नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9708 · वि.सं. २०७३

नि.नं. 9708 — सम्पत्ति शुद्धीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २८ को कानूनी व्यवस्थाअनुसार आफूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोत उक्त सम्पत्ति बाहकले देखाउन सक्नु पर्दछ । केवल प्रतिवादीहरूको साथबाट बरामद भएको रकम मेरो हो भनी तेस्रो व्यक्तिले भन्दैमा सम्पत्तिको कानूनी स्रोत खुलेको अर्थात्‌ वैध सम्पत्ति हो भनी प्रमाणित भएको मान्न सकिने अवस्था हुँदैन । त्यस्तो सम्पत्ति वैध हुनका लागि आर्जन वा प्राप्त गरेको कानूनी स्रोत स्पष्टरूपमा खुलाउन सक्नुपर्ने । (प्रकरण नं. ८) सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा भएको कानूनी व्यवस्थाअनुसार बरामद भएको अवैध रूपैयाँ सम्पत्ति शुद्धीकरण गर्ने उदेश्य नराखी आफूले व्यापार व्यवसाय वा अन्य कुनै व्यक्ति वा स्रोतबाट प्राप्त गरेको हुँ भन्ने पक्षले वस्तुनिष्ठ प्रमाणबाट सो कुरा प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ९) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्य अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्ने रहेको भन्ने यसको प्रस्तावनामा उल्लेख छ । अपहरण, भ्रष्टाचार, आतंकवाद तथा राजश्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति भूमिगतरूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चली रहने हुँदा पुनः त्यस्तो गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस्, आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्था (Preventive Measures) को प्रयोजनार्थ सम्पत्ति शुद्धीकरण ऐन आएको हो । सम्पत्ति शुद्धीकरण आफैँमा सम्बद्ध कसुर (Predicate Offence) होइन अपितु मूल कसुरको सह-उत्पादन (By-Product) को रूपमा सह अपराध (Secondary Offence) हो । मूल कसुरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन शुद्धीकरण गरिएको कसुर यस ऐनअन्तर्गत पर्दछ । यो एउटा बहुआयामिक वित्तीय अपराध (Multi-Dimensional Financial Crime) पनि हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्‌यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । त्यसैले उक्त ऐनको दफा २८ ले कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वाभाविक देखिएमा र उसले आर्जन गरेको स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको हो । अस्वाभाविक सम्पत्ति देखियो भने त्यसको स्रोत जायज थियो भनी प्रमाणित गर्नुपर्ने प्रमाणको भार प्रतिवादीमा राखिएको छ । प्रतिवादीले स्रोत देखाउन सकेन भने उसले सम्पत्ति शुद्धीकरणको अपराध गरेको हो भनी मान्नु पर्ने हुन्छ । त्यस्तो आयस्रोत लुकेको सम्पत्ति बरामद हुनु नै कसुरको लागि पर्याप्त हुने । (प्रकरण नं. ११) कुनै विशेष ऐन लागू भएपश्चात्‌ सो ऐन आउनुपूर्व नेपाल राजपत्रमा प्रकाशित सूचनाले सो विशेष ऐनको व्यवस्थालाई सीमित गर्न नसक्ने हुँदा विशेष ऐन लागू भएपश्चात्‌ आएको ऐनमा सोही ऐनबमोजिम गर्नुपर्ने हुन्छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ अनुसार नेपाल सरकारले मिति २०५७/३/१२ मा नेपाली र भारतीय नागरिकले आफ्ना देशमा प्रचलनमा रहेको करेन्सी एक देशबाट अर्को देशमा ल्याउन र लैजान पाउने गरी जारी भएको सूचनाले वैध आर्जनबाट प्राप्त भएको रकमलाई छुट दिएको हो । सोही सूचनाबमोजिम रकम ल्याउँदा वा लैजाँदा रकम बाहकले आफूसँग भएको रकमको स्रोत खुलाउन नपर्ने गरी छुट दिएको भन्ने नदेखिएको र असीमित मात्रामा रकम ल्याउन लैजान पाउने उल्लेख भएपनि यसरी रकम लिई हिँड्दा सो रकमको स्रोत खुलाउनेलगायतका अन्य व्यवस्था प्रचलित कानूनी व्यवस्थाबमोजिम हुने । (प्रकरण नं. १२) शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ बमोजिम आफूसँग भएको रकमको स्रोत खुलाउने दायित्व रकम बाहककै हुने भन्ने व्यवस्था भएकोमा निजले आफूबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेको देखिँदैन । आफूबाट बरामद भएको रकम भारतीय नागरिक विकास कुमार साहको हो भनी उल्लेख गरेको देखिएपनि निज विकास कुमार साहलाई आफ्नो साक्षीको रूपमा अदालतमा उपस्थित गराई सो रकमको वैधता पुष्टि गराई आफ्नो जिकिरलाई प्रमाणित गराउन सकेको देखिएन । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ को कानूनी व्यवस्थाअनुसार आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेको र सो रकम अर्कैको हो भन्ने जिकिरसम्म लिएकोमा सो भनाइलाई समेत पुष्टि गर्न नसकेको हुँदा आफ्नो साथबाट बरामद भएको रकम अर्कै व्यक्तिको हो भनी जिकिर लिएकै आधारमा निजले सफाइ पाउने भन्ने नहुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9708
मुद्दाको विषयसम्पत्ति शुद्धीकरण
निर्णय वर्ष / मिति2073/04/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०७२-CF-०००२ | ०६८-CR-०९३१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9708
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्