नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9772 · वि.सं. २०७४
नि.नं. 9772 — दर्ता बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दा फैसला हुँदा के कस्तो फैसला भयो, मुद्दामा हारजित के भयो लगायतका फैसलाको के परिणाम आएको हो भन्ने कुराको वारेसले कागज गर्न नपाउने हो भने फैसलाबाट ठहर भएको वा हारजितको कुरा नै कायम नरहने अवस्था आउन सक्छ । फैसलाबमोजिम ठहरेको दण्ड जरिवाना कारणीले बेहोर्ने भए पनि मुद्दा ठहर वा हारजित के भयो भन्ने कुराको कागज गर्न वारेसले नपाउने भन्ने नहुने । (प्रकरण नं. ५) वस्तुतः अ.बं. १८५ र १९३ नं. बमोजिम फैसला सुनी पाएको कागज फैसला भएको तत्काल पछि अर्थात् फैसला भएकै दिन गराइने कागज हो । त्यस्तो फैसला सुनी नपाएसम्म मुद्दाको टुंगो नलाग्ने हुनाले फैसला सुनी पाउनेसम्मको अवस्थालाई मुद्दाको कारवाहीको अभिन्न अंग मान्नुपर्ने देखिन्छ । अ.बं. ६५(३) को व्यवस्थाले पनि मुद्दाको फैसलाको काम कारवाही टुंगो नलाग्दासम्म सम्बन्धित पक्षले नियुक्त गरेको वारेसको अधिकार समाप्त भई नसक्ने गरी तदनुरूपकै व्यवस्था गरेको देखिन्छ । अ.बं. १९३ नं. मा उल्लेख भएको पुनरावेदन गर्ने म्यादको गणना गर्दा पनि सम्बन्धित पक्ष रोहवरमा भई फैसला सुनेकोमा सोही मितिबाट पुनरावेदन गर्ने हदम्याद प्रारम्भ हुने । सम्बन्धित पक्ष रोहवरमा नभएको अवस्थामा निजका नाममा पुनरावेदनको म्याद जारी भई म्याद तामेल भएको मितिबाट पुनरावेदन गर्ने हदम्याद प्रारम्भ हुन्छ । फैसला हुँदा सम्बन्धित पक्षले अ.बं. ६५(३) बमोजिम नियुक्त गरेको वारेस पनि रोहवरमा रहन नपाउने भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । सोहीबमोजिम मुद्दाको काम कारवाही एवम फैसलाको अभिन्न अंगको रूपमा रहेको फैसला सुनी पाएको कागज गर्ने अधिकार पनि त्यस्तो वारेसमा स्वाभाविकरूपमा नै निहित रहेको हुने । अ.बं. ६५(३) को व्यवस्थाबमोजिम फैसलाको परिणामअनुसारको दायित्व सम्बन्धित पक्षमा रहने भए पनि सो व्यवस्थाबमोजिम नियुक्त भएको वारेसले फैसला सुनी पाएको कागज गर्न पाउने भएपछि सो फैसलाउपर पुनरावेदन गर्ने हदम्याद पनि स्वाभाविकरूपमा सोही कागज गरेको मितिबाट नै प्रारम्भ हुन आउने । (प्रकरण नं. ६) मूलतः फैसला सुनी पाएको कागज भनेको मुद्दामा के फैसला भएको भन्ने जनाउसहितको फैसलाको परिणामको बारेमा सम्बन्धित पक्षलाई दिइने सूचना भएको र त्यस्तो कागज फैसला भएको तत्कालै पछि फैसला भएकै दिन गराइने भएकाले त्यस्तो कागज पनि फैसलाकै अभिन्न अंग मानिन्छ । फैसला हुँदा पक्ष रोहवरमा नरहेको अवस्थामा निजका नाउँमा घर ठेगानामा पुनरावेदनको म्याद तामेल हुन्छ । तर पक्षले अख्तियार गरेको वारेस फैसला हुँदासम्म रोहवरमा बसेका छ भने निजले पक्षको तर्फबाट फैसला सुनी पाएको कागज गर्न पाउने नै हुन्छ र त्यसरी वारेसले गरेको कागज पक्षको लागिसमेत बन्धनकारी हुने । (प्रकरण नं. ७) फैसला सुनी पाएको कागजसमेत मुद्दाको कारवाहीको अभिन्न अंग भएकाले सो प्रक्रियामा वारेससमेत संलग्न हुन पाउने भई वारेसले गरेको उक्त कार्य पक्षले नै गरेको मानिने देखिन आउने । (प्रकरण नं. ८) वारेसले वारेसनामाबमोजिमको कर्तव्य पूरा गरी मुद्दामा भएको निर्णय सुनी पाई सोबमोजिमको कागज गरेको कार्य अ.बं. ६५(३) बमोजिम नै गरेको मान्नुपर्ने स्पष्ट अवस्था देखिएकोले वारेसले गरेको कागजलाई मान्यता दिन नपर्ने वा नसकिने स्पष्ट कुनै आधार र औचित्य नदेखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9772 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2072/12/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी | माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| मुद्दा नं. | ०७०-DF-०००५ | ०६८-FN-००४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9772 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
