नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9794 · वि.सं. २०७४
नि.नं. 9794 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि सवारी चलाउने व्यक्तिले सवारी चालक अनुमतिपत्र लिनुपर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई अनिवार्यरूपमा पालना गर्नुपर्ने व्यवस्था हो । सार्वजनिक सडकमा सवारी चलाउने ज्ञान र सीप नभई कुनै पनि सवारी चलाउनु हुँदैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले लिखित र प्रयोगात्मक परीक्षणबाट सफल भएका उम्मेदवारलाई सवारी चालक अनुमतिपत्र प्रदान गर्ने कानूनी व्यवस्था गरेको देखिन्छ । तसर्थ लिखित र प्रयोगात्मक परीक्षणमा उत्तीर्ण भई सवारी चालक अनुमतिपत्रको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिमा सवारी चलाउने ज्ञान र सीप भनी कानूनतः अनुमान गर्नु पर्ने । सवारी चालक अनुमतिपत्र नै नभएका व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको कानूनद्वारा निषेधित कार्य हो । कानूनद्वारा निषेधित कार्य गरी सवारी चलाउने अनुमति नै प्राप्त नगरेको व्यक्तिले सवारी चलाई सो सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सोकार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको मान्नुपर्ने । (प्रकरण नं.४) कुनै पनि सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एक अर्कामा अन्तर्सम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9794 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2073/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री रामचन्द्र यादव |
| मुद्दा नं. | ०७०-CR-११४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9794 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
