नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9646 · वि.सं. २०७३

नि.नं. 9646 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जमानीको सिद्धान्तअनुसार मुख्य कारणीले तिर्नुपर्ने ऋण निजबाट असुलउपर नभएमा वा बहन गर्नुपर्ने दायित्व निजले पूरा गर्न नसकेमा जमानतकर्ताले कबुल गरेको रकम निजले लेखिदिएको सुरक्षणबाट असुलउपर गरी दायित्व बहन गराइन्छ । यसरी जमानतकर्ताको दायित्व असीमित हुने नभई जमानी बसेको अंकसम्म सीमित हुने हुन्छ । जमानीको दायित्व निजले कबुल गरेको रकमको हदसम्म मात्र सीमित हुने हुँदा जमानीकर्ताले आफूले कबुल गरेको रकम तिरे बुझाएमा सोबापत निजले सुरक्षणको रूपमा दिएको धितो फरफारक हुन सक्दैन भन्न मिल्दैन । जमानतसम्बन्धी करारअनुसार जमानीकर्ताको दायित्व पालना गराउने सन्दर्भमा जमानतको दायित्व पूरा गर्ने जानकारीको सूचनासहितको उचित मौका जमानकर्तालाई प्रदान गर्नुपर्ने हुन आउने । (प्रकरण नं. ७) बैंकले कानूनको अख्तियारी प्रयोग गरी लिलाम गर्दछ भने त्यो न्यायोचितरूपमा भएको देखिनुपर्छ । आफूले लिएको धितो अवमूल्यन गर्ने अनि आफैँ सकार गर्ने बैंक सञ्चालक समितिको कार्य स्वच्छ बैंकिङ अभ्यासभित्र पर्छ भन्न मिलेन । बैंकले धितो लिलाम सकार गरेपछि पनि आफूले सकारेको मूल्य तिरी जमानतकर्ताले तत्कालै आफ्नो सम्पत्ति फिर्ता लैजान चाहेमा सम्बन्धित धितोवालालाई सो अवसर दिनु न्यायोचित हुन्छ । धितो अवमूल्यन गर्ने अनि आफैँले छिटोछिटो सकार गर्ने प्रवृतिले ऋण असुल गर्नेभन्दा पनि धितोमा रहेको सम्पत्तिमा हस्तक्षेप गर्न खोजेको देखिन जान्छ । जसबाट बैंकले ऋणीप्रति गरेको व्यवहार न्यायोचित र स्वच्छ नभई शोषणजन्य हुन जाने हुन्छ । तसर्थ इजाजत प्राप्त संस्थाले प्रवाह गर्ने ऋण, लगानीकर्ता (investors), निक्षेपकर्ता (Depositors) समेतको रकममध्येबाटै हुने भएकाले त्यस्तो ऋणलाई डुब्न पनि दिनु हुँदैन र अनावश्यकरूपमा ऋणीलाई शोषणसमेत गर्न नहुने । (प्रकरण नं. १२) बैंकले घाटाको व्यापार गर्नुपर्छ भन्ने होइन । तर बैंक र यसका ग्राहक ऋणीबीचको सम्बन्ध आ-आफ्नो हितको प्रतिस्पर्धा गर्ने नभई दुवैको हित र एकआपसको पारस्परिक र परिपूरक सहयोग गर्ने प्रकृतिको हुनुपर्छ । यस्तो सिद्धान्तबाट बैकिङ कारोबारहरू निर्देशित हुनु जरूरी हुन्छ । अन्यथा बैंकलाई लाभैलाभ हुने र ऋण लिन पर्ने बध्यताको फाइदा उठाई ऋणीलाई आर्थिक र कानूनी हिसाबले बोझपूर्ण सर्तहरू समावेश गरी लगानीकर्ताको अधिनस्थ पर्ने, पार्ने नियत राखेमा बैंक र यसका ग्राहकबीच सन्तुलित सम्बन्ध विकसित हुन सक्दैन् । जसले अर्थतन्त्रमा सकारात्मक योगदान दिनुको सट्टा नकारात्मक प्रभाव पार्न सक्छ । बैंकले ऋणी वा जमानत दिनेको सम्पत्ति लिलाम गराउनेतर्फ भन्दा ऋणको उद्देश्य कार्यान्वयन गरी लाभदायक स्थिति खडा गर्न सहयोग गर्नुपर्दछ । ऋणीको सम्पत्ति नै लिलाम गर्नुपर्ने अवस्था आइपर्छ भने या त ऋण लगानीको निर्णय नै गलत थियो वा ऋणीले ऋण दुरूपयोग गरेको हुनुपर्दछ । प्रस्तुत विवादमा बैंकको ऋण दुरूपयोग भएको छ भन्ने मिसिलबाट देखिन आएको देखिँदैन । बैंकको उद्देश्य यस्तो विषम स्थिति खडा गर्ने हुन सक्दैन । उत्पादनशील उद्यम गर्न सहयोग गर्ने उद्देश्य भएको हुनुपर्दछ । बैंकको सम्पर्कमा आउने ऋणी समाप्त हुने र ऋणीको सम्पत्तिबाट बैंकले अनुचित लाभ हासिल गर्ने दृष्टिकोण ग्राह्य वा न्यायसङ्गत हुन नसक्ने । (प्रकरण नं. १५) जमानत गरिदिने व्यक्तिले आफूले मन्जुर गरेको जमानतको रकम दाखिला गरेको खण्डमा निजले सुरक्षणको रूपमा दिएको सम्पत्ति पूर्ववत् जमानत सुरक्षणको रूपमा रोक्का राखिरहनु औचित्यपूर्ण नहुने । (प्रकरण नं. १६) जमानतको कागज गर्दा ऋण साधन नभएसम्म जमानीले दायित्व व्यहोर्नु पर्ने गरी अथवा जमानी दिनेको सम्पत्ति फुकुवा नहुने प्रकृतिको विवरण समावेश गरिएको छ भन्ने पनि तर्क गर्न सकिएला तर जमानीलाई ऋणीकै स्थानमा राख्ने गरी लिखत गर्ने गराउने अनावश्यक सर्त घुसाउनेजस्ता कार्य तथा व्यवहारहरू स्वच्छ र उचित मान्न सकिँदैन । यथार्थमा बैंकहरूले असल लगानीकर्ताको व्यवहार देखाउनुपर्छ । जमानीको सान्दर्भिक र वाञ्छित हदभन्दा बढी विस्तार गरी कागज गर्ने गराउने प्रवृत्ति सिद्धान्ततः उचित हुँदैन । त्यसैले त्यस्ता प्रयासहरू ठीक देखिँदैन । तसर्थ बैंकहरूले लिखत गराउँदाको ढाँचामा र शैलीमा परिवर्तन गर्नसमेत जरूरी देखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9646
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/09/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६७-NF-०००१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9646
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्