नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9640 · वि.सं. २०७३
नि.नं. 9640 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
हाम्रो कानून प्रणालीमा कसुर गरेको कुरा वादीले शंकारहित तरिकाले पुष्टि हुने प्रमाण अदालतसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ र ती प्रमाणहरूको अदालतले वस्तुनिष्ट मूल्याङ्कन वा न्यायिक परीक्षण गरी न्याय निरूपण गर्दछ । कसैको भनाइलाई परीक्षण नै नगरी भनेको आधारमा मात्र कसुरदार कायम गर्दा निर्दोष व्यक्ति पनि कसुरदार ठहरिन सक्छ । केही गरी निरपराध व्यक्ति अदालतबाट कसुरदार ठहर हुन गए निजलाई हुन सक्ने अपूरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्तोमा निज तथा सिंगो समाजको अदालतप्रति र अन्तमा राज्यप्रति नै ठूलो कुण्ठासमेत उत्पन्न हुन जान्छ । त्यसैले कसुर गरेको भन्नेमा थोरैमात्र पनि शंका देखिएमा कसैलाई पनि कसुरदार ठहराउन नमिल्ने । (प्रकरण नं.६) प्रतिवादीहरूमा मार्ने मनसाय थियो थिएन ? यदि थियो भने के कुन हदसम्म थियो ? भनी हेर्नु सान्दर्भिक हुन आउँछ । कुनै पनि कसुरका सम्बन्धमा मनसाय तत्त्वलाई छुट्टै मापन गर्ने कुनै यान्त्रिक विधि छैन । यसलाई आपराधिक कार्य गर्दा गरेका गतिविधि, तत्कालीन परिस्थिति, घटनाको पृष्ठभूमि, कसुरदारको संलग्नता, पीडितलाई पुग्न गएको चोट आदि जस्ता विषय सापेक्ष रही हेर्नुपर्ने । (प्रकरण नं.१२) मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने उल्लेख छ । यसबाट भवितव्य हुनलाई ज्यान मार्ने कुनै मनसाय रहेको हुनु हुँदैन र आफूले गरेको कामबाट मानिस मर्ला भन्ने परिणामको ज्ञान पनि यसमा हुँदैन । यस्तो अप्रत्यासित अवस्थामा केही गर्दा घटना घटेको वा मानिस मरेको भएमा मात्र भवितव्य भएको मानिन्छ । यसलाई आकस्मिक घटना वा दुर्घटनाका रूपमा लिइन्छ । त्यसैले भवितव्य हो भन्नलाई वारदात घटाउने मनसाय नभएको, गर्न खोजेको कार्य र त्यसमा प्रयोग भएका साधन वैध रहेको, यस्तो गर्दा वारदातको यस्तो परिणाम आउला भनी नदेखिएको, कार्य गर्न प्रसस्त सावधानी अपनाएको जस्ता कुरा पुष्टि हुन सक्नुपर्ने । कर्तव्य ज्यान हुन मार्ने मनसाय धेरै अघिदेखि रहेको देखिनु पर्ने भन्ने आवश्यक हुँदैन, घटनाको तत्काल अघि पनि कुनै कारणले इवी तथा मनसाय सृजना भएको हुन सक्छ । त्यस्तै यसमा भएको मासु किनी दिनु भन्नु, नकिनी दिँदा झगडा गर्नु, झगडाकै क्रममा कुटपिट गर्नु र घचेट्नु, घचेटेपछि पनि कुटपिट गर्नु र यसरी गरेका कुटपिटका कारण मृत्यु भई मृत्युका कारकहरूको शृङ्खलाबद्धता रहेको छ । यदि ज्यान मार्ने मनसाय नभएको भए यो शृङ्खलाबद्धताको कतै न कतै क्रमभङ्गता देखिनु पर्ने थियो । यस वारदातमा भएका यस्ता गतिविधि तथा कामलाई कुनै वैध तथा उचित काम र सावधानीपूर्वक गरेको कामका रूपमा पनि लिन सकिँदैन । यस्ता खाले कार्यमा मृत्युको परिणामको पूर्व जानकारी (Forsightness of Consequence) हुने अवस्थाहरू नरहेको मान्न पनि नसकिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9640 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६९-CR-०६५३ | ०६९-CR-०६७१ | ०७०-CR-०२३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9640 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
