नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9605 · वि.सं. २०७३
नि.नं. 9605 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
ताम्रपत्रबाट पुजारी भएका हलेसी महादेव मन्दिरका मनोहर गिरीको सन्तान यी निवेदकहरू भएको कुरामा विवाद छैन । यस्तो पुजारीको शिष्य प्रशिष्यबाट पूजाआजा गराउनु पर्ने गरी यो गुठीको व्यवस्था भई यसको लागि जग्गा आदि समेत प्रदान भएको राज्य प्रमुखको काम कारवाहीलाई गुठी संस्थानले सम्मान र आदर गर्नुपर्ने । मनोहर गिरीका शिष्य प्रशिष्य यी निवेदक सन्तान बाहेक अरू देखिन आएका छैनन् । मनोहर गिरीका हकवाला निवेदकसमेतका सन्तानले कुनै बेहिसाब गरेमा सफाइको मौका दिई पालोवालालाई निकाल्न नसकिने होइन । त्यसपछि निजहरूका हकवाला भएमा हकवालाले र नभएमा मात्र गुठी संस्थानले पुजारीसमेतको बन्दोबस्त गर्दा ताम्रपत्र र खड्गनिसानाको पनि सम्मान हुन्छ । सो नभई अचानक नयाँनयाँ पुजारी नियुक्त हुँदा भक्तजनले पनि कतैनकतै केही असजिलो महसुस गर्ने परिणाम आउन सक्छ । पूजाआजाको आफ्नै गोपनीयता र विधिविधान हुन्छ जुन गोप्यरूपमा गायत्री मन्त्र जस्तै अरूले थाहा नपाउने गरी शिष्य प्रशिष्य वा पुस्ता दरपुस्ता हस्तान्तरण हुन्छ । यो खास कला र सीप पनि हो । यसकारण जबसम्म मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तानबाट मन्दिरको पूजाआजा विधिविधानबमोजिम हुन्छ त्यसमा बिना मतलब खलल पार्नु उचित हुँदैन । यसप्रकारको खललबाट धर्मकार्यको संरक्षण भएको मान्न नमिल्ने । व्यवहारबाट पनि विपक्षीहरूले मनोहर गिरीका सन्तानको विकल्पमा अरू राम्रो र उपयुक्त पुजारी पाउन सकेको देखिँदैन । अतः निवेदकहरूलाई पुजारी भनी ५ वर्षको लागि विपक्षी संस्थानले नियुक्ति दिएको मिले पनि निज पुजारीहरूलाई अवरोध हुने गरी गुठी संस्थानले समिति आदि गठन गरी कुनै काम कुरा गर्नु फलदायी हुने नदेखिने । ताम्रपत्र आदिको सम्मान गरेर सम्पत्ति आदिको हिसाबकिताब र व्यवस्थापन भने गुठी संस्थानले अवश्य गर्न सक्छ । तर सनातनबाट चली आएको परम्पराअनुसार हलेसी महादेवको नित्य पूजाआजा सञ्चालन गर्न महन्त मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तानमध्ये यी रिट निवेदकहरूलाई परम्परागत पूजाआजा गर्नबाट हलेसी महादेव व्यवस्थापन समितिले रोक्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9605 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2072/11/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा |
| मुद्दा नं. | ०७०-WO-०२३९ | ०६४-CR-०८४४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9605 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
