नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9608 · वि.सं. २०७३
नि.नं. 9608 — बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपाल राष्ट्र बैंकबाट उल्लिखित संस्था गाभिने सम्बन्धमा सैद्धान्तिक एवं अन्तिम स्वीकृति दिइसकेपछि वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१) र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीत हुने गरी कर्जा प्रवाह भएको सम्बन्धमा अनुसन्धान गरी अभियोजन प्रस्तुत गरेको पाइयो । उपर्युक्तानुसारको कारबाहीको प्रारम्भ हेर्दा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को विपरीत कार्य भएकाले कारबाहीको प्रारम्भ भएको देखिँदैन भने अभियोग लगाएको कानूनी व्यवस्था फरक रहेको पाइने । अभियोजक पक्षबाट अभियोजन लगाइएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को कानूनी व्यवस्था र प्रस्तुत मुद्दाको तथ्यगत अवस्थामा तारतम्यता रहेको देखिँदैन । बैंकिङ कसुर जस्तो गम्भीर प्रकृतिको कसुर स्थापित हुन सोबमोजिमको कार्यकारण घटित भएको कुरा वस्तुनिष्ठरूपमा वादी पक्षले प्रमाणित गर्नुपर्ने हुन्छ । तर नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६४ को बर्खिलाप गरे भएको कार्यहरू बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुरूपको कार्य मान्न सकिने अवस्था भएन । जुन कानून उल्लङ्घन गरेको हो, सोबमोजिम सजायको मागदाबी प्रस्तुत गर्नुपर्नेमा असम्बद्ध कानूनको समुच्चा दफाहरू विपरीतको कसुर भनी अस्पष्ट र असान्दर्भिक दाबी लिएको पाइयो । दाबी लिएका कानूनी दफाहरू के कसरी उल्लङ्घन गरिए भन्ने तथ्य पनि स्पष्टरूपमा प्रमाणित गर्न सकेको छैन । साथै प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार पनि कसुर प्रमाणित गर्ने भार वादीको हुने हुँदा प्रस्तुत मुद्दामा अभियोग लगाइएको कसुर वादीबाट वस्तुपरक एवं विश्वासिलो ढङ्गले प्रमाणित गर्न सकेको नदेखिने । (प्रकरण नं.४) नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीतको कसुरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आकर्षित हुने अवस्थासमेत देखिँदैन । बैंकिङ संस्थालाई अनुशासित र मर्यादित बनाउन जारी हुने निर्देशनले कानूनको रूप ग्रहण गर्न सक्ने पनि देखिँदैन । यसरी जारी भएको निर्देशनको अवज्ञा गर्ने व्यक्ति वा संस्थालाई गरिने कारबाहीको प्रकृति र स्वरूप पनि फरक हुने हुन्छ । निर्देशिकाले आफैँमा कानूनको रूप धारण गर्न नसक्ने हुँदा सो निर्देशनविपरीतको कार्य कानूनी कसुरजन्य कार्य पनि हुन नसक्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9608 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2072/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७२-RB-०१४० | ०७०-RE-०१५० | ०७०-RE-०१०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9608 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
