नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9621 · वि.सं. २०७३
नि.नं. 9621 — जिउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीको अश्लील गतिशील दृश्य र चित्र खिचिएकी एउटी मात्र पीडित नभई नाबालकसमेतका ३।४ जना पीडित रहेका छन् । बरामद चिप्समा प्रमोद श्रेष्ठको समेत तस्वीर रहेको भनी प्रतिवादीले अदालतको बयानमा सनाखत गरेको देखिन्छ । ती नग्न तस्वीर र गतिशील दृश्यहरू पीडितहरूको कब्जामा नभई प्रतिवादीको कब्जामा रहेको यसलाई प्रतिवादीले जहिले पनि सार्वजनिक गर्न सक्ने अवस्था हुन्छ । उक्त दृश्य र तस्वीरहरूको माध्यमबाट प्रतिवादीले पीडितहरूउपर नियन्त्रण राख्ने र निजहरूलाई आफ्नो इच्छानुसार काम गर्न जहिले पनि बाध्य गर्न सक्ने देखिन्छ भने पीडितहरू पनि आफ्नो बेइज्जत हुने डरले प्रतिवादीको दासत्वदेखि यौनशोषणसमेतका अनुचित कुराहरू स्वीकार गर्न बाध्य हुने देखिन्छ । त्यो चिप्स फ्लपी आदि हराएको कुरा सिर्फ सजायसँग सम्बन्धित कुरा हुन आउने । (प्रकरण नं.२१) पीडितको जाहेरी दर्खास्त र प्रमाणित बयान तथा प्रतिवादीको मौकाको र अदालतको बयान र बरामद तस्वीरहरूको अध्ययनबाट प्रतिवादीले अश्लील तस्वीर खिच्ने कार्यलाई पेसा नै बनाएको देखिन्छ । नाबालकसमेतको नग्न तस्वीर खिच्नु र संग्रह गर्नुपर्ने प्रयोजन पीडितहरूलाई अनुचित प्रभावमा पार्नु, यौन पेसामा संलग्न गराउनु र अश्लील चलचित्र बनाउनुसमेतका कार्य गर्नुबाहेक अरू हुने कुराको अनुमान गर्न सकिँदैन । पीडितसमेतको लागि प्रतिवादी बाहिरी व्यक्ति हुन् । पीडितसमेतको गोप्य अंगहरू प्रतिवादीले हेर्न मिल्दैन । प्रतिवादीले सो हेरेका र त्यसलाई सुरक्षित तवरले चिप्समा राख्ने कामबाट त्यो कुरा गोप्य रहेन । पीडितसमेतको नांगा तस्वीरहरू कस्तो हुन्छ भनी हेर्नको लागि खिचेको र संग्रह गरेको भन्ने हक प्रतिवादीलाई छैन । आज एउटी पछि दुइटी गर्दागर्दै सयौंको फोटो कस्तो हुन्छ भनी खिच्ने काम अनैतिक र अश्लील हुन्छ । यो पेसा नै हुन जाने । (प्रकरण नं.२२) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषको प्रथम संस्करणमा वेश्यावृत्तिको अर्थ पैसाका लागि परपुरूषसँग यौन सम्पर्क राख्ने पेसा, परपुरूषसँग सहवास गरेर पैसा कमाउने वृत्ति भनी उल्लेख भएको पाइन्छ । यो भनेको गैरकानूनी र अश्लील यौनकार्यसमेत गर्ने र सोबापत पैसा लिने पेसा हो । सामाजिक सदाचार र नैतिकता विरूद्धको यो कार्यमा मानिस किनबेचको वस्तु हुन पुगेकोले नै जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले यसलाई कसुर भनी परिभाषित गर्नु परेको हो । सोही नेपाली बृहत् शब्दकोषमा मास्-नु शब्दको एउटा अर्थ ‘खर्च गर्नु, समाप्त पार्नु, सिध्याउनु’ र अर्को अर्थ ‘दास बनाउनु, कमारो तुल्याउनु’ समेत रहेको छ । वेश्यावृत्ति मानव शोषण अर्थात् जिउ मास्ने कार्य मानिने । (प्रकरण नं.