नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9527 · वि.सं. २०७३
नि.नं. 9527 — सम्झौताबमोजिमको रकम दिलाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
करारको अवधि हेर्दा करारको दफा ७ ले नै करारको पक्ष, प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीको बिचको करारीय दायित्व प्रत्यर्थी वादीले करारबमोजिमको रकम भुक्तानी नपाएसम्म कायम गरेको देखिएको छ । सोही दफा ७ मा त्यस्तो भुक्तानी करारको दफा ३ मा उल्लिखित रकम भुक्तानी नपाएसम्म करार सम्झौताको म्याद कायम रहने उल्लेख गरेको पाइन्छ । करारको दफा १, २, ३ ले रकम भुक्तानी गर्ने सम्बन्धमा क्रमबद्ध सिलसिला तोकेको छ जसमा प्रथमतः प्रतिवादीले करारमा उल्लिखित सम्पूर्ण रकम रू. १६,६२,०००।– तिर्नुपर्ने सोमध्ये कागज भएको मितिले दश दिनभित्र १० लाख र १० लाख तिरेको मितिले ९० दिनभित्र बाँकी ६,६२,०००।– तिर्नुपर्ने भन्ने उल्लेख गर्दै दफा ७ ले रकम बुझाउने सम्झौताको म्याद दफा ३ बमोजिम वादीले भुक्तानी प्राप्त गरेका मितिले समाप्त हुने भन्ने उल्लेख गरेको अवस्थामा करारमा रकम किस्तामा बुझाउने उल्लेख भएकोमा १० लाख बुझाउने म्याद र दफा ३ बमोजिम ६,६२,०००।– बुझाउने म्याद अलगअलग कायम गर्न मिल्ने अवस्था देखिन नआउने । (प्रकरण नं.३) करारबाट सिर्जित भुक्तानी सम्बन्धमा हालसम्म अदालतबाट मानी आएको प्रचलनलाई हेर्दासमेत करारको रूपैयाँ भुक्तानी गर्दा किस्ताको उल्लेख गरेकोमा प्रत्येक किस्तामा हदम्याद कायम गर्ने प्रचलन रहेको छैन । करारबमोजिमको दायित्व व्यहोर्ने व्यक्तिले अन्तिमरूपमा पालना गर्नुपर्ने दायित्व पालन नगरेको वा बुझाउनु पर्ने रकम नबुझाएको अन्तिम मितिबाट नै हदम्याद कायम गर्ने गरेको प्रचलन रहेको । करारमा प्रस्टरूपमा करारको म्याद करारको दफा ३ बमोजिम रकम भुक्तानी नभएसम्म कायम रहने उल्लेख छ । जबसम्म करारको दफा २ बमोजिम १० लाख भुक्तानी हुँदैन । यसरी करारले प्रस्टरूपमा बोलेको हदम्यादको विषयतर्फ सुरू जिल्ला अदालतले फैसला गर्दा ध्यान नदिई सम्झौताको दफा ७ लाई नजरअन्दाज गरी केवल वादी, प्रतिवादीको बिचमा मिति २०५५।०९।१३ मा करार भएकोमा सो मितिले दश दिनभित्र १० लाख बुझाउने भनेकोमा सो मिति २०५५।१२।२३ सम्म प्रतिवादीले बुझाउने म्याद रहेकोमा नबुझाएकोमा वादीले उक्त रकमको मागदाबी गरी करार ऐनको दफा १८(२) अनुसार मिति २०५५।१२।२३ भित्र फिराद नपरेकोले उक्त १० लाखतर्फको वादी दाबी हदम्याद नाघी परेकोले खारेज हुने गरी इन्साफ गरेको मिलेको नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9527 |
|---|---|
| मुद्दाको विषय | सम्झौताबमोजिमको रकम दिलाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2071/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोपाल पराजुली |
| मुद्दा नं. | ०६७-CI-०१३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9527 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
