नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9752 · वि.सं. २०७४
नि.नं. 9752 — कम मूल्यमा कवल भाडामा दिई दिलाई बढी मूल्यमा भाडामा लगाई भ्रष्टाचार गरेको ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
आधुनिक कम्पनी कानूनहरूले कम्पनीको कारोबारमा सेयरधनीको सीमित दायित्व रहने कुरालाई स्वीकार गरेका छन् । सीमित दायित्वको अर्को अर्थ कम्पनीको व्यापारिक कारोबारमा सेयरधनी प्रत्यक्षतः संलग्न हुँदैन भन्ने नै हो । कारोबारमा कम्पनी नै सोझै संलग्न हुने हुँदा हिसाब किताबमा पनि यसले नै राख्ने हो । त्यसैले कुनै सेयरधनीले बीचमा फौबन्जारी वा नाफाखोरी गर्ने वा कम्पनीको कारोबारमा प्रत्यक्ष वा परोक्षरूपमा हस्तक्षेप गर्ने कुरालाई कम्पनी कानूनले स्वीकार नगर्ने । (प्रकरण नं. ५) सेयरधनीहरूलाई आफ्नो लगानीको उच्च प्रतिफल खोज्ने हक अवश्य रहन्छ । तसर्थ देवदूत (Angel) जस्तो सर्वहितकारी कार्य गर्ने बाध्यता उनीहरूलाई छैन । तर बहुमतको नाममा अल्पमतउपर जालसाजी (Fraud on the minority) गर्ने वा उनीहरूलाई थिचोमिचो (oppress) गर्ने, उनीहरूको सेयरको मूल्य घट्ने वा नकारात्मक मत हाल्न सक्ने शक्ति क्षेय हुने स्थिति पार्ने वा कम्पनीको उचित उद्देश्य (proper corporate purpose) विपरीत कार्य गर्ने परिस्थिति पार्ने अधिकार सेयरधनीहरूमा रहँदैन । सेयरधनीहरूलाई यसो गर्न दिनु कम्पनी कानूनको आधारभूत नियमको बर्खिलाप हुन जाने । (प्रकरण नं. १०) कम्पनीभित्र कुशासनले घर जमाएको स्थितिमा अदालत मुकदर्शक भएर कदापि रहन नमिल्ने । (प्रकरण नं. ११) सर्वप्रथम त कम्पनीभित्र सुशासन कायम गर्ने जिम्मेवारी कम्पनीभित्रको आन्तरिक संरचना अर्थात् सञ्चालकहरू र साधारणसभाको हो । यदि यी दुवैवटा संरचनाहरूले सही ढंगले काम गरेका छैनन् भने कम्पनी रजिस्ट्रारको कार्यलयले पनि कैफियत तलब गरी हस्तक्षेप गर्न सक्छ । यदि उसले पनि गरेको छैन वा उसको बाध्यकारी शक्तिलाई पनि उपेक्षा गरिएको छ भने अल्पमत सेयरधनीहरूले अदालतमा मुद्दा लिएर पनि जान सक्छन् । यी व्यवस्थाहरू कम्पनी ऐनभित्र नै छन् र यिनमा कुनै द्विविधा छैन । तर स्वार्थवश यदि यीमध्ये कुनै वा सबै माध्यमहरू प्रयोग भएको छैनन् र कम्पनीभित्र भ्रष्टाचार भएको छ र कम्पनी सार्वजनिक संस्था हो भने मुलुकको भ्रष्टाचारसम्बन्धी कानून आकर्षित नहुने भन्ने कुरै नहुने । (प्रकरण नं. १२) न्यासधारी कर्तव्यअन्तर्गत उनीहरूले कम्पनीको एजेन्टको हैसियतले असल नियतले कम्पनीका हितमा कार्य गर्नुपर्ने, स्वार्थ बाझिएमा त्यसको जानकारी गराई त्यस्तो स्वार्थ बाझिने कार्यबाट अलग रहनु पर्ने, कम्पनीसँग आर्थिक कारोबार वा अर्थपूर्ण कारोबारमा प्रत्यक्ष वा परोक्ष कुनै पनि रूपमा संलग्न रहन नहुने, आफूलाई प्राप्त अख्तियारी नाघेर कार्य गर्न नहुने, आफ्नो कारण कम्पनीलाई कुनै हानि नोक्सानी हुन आएमा त्यस्तो हानि नोक्सानी सो तिर्ने बुझाउने र त्यसरी हुन पुगेको हानिबाट कम्पनीलाई मुक्त (Indemnify) गर्ने कर्तव्यहरू पर्छन् । यस्ता कर्तव्यहरूबाट विमुख हुने कुनै कार्य सञ्चालकले गर्नु हुँदैन । सो कुरा सञ्चालकले मात्र नभई उसको नजिकको नातेदार वा गहिरो आर्थिक कारोबार भएको व्यक्तिले पनि गर्नु हुँदैन । यी कुराहरूलाई हाम्रो कानूनमा स्वीकार गरिएको छ । यसो गर्नुको पछाडि सेयरधनीहरूले कम्पनीमा सेयरमार्फत लगानी गरेपनि आफ्नो सम्पत्तिको व्यवस्थापनमा संलग्न रहँदैनन् । यो व्यवस्थापनको कार्यमा सञ्चालकहरू संलग्न रहने हुँदा उनीहरूले परम विश्वासको कर्तव्य (Duty of Trust) निर्वाह गर्नुपर्छ; उनीहरू आफ्नो गुण भर्ने (Feathering own’s nest ) जस्ता कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न रहन हुँदैन भन्ने नै हुने । (प्रकरण नं. १३) सञ्चालकहरू कम्पनीको न्यासी (Trustee) एजेन्ट, संरक्षक, प्रवर्द्धक र निर्देशक / सञ्चालक एकैसाथ हुने हुँदा उनीहरूले पूर्ण होसियारीका साथ काम गर्नुपर्छ । यो कर्तव्य सञ्चालकहरूमा सामूहिक र व्यक्तिगत दुवैरूपमा रहन्छ । मेरो मात्र निर्णयबाट अमुक कार्य भएको होइन भनी कुनै सञ्चालकले न्यासधारी कर्तव्यबाट उन्मुक्ति नपाउने । (प्रकरण नं. १४) कम्पनीको प्रबन्धपत्र सेयरधनीहरूबीचको मूल करार हो । प्रबन्धपत्रले सबै सेयर बराबर मूल्य रू.१००।- का भनी तोकेको छ; सेयरधनीहरू बीच वर्गीकरण गरेको छैन र सेयरबापत प्राप्त हुने लाभांश वा अन्य कुनै मुनाफामा भिन्नता गरेको छैन भने प्रबन्धपत्रको शब्द र भावनाविपरीत हुने गरी साधारण सभाले विनियमावलीमार्फत अन्य कुनै व्यवस्था गर्न सक्दैन र सो व्यवस्थाले मान्यता प्राप्त गर्न पनि नसक्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9752 |
|---|---|
| मुद्दाको विषय | कम मूल्यमा कवल भाडामा दिई दिलाई बढी मूल्यमा भाडामा लगाई भ्रष्टाचार गरेको । |
| निर्णय वर्ष / मिति | 2073/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई |
| मुद्दा नं. | ०६७-CR-०२२२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9752 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