२३) पीडित भनेको जाहेरवालीसमेतका केटीहरू देखिन्छन । ती तस्वीरमा पीडितहरूको कुनै नियन्त्रण छैन । ती तस्वीरहरू खिच्ने क्रममा जाहेरवालीसँग प्रतिवादीले पटकपटक यौन सम्पर्कसमेत गरेका छन् । प्रतिवादी निर्देशित टेली सिरियलमा जाहेरवालीसमेतले कलाकार भई खेलेको र सोबापत पैसा लिएको देखिन्छ । ती कार्यहरू थप चलचित्र बनाउने सन्दर्भमा भएको कुरा पीडितको कागजबाट खुल्छ । वेश्या पेसारत महिलालाई पैसा दिएर धमाधम सम्भोग गरेको भन्ने कार्यमा मात्र वेश्यावृत्तिलाई सीमित गर्दा आधुनिक प्रविधिबाट हुने यस्ता अश्लील कार्यको रोकथाम हुन नसक्ला । जसरी एउटा वेश्या विभिन्न हाउभाउ र आफ्नो यौनांग देखाएर ग्राहक आकर्षित गर्न बाध्य हुन पुग्छे ठीक त्यही कुरा यी तस्वीर र गतिशील चित्रहरूलाई इन्टरनेटमा राखेर अदृश्य र दृश्य दर्शकलाई आकर्षित गर्ने काम हुन्छ । जसरी प्रत्यक्ष सम्भोग गर्ने वेश्याले आएको पैसाको केही अंश आफूले पाउँछे र बाँकी कोठीवालीले र दलाल आदिले पाउँछन् त्यसैगरी यी चलचित्र राख्नेसमेतलाई पैसा प्राप्त हुने र त्यसबाट निज पोर्नस्टारसमेतले पैसा पाउने देखिन्छ । वेश्यावृत्ति नेपालमा अवैध मानिएकोले अरू मुलुकमा झैं यस्तो तस्वीर राख्ने कार्यले उन्मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं.२४) पीडितसमेतको तस्वीर संग्रहित चिप्स हराउँदा प्रतिवादी चिन्तित रहेका सो चिन्तालाई निजले व्यक्त गरेका र खिचेका तस्वीरहरू नष्ट गर्न पनि लोभ लागेको थियो भनी प्रतिवादीको मौकाको बयानमा उल्लेख भएको व्यहोरासमेतबाट यौनक्रीडारत अवस्थामा तथा स्त्री अङ्गहरू प्रदर्शन गर्ने गरी फोटो खिच्नु पर्ने र त्यसलाई चिनी क्यामराको चिप्समा संग्रह गरी राख्नुपर्नेसम्मको कारण निजले खुलाउन सकेको पाइँदैन । यी दृश्यहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिँदा आफूसँग यौन सम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको, अनुचित प्रभावमा पारी पीडितसँग शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रर्दशन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने हुन्छ भनी अभियोगपत्रमा उल्लेख भएको व्यहोरा बडो तार्किक छ । नाबालकसमेतको नग्न तस्वीर खिचेकोलाई समेत तल्ला अदालतले कानून छैन भनेर गरेको फैसलाले पीडितको पीडालाई अनुभूत गरेको देखिएन । कानून र न्यायलाई असहाय बनाएको देखियो । कानून र न्याय कहिल्यै असहाय हुँदैनन् । त्यसलाई जीवन्त बनाउने न्यायाधीश असहाय भएमा मात्र कानून र न्याय असहाय हुन पुग्न देखिन आउने । (प्रकरण नं.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9621 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2072/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल |
| मुद्दा नं. | ०६७-CR-०७२३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9621 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
