नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9502 · वि.सं. २०७२

नि.नं. 9502 — उत्प्रेषण / प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

पदअनुरूप आचरण नगरेको भन्ने कुरा अमूर्त हुन सक्दैन । पदअनुरूप आचरण नगरेको भन्ने कुरा वस्तुगत आधारबाट प्रमाणित भएको देखिनु पर्दछ । तर निवेदकउपरको आरोपहरूलाई पुष्टि गर्ने आधारप्रमाणहरू के थिए, कसरी ती आरोपहरू पुष्टि हुन सके भन्ने कुरा पदबाट हटाइएको जानकारी गराइएको भन्ने पत्रमा उल्लेख भएको देखिँदैन भने विपक्षीहरूको लिखित जवाफबाट पनि सो कुरा पुष्टि हुन नआउने । (प्रकरण नं.७) कुनै पनि संस्थाको उद्देश्य वा लक्ष्य एक्लो व्यक्तिको सक्रियताबाट मात्र सम्भव छैन । संस्थाको सबै अवयवहरूको सहयोग, समन्वय र सामूहिक प्रयासबाट मात्र संस्थाले आफ्नो लक्ष्य साध्य गर्न सक्छ । उपकुलपति विपक्षी प्रतिष्ठानको प्रमुख पदाधिकारी हो तापनि निजको एक्लो प्रयासबाट मात्र प्रतिष्ठानले लक्ष्य प्राप्त गर्न सक्ने भन्ने मान्न नसकिने । (प्रकरण नं.८) प्रतिष्ठानलाई सुचारू राख्ने प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा चिकित्सक एवम्‌ प्रतिष्ठानको सर्वोच्च निकाय मानिएको सभाको कर्तव्य जिम्मेवारीलाई अनदेखा गरि प्रतिष्ठानको सम्पूर्ण जिम्मेवारी उपकुलपतिको मात्र हो भन्ने अर्थ गरि प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा चिकित्सक र विद्यार्थीहरूले स्वयम्‌ उपकुलपतिको राजीनामा माग गरि वार्ता इन्कार गरि चलाएको अन्दोलनलाई समाधान गर्न नसकेको भन्ने फितलो आधारमा निवेदिका उपकुलपतिको कार्य क्षमताको अभाव वा उपकुलपतिले संस्थाप्रति नकारात्मक भूमिका निभाएको भन्ने विपक्षीहरूको भनाइसित सहमत हुन सकिने आधार नदेखिने । (प्रकरण नं.९) कुनै प्रस्ताव पारित हुनु र नहुनुले पदीय आचरणको मापन हुन सक्दैन । यी निवेदिकाले प्रस्ताव राखेकामा कार्यकारी परिषद्‍बाट ती प्रस्ताव पारित नभएको भन्ने आधारमा निजको पदअनुरूपको आचरण नभएको भनि देखाउन खोज्नुले निजउपर छानबिन समितिको माग राखि कुलपतिसमक्ष निवेदन दिने प्रतिष्ठान सभाका सदस्यहरूमा निवेदक उपकुलपतिप्रतिको पूर्वाग्रह र प्रवृत्त भावना देखिन आउने । कानूनले तोकेको कुनै कार्य निवेदिकाबाट हुन नसकेको हो र कानूनविपरीतको कुन कार्य गरेको हो भन्ने पनि स्पष्ट देखिनु पर्छ । उपकुलपति जस्तो व्यक्ति नियुक्त हुँदाका अवस्थामा योग्य हुने र नियुक्त भएको केही दिनमा नै अयोग्य भएको भन्ने वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन सक्नु पर्ने । कुनै पनि संस्थामा कुनै पदाधिकारी पदमा बहाल हुनासाथ उसको कार्य प्रगति एकाएक देखिने होइन । त्यसको लागि कर्मचारीलगायत संस्थामा आबद्ध सबैंको सहयोग, अनुकूल वातावरण र पर्याप्त कार्य समयको आवश्यक हुने । निवेदक उपकुलपतिको पदमा बहाल भै काम गर्ने पर्याप्त समय नपाउँदै र निजले गरेको कार्य प्रगति देखिन नपाउँदै कर्तव्य पालन नगरेको, पद अनुकूलको आचरण नगरेको साथै इमान्दारीपूर्वक कर्तव्यपालन नगरेको भनि आरोप लगाई छानबिन समितिसमेत गठन गर्न माग गर्ने सभाका सदस्यको कार्य नै शङ्कास्पद र नियोजित देखिने । सभाका सदस्यले छानबिन समितिको माग गरि निवेदन दिएमा कुलपतिले छानबिन समिति गठन गर्नुपर्ने बाध्यात्मक व्यवस्था प्रतिष्ठान ऐनको दफा २६(१) को हो तथापि त्यस्तो समिति गठन गर्नुपर्ने कारण र औचित्यको विचार नै नगरि समिति गठन गर्न कुलपति बाध्य छ भनि अर्थ गरि कानूनको कठोर व्याख्या गर्न मिल्दैन । कुनै पनि कार्य गर्न अख्तियारी राख्ने पदीय जिम्मेवारी पाएको व्यक्तिले त्यसको ‍औचित्य र आवश्यकताको विश्लेषण र मूल्याङ्कन गर्ने अन्तरनिहित अधिकार अख्तियारवालामा रहन्छ । साथै कुलपतिबाट त्यस्तो कार्य कुन कानूनको प्रतिकूल हो भन्ने पनि हेरिएको देखिनु पर्छ । कसैउपर अभियोग लगाउन त्यसलाई पुष्टि गर्ने कार्य पनि कानूनसम्मत नै हुनु पर्छ । तसर्थ यी निवेदकलाई पदबाट हटाउनको लागि छानबिन समिति गठन गर्नुपूर्व पर्याप्त आधार र कारण खोलि छानबिन समितिको गठन गर्नुपर्नेमा सो नगरि त्यस्तो समिति गठन गर्ने प्रतिष्ठानका कुलपतिको कार्यलाई कानूनसङ्गत मान्न नमिल्ने । (प्रकरण नं.१०) निवेदिकाले समितिसमक्ष उपस्थित भै दिएको अभिव्यक्तिले प्रतिष्ठानमा यी निवेदिकालाई काम गर्न कसरी अवरोध सिर्जना गरिएको रहेछ भन्ने देखिन्छ न कि निजको कार्य असक्षमताको स्वीकारोक्ति । यी निवेदिकाले आफूले कार्य गर्न नसक्नुको कारण देखाउनुलाई निजको असक्षमता हो भन्ने पर्याप्त आधार मान्न नसकिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9502
मुद्दाको विषयउत्प्रेषण / प्रतिषेध
निर्णय वर्ष / मिति2071/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६९-WO-०८३७ | ०६९-WO-०७९३ | ०६९-WO-०५८५
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9502
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्