नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9824 · वि.सं. २०७४

नि.नं. 9824 — मानव बेचबिखन तथा ओसार पसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितलाई भएको शोषण, प्रतिवादीले स्वदेशबाटै वैधानिक निकायबाट पठाएको नदेखिएको तथा निज वैदेशिक रोजगारसम्बन्धी आधिकारिक व्यक्ति नभई निजको कार्य जीउ मास्ने बेच्ने ऐनले स्पष्ट परिभाषित कसुर भएको हुँदा प्रतिवादीको जिकिरमा उल्लिखित वैदेशिक रोजगार ऐन आकर्षित हुने नदेखिने । (प्रकरण नं. ५) मानव बेचबिखन जस्तो अपराधमा आर्थिक फाइदा, शारीरिक शोषण, यौन शोषण, श्रम शोषण, स्थानान्तरण, वेश्यावृत्ति आदि जस्ता मनसायगत तत्त्वहरू देखिन्छन् । यस्ता अपराधमा प्रतिवादीको इन्कारी मात्रलाई प्रमाणमा लिई सफाइ दिन सक्ने स्थिति रहँदैन् । परिस्थितिजन्य प्रमाणहरूबाट समेत कसुर स्थापित गर्न सकिने । (प्रकरण नं. ६) देशको फौजदारी कानूनले प्रतिवादीलाई जतिसुकै जेल सजाय वा दण्ड दिएपनि पीडित महिलाको जीवन सामाजिक सोच र व्यवहारले गर्दा सदा पीडामा नै रहन जाने र पीडितले न्याय पाएको अनुभूत गर्न नसक्ने स्थिति सिर्जना हुन जाने हुँदा अति संवेदनशील पीडितको जीवनसँग सम्बन्धित मुद्दाहरूका सन्दर्भमा अभियोजन एवं अनुसन्धान पक्ष सँधै सजग, सचेत र समझरूपले पीडित राहत मुखी बन्नु उपयुक्त हुन जाने । (प्रकरण नं. ११) मानवीय जीवनको sanctity लाई बचाउन तथा यसलाई अझ मूल्यवान्‌ बनाउन राज्यको ठूलो भूमिका रहन्छ । व्यक्तिको अस्तित्व अझ ओजपूर्ण बनाउन र पीडितले समाजमा आफूलाई सम्मानपूर्वक बाँच्ने स्थिति हुनका लागि राज्यका हरेक अंगहरू र समाजसमेत समझ सचेत र सक्षम हुनुपर्छ । पीडितको राहतको निमित्त कानून निर्माता, कानूनका व्याख्याता, कानूनका कार्यान्वयनकर्ता तथा न्यायका उपभोक्ताहरू समेत पीडितमुखी हुन जरूरी देखिने । (प्रकरण नं. १२) पीडितलाई एकातिर छाडेर अपराधीको पछाडि मात्र हिँडेर फौजदारी न्यायको मक्सद पूरा हुन सक्दैन । पीडितले पनि न्यायको अनुभूति गर्न सकेमा त्यस्तो कानून प्रणाली सक्षम र सफल मान्न सकिन्छ । जुन पीडित राहतशास्त्रको अवधारणाबाट अगाडि बढन जरूरी देखिन आउने । (प्रकरण नं. १३) विधायिकी कानूनले मात्र सँधै समाजको न्यायिक मूल्य प्राप्त गर्न नसक्ने हुन सक्छ । अदालतको काम मूल्यको खोजी एवं पहिचानसमेत गर्नु हो । जुन मूल्यले मानवको आदर्श एवं सम्मानलाई कम हुन नदिई उचो गराउन प्रयत्नशील हुन जरूरी देखिन्छ । विधायिकी कानून नैतिकता कै पक्षमा प्रकट हुने भएपनि अदालत सदासर्वदा त्यस्को पक्षमा प्रयत्नशील र अभ्यस्त रहन्छ । न्याय गतिशिल प्रक्रिया हो । न्यायको सटिक परिभाषा गर्न सजिलो छैन । यसलाई नाप्ने yardstick पहिचान नभएर नै न्याय सापेक्ष (relative) मानिएको हो । न्याय समयअनुसार परिभाषित हुँदै अगाडि बढ्दछ र मानव मूल्यलाई संरक्षण गर्दछ । यो मानव मूल्यको व्याख्यासमेत समयअनुसार परिस्कृत हुँदै जानु पर्छ र मानवको जीवनको पवित्रताले स्थान पाउन जरूरी हुने । (प्रकरण नं. १७) अभियोग पत्र दायर गर्दा प्रचलनमा रहेको जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ मा क्षतिपूर्तिसम्बन्धी व्यवस्था नभएकोले अभियोग माग दाबी नभए पनि पीडितलाई केही हदसम्म भए पनि न्याय दिन अदालत अगाडि सर्नु पर्ने नै हुन्छ । अदालतले न्यायिक प्रक्रियामा मुद्दा पिच्छे मूल्यको (value) पहिचान गर्नुपर्दछ । जुनसुकै मुद्दाको निर्णयमा स्वार्थहरूको द्वन्द्वको value judgement भइराखेको हुन्छ । अदालतद्वारा मुद्दाको अवस्था, प्रकृति र सन्दर्भअनुसार कानूनको व्याख्या एवं प्रयोग गर्नुपर्ने । (प्रकरण नं. २०) जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लाई प्रतिस्थापित गर्दै आएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ ले कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकम नघट्ने गरी प्रतिवादीबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराई दिनपर्ने छ भन्ने कानूनी व्यवस्थाले वारदातको समयमा सो कानून नरहे पनि पीडितको मानवीय संवेदनशीलता र निजलाई पर्न गएको क्षतिको उपचार पीडितले नपाउने भनी अर्थ गर्न नमिल्ने । संविधान र कानूनले अपराध हुँदाका अवस्थामा प्रचलनमा नरहेको कानूनले सजाय गर्न सकिदैन तर पीडित राहत शास्त्र यस्तो विधिशास्त्र हो जहाँ पीडितका प्रति हुन गएको अनेकन क्षतिलाई अदालत मुद्दा चलाउने पक्ष र अरू संलग्न निकायले संवेदनशीलरूपमा हेर्नु पर्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9824
मुद्दाको विषयमानव बेचबिखन तथा ओसार पसार
निर्णय वर्ष / मिति2071/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६६-CR-०८४८ | ०६७-CR-०५२७ | ०७०-CR-१३०४ | ०६७-CR-१२८८
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9824
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्