नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9852 · वि.सं. २०७४
नि.नं. 9852 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन, अंशबन्डाको १९ नं. को देहाय १ नं. ले २१ वर्ष नपुगेका छोरा छोरीको पूर्ण संरक्षकत्व पितालाई सुम्पी पिताले गर्ने व्यवहार सदैव निजका सन्तती नाबालकहरूको पक्षमा हुन्छ भनी भरोसा गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाले अन्यथा पुष्टि भएमा बाहेक घरको मूलीले आफ्ना नाममा भएका घर जग्गा सुक्री, बिक्री, लेनदेनसमेत गरेका सम्पूर्ण व्यवहारहरू त्यस्ता नाबालकको हितमा हुन्छन भनी मानेको छ । घर मूलीको व्यवहारबाट सम्पूर्ण अचल सम्पत्ति समाप्त भई १२ वर्ष नपुगेका नाबालकको बीचल्ली नहोस् भन्ने उद्देश्यले दण्ड सजायको २६ नं. ले त्यस्ता नाबालकको भागमा पर्ने सम्पत्ति पर सारी व्यक्ति र सरकारी बिगो भराउनु पर्ने भनी नाबालकको हितको लागि विशेष व्यवस्था गरेको हो । बिगोको भरिभराउ गर्ने प्रयोजनका लागि तायदात जायजात तथा लिलामसमेतको कारवाही गर्दा १२ वर्षमुनिका नाबालक देखिएमा मात्र यो कानूनी व्यवस्था आकर्षित हुने । कपाली तमसुक हुँदा, मुद्दा दर्ता हुँदा र उक्त मुद्दामा अदालतबाट फैसला हुँदा ऋणीका सगोलका सन्ततीहरू १२ वर्षमुनिको नाबालक देखिए पनि त्यस अवस्थामा मुलुकी ऐन, अंशबन्डाको १९ नं. को देहाय १ नं. आकर्षित हुन्छ । सो समयमा पिताले गरेको व्यवहारमा साबालक भइसकेपछि बिगोको कारवाही हुँदा अंश हकको प्रश्न उठाउने अधिकार त्यस्ता साबालक छोरा छोरीलाई हुन्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ५) काम गरी जीवन निर्वाह गर्न सक्षम भइसकेका व्यक्तिले पिताले खाएको ऋण पिताको नामको सम्पत्तिबाट भरी भराउ गर्नबाट रोक्न पाउने हो भने घरको मुख्य व्यक्ति परिवारको भरण पोषण गर्नसमेतका लागि व्यवहार गर्न असक्षम हुन पुग्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9852 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/01/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७१-WO-०४७८ | ०६६-WO-०१०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9852 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
