नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9932 · वि.सं. २०७५
नि.नं. 9932 — गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा अभियोजन पक्षले अभियुक्त (क) सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवक हो र (ख) निजसँग निजको वैध आयस्रोतसँग अमिल्दो वा अस्वाभाविक सम्पत्ति छ भन्ने मुद्दा हेर्ने निकायलाई देखाउनुपर्छ । अभियोजन पक्षले त्यति गरेको स्थितिमा निर्दोषिताको प्रमाण प्रतिवादी पक्षले गुजार्नुपर्छ । अर्थात् उसले अदालतलाई आफूसँग रहे भएको सम्पत्तिको वैधता तर्कसङ्गत रूपमा स्थापित गर्नुपर्ने । (प्रकरण नं.८) गैरकानूनी सम्पत्तिको आर्जनको मुद्दामा घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तो अभियोग शंकारहित तवरबाट प्रमाणित हुन आवश्यक हुँदैन । यस्ता मुद्दाहरूमा प्रमाणको प्रचुरता (Preponderance of evidence) कता छ सो हेरी अदालत निर्णय निष्कर्षमा पुग्दछ । यो नै अस्वाभाविक सम्पत्ति आर्जनको मुद्दाको महत्त्वपूर्ण आयाम हुने । (प्रकरण नं.९) अकुत सम्पत्तिको सम्बन्धमा कानूनले ग्रहण गरेको प्रमाणको भार अभियुक्तमा सर्ने र दोषी वा निर्दोषिताको निर्णय प्रमाणहरूको प्रचुरताको आधारमा हुने यी दुई सिद्धान्तहरू स्खलित हुन पुग्दछन् । परिणामतः "समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्ने" ऐनको उद्देश्य निस्तेज हुनपुग्ने । (प्रकरण नं.१०) गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा राष्ट्रसेवकको हैसियतमा बिताएको अवधि, त्यसबीचमा निजको चल अचल सम्पत्तिमा भएको वृद्धि, निजले गरेको खर्चमा लिखतबाट देखिएको स्थितिमा लिखतलाई आधार गरी र लिखत नभएकोमा अनुमानसमेत गरी कुल सम्पत्ति, सोमध्ये पैतृक रूपबाट प्राप्त, वैध स्रोतबाट आर्जन भएको पुष्टि भएको र वैध स्रोतबाट पुष्टि हुन नसकेको के कति छ प्रमाणहरूको प्रचुरता (Preponderance of evidence) हेरी निर्णय निष्कर्षमा पुगिने । (प्रकरण नं.१४) अकुत सम्पत्तिमा न्याय निरूपणको क्रममा प्रमाणहरूको प्रचुरतालाई हेर्दा र दोषी वा निर्दोषिताको प्रमाण परीक्षणको आधार मान्दा अभियोगपत्रमा के कुन सम्पत्तिलाई स्रोत खुलेको वैध मानिएको रहेछ भन्ने कुराहरूतर्फ पनि अदालतले ध्यान दिई अभियोग पत्र र प्रमाणको समग्रतामा नै निर्णय निष्कर्षमा पुग्नुपर्छ । अभियोगपत्रमा कुन सम्पत्तिलाई वैध मानिएको छ भन्ने कुरालाई बिर्सी स्रोत नखुलेको सम्पत्तिलाई मात्र वैध ठहर्याउन खोजिएमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पनि प्रमाणहरूको प्रचुरताको सिद्धान्त प्रतिस्थापित हुन गई घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तै अकुत सम्पत्तिको कसुरमा पनि आरोप शंकारहित तवरबाट प्रमाणित हुनुपर्ने (Beyond reasonable doubt) सिद्धान्त नै हावी हुनपुग्ने । (प्रकरण नं.१५) सरकारी सेवामा रहेको राष्ट्रसेवकको सम्पूर्ण समय सरकारको हुन्छ । कार्यालय समय बाहिर गर्दा पनि काम गर्न अख्तियारवालाबाट अनुमति लिएको हुनुपर्छ । त्यसरी कार्य गर्न अनुमति लिई रकम आर्जन गरेकोमा पनि प्राप्त रकमको कर तिरेको आदि प्रमाणहरू पेस गरेको हुनुपर्छ । प्रमाण पेस नगरेको अवस्थामा त्यसलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9932 |
|---|---|
| मुद्दाको विषय | गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2074/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई |
| मुद्दा नं. | ०७२-CR-०५७८ | ०७२-CR-०६४३ | ०७२-CR-१२३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9932 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
