नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9525 · वि.सं. २०७३
नि.नं. 9525 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रमाण ऐन, २०३१ को दफा १०(१) को कानूनी व्यवस्थाअनुसार कुनै काम घटना वा अवस्थाका सम्बन्धमा सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने वा सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । त्यसका अतिरिक्त सोही ऐनको दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रस्तुत घटनाबाट पीडित जाहेरवालीहरूले मौकामा दिएको जाहेरी व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरी प्रतिवादीउपरको अभियोग दाबीलाई समर्थन गरेको देखिएकाले पीडित जाहेरवालीहरूले व्यक्त गरेको तथ्यलाई अदालतले ठोस प्रमाणको रूपमा लिनुपर्ने देखिन आएको अवस्थामा यी प्रतिवादीसमेतको मिलोमतोमा पीडित जाहेरवालीहरूलाई बेच्नको उद्देश्यले नै लैजान लागेको देखिएकाले प्रतिवादीको अदालतको इन्कारी बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीउपर रहने गरी विशेष व्यवस्था गरेको पाइन्छ । सो दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । सो ऐनको उक्त विशेष व्यवस्थाअनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेको प्रतिवादीले तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट आफ्नो निर्दोषिता प्रमाणित गराउन सक्नुपर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9525 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2072/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६९-CR-०१७२ | ०६९-CR-०२६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9525 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
