नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9896 · वि.सं. २०७४
नि.नं. 9896 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनी राज्य तथा प्रजातान्त्रिक शासन पद्धतिमा आफ्ना कानूनी अधिकार र कर्तव्य, कानूनद्वारा अन्तर्निहित विशेषाधिकार तथा कानूनप्रदत्त स्वविवेकाधिकारको प्रयोग गर्दा स्वेच्छाचारीरूपमा कदापि गर्नु हुँदैन । हरेक त्यस्ता स्वेविवेकाधिकारको प्रयोग गर्दा औचित्यताको तार्किकरूपमा पुष्टि हुन जरूरी हुने । बहालवालालाई हटाउनु र नयाँलाई राख्नुको तार्किक कारण तथा औचित्यताको पुष्टि हुनुपर्दछ । त्यसैले त्यस्तो निर्णय गर्दा औचित्यपूर्ण र तार्किक आधार कारण खोली गर्नुपर्ने हुन्छ । अन्यथा जसले जे काम जसरी गर्दा पनि हुने भई कानूनको शासनको नै बर्खिलाप हुन पुग्ने । (प्रकरण नं. ४) कानूनबमोजिम स्थापना वा गठन हुने सार्वजनिक निकायहरूमा सार्वजनिक जिम्मेवारी निर्वाह गर्नुपर्ने पदाधिकारी नियुक्ति गर्नु सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को परिधिभित्रसमेत पर्ने हुँदा राज्यकोषमा दायित्व पर्ने गरी कुनै पनि पदमा कसैलाई नियुक्ति दिई निजले कार्य आरम्भ गरिसकेको अवस्थामा निजलाई त्यस्तो पदबाट हटाउँदा निर्णयकर्ताले आधार र कारण खोली पारदर्शिता र इमान्दारिता प्रष्ट देखिने गरी गर्नुपर्नेमा विना कुनै आधार र कारण कुनै सार्वजनिक पदमा कार्यरत पदाधिकारीलाई विना कुनै तथ्ययुक्त आधार, कारण वा कसुर आत्मनिष्ठरूपमा हटाउनु न्यायको रोहमा स्वीकार्य नहुने । (प्रकरण नं. ५) कानूनी मान्यताअनुरूपको प्रक्रिया नअपनाउने हो भने गरेको कार्य जतिसुकै तार्किक, औचित्यपूर्ण र वैध भए पनि त्यसमा शंका गर्ने प्रशस्त ठाउँ रहन्छ र त्यसको औचित्यता र वैधता पुष्टि हुन नसक्ने । (प्रकरण नं. ७) अन्तरिम आदेश कायमै रहँदाका बखत त्यस्तो आदेशबाट रोक लगाइएको काम गर्नु जबरजस्तीपनको पराकाष्ठा नै मान्नुपर्छ, कुनै पनि नेतृत्त्व वर्गबाट संविधानले यस्तो अपेक्षा गर्दैन । अदालतले कुनै रिट निवेदन स्वीकार गरेपछि र अन्तरिम आदेश कायमै रहेका बखत त्यस्तो निवेदन वा अन्तरिम आदेशलाई निष्प्रायोजित तुल्याउन चालिने कपटपूर्ण व्यवहारलाई अदालतले पनि गम्भीररूपमा लिनुपर्ने । सरकारका जिम्मेवार निकाय वा पदाधिकारीले अदालतसमक्ष विचाराधीन विषयलाई प्रभावित तुल्याउन पूर्वाग्रहयुक्त तवरबाट कुनै काम गर्नु हुँदैन भन्ने कुराको हेक्का राख्नु अत्यावश्यक हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9896 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/09/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७२-WO-०५६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9896 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
