नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9545 · वि.सं. २०७३
नि.नं. 9545 — गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
जसका नाममा बिल बिजक देखिन्छ त्यो वस्तु उसैको हुनेमा त्यसको अनदेखा गरी सोको विपरीत प्रतिवादीको भाइको व्यापारिक कारोबारको घडी छापा मार्दा भरतप्रसाद घिमिरेको घरमा फेला परेको उल्लेख गरी सोको स्रोतसमेत निजले नै पुष्टि गर्नुपर्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं.१२) विवादित रकम जसका नाममा रोक्का रहेको छ उसैको हुन्छ । जहाँसम्म बैंकमा रोक्का रहेको रकम प्रतिवादीले गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेका हुन् भनी आरोपित गरिसकेपछि बैंकको खातावालालाई पनि प्रतिवादी बनाई मुद्दा चलाउन सक्नुपर्ने हुन्छ । खातावाला व्यक्तिलाई अभियुक्त बनाई मुद्दा दायर पनि नगर्ने र अर्काको खातामा रहेको रकमसमेत यिनै प्रतिवादीको हो भनी सो रकमको समेत स्रोत पुष्टि गर्नुपर्दछ भनी उक्त रकममा समेत यिनै प्रतिवादी भरतप्रसाद घिमिरेको कायम गरी गैरकानूनी आर्जन भनी सजाय ठहर गर्नु न्यायोचित नहुने । अभियोग लगाउने पक्षले आफूले लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नुपर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त हो । भ्रष्टाचारलगायत कतिपय फौजदारी मुद्दामा प्रमाणको भार प्रतिवादीले नै पुर्याउनु पर्ने गरी व्यवस्था गरिएको भएपनि अभियोग लगाउने पक्षले अभियोग लगाइसकेपछि आफ्नो दायित्वबाट पुरै पन्छिन मिल्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१५) प्रतिवादीका नाममा रहेको सम्पत्ति निजको कारोबार र सो कारोबारबाट बढे बढाएको छ छैन भन्ने कुराको मापन निजको कारोबारबाट हेर्न सकिने विषय हुन्छ । रू. ३ लाख १० हजारमा आफ्नो पैतृक सम्पत्ति बिक्री गरेको कार्यलाई प्रतिवादीले पेस गरेको गा.वि.स. कार्यालयको कागजलाई अन्यथा नभएपछि सोपश्चात् खरिद भएको जग्गाको सम्पत्तिमा स्रोत नखुलेको भन्न नमिल्ने । तत्कालीन निजामती सेवा ऐनले निजामती कर्मचारीलाई ऋण लिनेदिने कार्य गर्न रोक लगाएको देखिँदैन । मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. समेतले त्यसलाई कानूनी बैद्यता दिएको देखिन्छ । ऋण लिनेदिने कानूनी व्यवस्थाको बैद्यतामा वादी पक्षले प्रश्न उठाएको देखिँदैन । कानूनद्वारा रोक नलगाएको कारोबारबाट प्रतिवादीले आर्जन गरेको सम्पत्तिमा गैरकानूनी आर्जन हो भनी अर्थ गर्न नमिल्ने । उद्योगको आय गणना गर्ने कार्यमा प्रतिवादीले दिएको कारोबारको सूचीलाई आयोगले अन्यथा गर्न मिल्दैन । बढी कारोबार र आय बढी देखिएमा त्यसमा कर प्रणालीले प्रतिवादीलाई करको दायित्वतर्फ कानूनबमोजिम असुल गर्न सक्छ र आयोगले त्यसतर्फ सम्बन्धित कर कार्यालयलाई सचेत गर्न र बुझ्न सक्छ त्यस्तो भएको नदेखिँदा प्रतिवादीले पेस गरेको आयलाई अन्यथा भन्न नमिल्ने । छोरीको ट्युसन फी ससुराबाट प्राप्त रकम र दिदीबाट प्राप्त गरेको अंकलाई हेर्दा प्रतिवादीको कारोबार सगोलको अवस्था र निजको हैसियतलाई नसुहाउने प्रकृतिको देखिँदैन । प्रतिवादीले पेस गरेको आयको स्रोतलाई अवैध हो भन्ने कायम गर्दा त्यसलाई पुष्टि गर्ने प्रमाण आधार पनि हुनुपर्ने । प्रतिवादीको भागमा पर्ने कुल सम्पत्ति निजको पैतृकसम्बन्धी त्यसबाट बढे बढाएको सम्पत्ति कृषि आय तथा सगोलका परिवारले गरेको कारोबार र त्यसबाट आर्जन गरेको सम्पत्तिमा प्रतिवादीको के कति हिस्सा पर्न आउने हो सोतर्फ पनि यथेष्ट प्रमाणबाट प्रतिवादीको दान दातव्य उपहार बिलासितापूर्ण जीवन यापन गरेको भन्ने देखिनुपर्ने । आय र व्ययको स्रोत मापन गर्ने मात्रको कार्य त कर प्रणालीले नै सुनिश्चित गरेको हुन्छ । करको दायित्वमा कानून प्रतिकूल भए तत् निकायबाट हेरिने विषयलाई भ्रष्टाचारको अभियोगमा सजाय गर्नु उपयुक्त हुँदैन । प्रतिवादीले गरेको कारोबार निजले कारोबार गरेबापत राज्यलाई बुझाएको कर र निजको आयस्रोत अस्वाभाविक देखिएको हुनुपर्दछ । कर तिर्दैमा भ्रष्टाचारबाट उन्मुक्ति हुन नसक्ने । (प्रकरण नं.१७) पैतृक सम्पत्तिको आधार विना पनि कसैले आफ्नै उद्यमताले आय आर्जन उपायहरू अवलम्बन गरेको हुन्छन् भने उद्यमता र कारोबारविहीन सम्पत्ति देखिन्छ भने त्यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० द्वारा अनुमानित गरी कसुरदार ठहर गर्नुपर्ने नै हुन्छ । कुनै निजामती कर्मचारीले उद्योग र आय आर्जन गर्ने कारोबार नै गर्न पाउँदैन भन्न मिल्दैन । जग्गाको किनबेच समयको अन्तरालमा त्यसको मूल्यमा वृद्धि र कारोबार गर्दा मालपोत कार्यालयमा देखाउने मूल्य र वास्तविकरूपमा भएको कारोबारमा धेरै नै अन्तर भने रहेको हुन्छ भनी अनुमान गर्न नसकिने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9545 |
|---|---|
| मुद्दाको विषय | गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2072/03/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६७-CR-०३५३ | ०६७-CR-१०६२ | ०६७-CR-१०६३ | ०६३-RI-०६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
