम्म निज स्वर्गवासी राजाको नाममा रही निजको देहावसानपश्‍चात् नारायणहिटी राजदरबारको नाममा नामसारी भए तापनि सो सम्पत्ति राष्ट्र हितको साथै ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत कुनै व्यक्तिको निजी सम्पत्तिको रूपमा नामसारी भई निजी प्रयोगमा आउने प्रकृतिको सम्पत्ति देखिएन । तसर्थ निवेदिकाले दाबी गरेको कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वालसहितको विजया घर राष्ट्रहित र ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत निवेदिकाको निजी हक भोगमा आउने सम्पत्ति नभई नेपाल ट्रष्टअन्तर्गत पर्ने सम्पत्ति रहे भएको देखिने । (प्रकरण नं.८) कुनै पनि व्यक्तिले आफ्नो निर्विवाद हकभोगको अरूको हक नलाग्ने सम्पत्ति आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा वा अन्य कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्न पाउने कुरा विवादको विषय होइन । तर आफ्नो हक नै नपुग्ने सम्पत्ति कुनै पनि किसिमबाट लिखत गरी वा नगरी अरूलाई हक हस्तान्तरण गर्ने कार्यले भने कानूनी मान्यता पाउन नसक्ने । तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्राप्त भएका सबै सम्पत्तिहरू (जस्तै: विभिन्‍न स्थानका दरबारहरू, वन तथा निकुञ्‍जहरू, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाहरू आदि) राष्ट्रियकरण गरिने संवैधानिक व्यवस्था हुँदा निवेदिकाको पितालाई राजाको हैसियतले प्राप्त हुनआएका सम्पत्ति ट्रष्टको सम्पत्तिको परिभाषामा पर्ने । (प्रकरण नं.९) राजसंस्थाको प्रमुख श्री ५ महाराजाधिराज भएकै आधारमा राजसंस्थाको सम्पत्तिलाई राष्ट्रहित प्रतिकूल कसैलाई व्यक्तिगतरूपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा वा अन्य कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्न हक हुने भनी अर्थ गर्न मिल्दैन । यसबाट निवेदिकाले दाबी गरेको कि.नं.२५ को घर जग्गा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो दिन पाउने प्रकृतिको उहाँको निजी हकको सम्पत्ति नदेखिने । संविधानले स्पष्टरूपमा गरेको संवैधानिक व्यवस्था र कानूनले प्रत्यक्ष निर्धारण गरेको कानूनी व्यवस्थाले राजसंस्थाको नेतृत्व गर्ने स्वर्गवासी राजा वीरेन्द्र शाह र निजको परिवार एवं तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजाको हैसियतबाट प्राप्त भएका भूत, वर्तमान र भविष्य जुनसुकै समयको र जहिले पनि बढे बढाएको समेतका सम्पत्ति ट्रष्टमा जाने भएपछि निवेदिकालाई जानकारी नदिएको भन्‍ने जिकिर तर्कसङ्गत मान्‍न नमिल्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9963
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/09/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७३-NF-०००४ | ०७३-NF-०००५ | ०७३-NF-०००६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9963
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्