नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9528 · वि.सं. २०७३
नि.नं. 9528 — भन्सार मूल्याङ्कन धरौट फिर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
पैठारी गरिएको कुनै माल वा वस्तुको धनीबाट पेस भएको कारोबार मूल्य “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” सँग मेल नखाने भएमा भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई मान्यता नदिई पैठारी गरिएको माल वा वस्तुको अभिलेख मूल्य, मूल्यसूची वा सोही प्रकारको माल वा वस्तुको मूल्यको आधारमा त्यस्तो माल वा वस्तुको मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्नुपर्ने व्यवस्था भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा (४) ले गरेको देखिने । (प्रकरण नं.३) पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य समरूप वा उस्तै प्रकारको वस्तुको मूल्यभन्दा कम देखिएकोले आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ३ बमोजिम त्यसरी मूल्य कम हुनुको यथेष्ट कारण पेस गर्न भनी पैठारीकर्तालाई लेखिएको, सोधिएको वा मौका दिइएको भन्नेसमेत उक्त कारबाहीसम्बन्धी निर्णय फाइलबाट देखिएको छैन । पैठारीकर्ताले गरेको मूल्यसम्बन्धी घोषणालाई अस्वीकार गरी बढी मूल्य कायम गर्दा भन्सार अधिकृतले विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तलाई अवलम्बन गरेको भन्ने पनि उक्त निर्णयमा उल्लेख भएको पाइँदैन । पैठारीकर्ताले घोषणा गरेको मूल्यलाई अस्वीकार गरी सोभन्दा बढी मूल्य कायम गर्दा उपर्युक्त आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ५ बमोजिम पैठारीकर्ता कम्पनीलाई दिनुपर्ने कारणसहितको लिखित सूचनासमेत दिएको देखिँदैन । यसर्थ वीरगञ्ज भन्सार कार्यालयबाट भएको उपर्युक्त मिति २०६१।१२।२ को मूल्य निर्धारणसम्बन्धी निर्णयमा कानूनले निर्धारण गरेबमोजिमको माथि वर्णित कुनै पनि कार्यविधि वा प्रक्रिया पुरा गरिएको भन्ने देखिन नआउने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9528 |
|---|---|
| मुद्दाको विषय | भन्सार मूल्याङ्कन धरौट फिर्ता |
| निर्णय वर्ष / मिति | 2071/11/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६७-CR-०७९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9528 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
