नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9591 · वि.सं. २०७३
नि.नं. 9591 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
करार भनेको सम्बन्धित पक्षले आफूहरूबीच लागू हुने गरी स्वतन्त्र सहमतिमा गरेको कानूनबमोजिमको सम्झौता हो । त्यसैले करारका सर्तहरू सम्बन्धित पक्षका लागि बन्धनकारी हुन्छन् र तिनीहरूको पालना गर्नु करारका पक्षहरूको कानूनी दायित्व बन्दछ । करार कानून सम्बन्धित करारका पक्षहरूलाई लागू हुने दायित्वसम्बन्धी कानून हो । करारबमोजिम पूरा गर्नुपर्ने दायित्व कुनै एक पक्षले पूरा नगरेको अवस्थामा अर्को पक्षले पूरा गर्नुपर्ने दायित्वबाट छुट्कारा पाउन सक्दछ । आफैँ दायित्व पूरा गर्न नसक्ने पक्षले अर्को पक्षलाई दायित्व पूरा गर्न बाध्य गर्न नसक्ने । (प्रकरण नं.४) सारभूतरूपमा कार्य सम्पन्न भएको मान्नका लागि जुन काम वा उद्देश्यका लागि करार भएको हो सो काम वा उद्देश्य पूरा हुने किसिमबाट कार्य भएको हुनुपर्दछ । यस्तो उद्देश्य प्राप्त नभएको अवस्थामा सारभूतरूपमा काम सम्पन्न भएको मान्न नसकिने । (प्रकरण नं.७) करारमा नै कार्य सम्पन्नता प्रमाणित गर्ने अधिकार भएको निश्चित अधिकारी र प्रक्रियासमेत तोकेको अवस्थामा त्यसबाहेकको प्रक्रिया अवलम्बन गरी पेस भएको निर्णय (Minutes) लाई कार्य सम्पन्नताको आधार बनाउन करारको भावना प्रतिकूल हुने । (प्रकरण नं.८) करारमा नै कार्य सम्पन्नताको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी कसैलाई तोकेको अवस्थामा त्यस्तो आधिकारिक व्यक्तिले कार्य सम्पन्नताको प्रमाणपत्र जारी नगरी अन्य कुनै व्यक्तिले कुनै बैठकमा भाग लिई निर्णयमा दस्तखत गरेको भन्ने मात्र आधारमा त्यसैलाई कार्य सम्पन्नताको आधार बनाउनु करारको भावना र मान्यताको प्रतिकूल हुने । (प्रकरण नं.९) तेस्रो पक्षबाट काम लगाउने वा नलगाउने भन्ने कुरा ठेक्कादाताको स्वविवेकमा भर पर्ने निजको अधिकारको कुरा हो । ठेक्कादाता नेपाल ओरिण्ड म्याग्नेसाइट कम्पनीले सो अधिकार प्रयोग नगरेको कारण करारबमोजिमको कार्य सम्पन्न भइसकेको अर्थ गर्न नमिल्ने हुन्छ । यसबाट करारबमोजिमको कार्यसम्पन्न भइसकेको भनी यस अदालत पूर्ण इजलासबाट पुनरावलोकनको निस्सा प्रदान गर्दा लिएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) कुनै पनि सम्झौताको व्याख्या सम्पूर्ण सम्झौताका आधारमा गर्नुपर्ने हुन्छ । कुनै एउटा दफा वा कुनै एउटा अंशलाई मात्र आधार मानेर व्याख्या गर्दा छुट्टै परिणाम निस्कन सक्ने । (प्रकरण नं.१२) जमानी सम्झौताअनुसारको दायित्व कुन समयमा र कहिले प्रारम्भ हुने भन्ने कुरा मुख्य करारका सर्तहरू र जमानीसम्बन्धी करारका सर्तहरूमा भर पर्ने कुरा हो । जमानीकर्ताको दायित्व जहिले पनि दोस्रो (Secondary) हुन्छ । मूल ऋणी वा दायित्व पूरा गर्ने मूल पक्ष (Principal Debtor) ले आफ्नो दायित्व पूरा नगरेको अवस्थामा मात्र जमानीकर्ताको दायित्व सुरू हुन्छ । मूल पक्षको दायित्व नै सुरू नभएको अवस्थामा जमानीकर्ताको दायित्व सुरू हुनै सक्दैन । बहुमत मध्यस्थको निर्णयमा Guarantee Agreement को दफा १ लाई अन्य दफाको सापेक्षतामा नहेरी त्यसलाई निरपेक्ष (Absolute) प्रावधानका रूपमा व्याख्या गरेको अवस्था छ । सम्झौताका कुनै पनि प्रावधानलाई अन्य प्रावधानको परिपालनामा आश्रित नरहेको भनी एकाङ्गीरूपमा व्याख्या गर्दा Guarantee Agreement को समग्रतालाई बेवास्ता हुन जाने । (प्रकरण नं.१३) सम्झौता सर्तरहित हो वा सर्तयुक्त हो भन्ने कुरा जमानत सम्झौताको समग्र व्यवस्थाहरूको आधारमा निर्णय गरिन्छ । जमानतसम्बन्धी करार भनेकै कुनै व्यक्तिले आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेमा त्यस्तो दायित्व तेस्रो पक्षले पूरा गर्ने गरी भएको करार हो । यस आधारमा हेर्दा पनि कुनै दुई पक्षबीच भएको करारले सिर्जना गरेको दायित्व कुनै व्यक्तिले पूरा नगरेको अवस्थामा त्यस्तो दायित्व म पूरा गर्नेछु भनी पहिलो करारका कुनै पक्ष र अर्कै तेस्रो पक्षका बीचमा भएको करार नै जमानतसम्बन्धी करार हुने हुँदा जमानतसम्बन्धी करारलाई सबै अवस्थामा सर्तरहित मान्न सकिँदैन र प्रस्तुत विवादसँग सम्बन्धित जमानत सम्झौतालाई सर्तरहित भनी मान्न सकिने अवस्था नहुने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9591 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2072/12/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७०-NF-००२३ | ०६८-RV-००२२ | ०७०-NF-००२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9591 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
