नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9475 · वि.सं. २०७२
नि.नं. 9475 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
धर्मपुत्र तथा धर्मपुत्री राख्ने र धर्मपुत्र धर्मपुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । कुनै व्यक्ति कसैको धर्मपुत्र तथा धर्मपुत्री हुने कुरा संविधानबाट स्थापित गरिएको हकको विषय होइन । धर्मपुत्र तथा धर्मपुत्री राख्ने र बस्ने व्यक्तिको बिचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने । कानूनी सम्बन्धबाट सिर्जना हुने कानूनी अधिकारको उपभोग गर्दा कानूनले तोकेको सर्त र दायित्वको समेत पालना गरेको हुनु पर्दछ, अन्यथा त्यस्तो अधिकार अकाट्य वा नैसर्गिक अधिकारको रूपमा रहन नसक्ने । (प्रकरण नं.६) धर्मपुत्र धर्मपुत्रीको ११ नं. को व्यवस्थाले धर्मपुत्र धर्मपुत्री राख्ने र बस्ने दुवै पक्षले एकअर्काप्रति पुरा गर्नुपर्ने जिम्मेवारी किटान गरेको हुँदा उक्त कानूनी व्यवस्थालाई अनुचित मान्न मिल्दैन । धर्मपुत्र तथा धर्मपुत्रीले आफूलाई धर्मपुत्र धर्मपुत्री राख्नेउपर पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको अवस्थामा सोबाट धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको अधिकारमा पुग्न जाने असर वा क्षतिलाई समेत अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.७) समानताको हक समानहरूको लागि लागू हुने हो । असमानहरूका बिचमा समानताको हक निरपेक्षरूपमा लागू नहुने कुरा सर्वमान्य सिद्धान्त नै हो । संविधानको धारा १३ ले प्रत्याभूत गरेको समानताको हक समान अवस्था र हैसियत भएका नागरिकहरूका बिचमा असमान व्यवहार गरिएको अवस्थामा आकर्षित हुने । धर्मपुत्र धर्मपुत्री राख्ने बाबु आमासँग कानूनद्वारा सम्बन्ध स्थापित भएका धर्मपुत्र धर्मपुत्री र जन्मदिने बाबु आमासँग प्राकृतिक सम्बन्ध भएका सन्तान अर्थात् छोराछोरीहरू समान मान्न सकिँदैन । प्राकृतिक छोरा छोरीको आफ्ना माता पितासँग प्राकृतिक सम्बन्ध हुन्छ भने धर्मपुत्र धर्मपुत्रीको आफूलाई धर्मपुत्र धर्मपुत्री राख्ने व्यक्तिसँग कानूनी सम्बन्ध रहने हुँदा प्राकृतिक र कानूनी सम्बन्धलाई समानस्तरमा राखि हेर्न नमिल्ने । धर्मपुत्र धर्मपुत्री राख्ने र बस्ने बिचमा पारिवारिक सद्भाव, न्याय र नैतिकता कायम गर्न केही निश्चित दायित्व तोकेको धर्मपुत्र धर्मपुत्रीको ११ नं. को कानूनी व्यवस्थाले संविधानको धारा १३ प्रतिकूलरूपमा प्राकृतिक सन्तान र धर्मपुत्र धर्मपुत्रीको बिचमा असमान व्यवहार गरेको भनि मान्न नमिल्ने । (प्रकरण नं.९) धर्मपुत्र धर्मपुत्रीको ११ नं. को कानूनी व्यवस्थाले खास अवस्थामा मात्र धर्मपुत्र वा धर्मपुत्री बदर हुन सक्ने व्यवस्था गरेको छ । धर्मपुत्र धर्मपुत्री राखि सकेपछि प्राकृतिक पुत्रपुत्री भएको अवस्थामा धर्मपुत्र धर्मपुत्री बदर हुने भन्ने व्यवस्था उक्त ११ नं. मा भएको पनि होइन । प्राकृतिक पुत्र पुत्री नभएको अवस्थामा पनि धर्मपुत्र धर्मपुत्री बदर गर्नुपर्ने अवस्था परेमा बदर हुन सक्ने कानूनी व्यवस्था रहेको छ । उक्त ११ नं. मा प्राकृतिक सन्तान र धर्मपुत्र धर्मपुत्रीको बिचमा भेदभाव हुने गरि कुनै फरक फरक कानूनी व्यवस्था गरेको समेत देखिन्न । केवल प्राकृतिक सन्तानलाई त्याग वा बदर गर्न नसकिने तर उक्त ११ नं. ले धर्मपुत्र धर्मपुत्री खास अवस्थामा बदर गर्न सकिने गरि कानूनी व्यवस्था भएकै कारणले प्राकृतिक सन्तान र धर्मपुत्र वा धर्मपुत्रीप्रति असमानजन्य व्यवहार भएको भनि अर्थ ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.१०) धर्मपुत्र वा धर्मपुत्रीको लिखत रजिस्ट्रेसन गर्नुपर्ने व्यवस्थाले स्वयम् धर्मपुत्र वा धर्मपुत्रीको कानूनी हक स्थापित गर्ने हुँदा धर्मपुत्र वा धर्मपुत्री बस्ने व्यक्तिको हितअनुकूल भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाको अभावमा धर्मपुत्र वा धर्मपुत्री बस्ने व्यक्तिको कानूनी हकमा प्रतिकूल असर पर्न जाने हुन्छ । धर्मपुत्र वा धर्मपुत्रीको लिखत रजिस्ट्रेसन गर्ने व्यवस्थालाई कुनै सम्पत्ति वा वस्तु विनिमयको लिखतसँग तुलना गर्नु कानून तथा तर्कसङ्गत मान्न नमिल्ने । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न बनेको कानूनी व्यवस्थाअन्तर्गत प्राकृतिक सन्तानको जन्म दर्ता गर्ने विषय र कुनै दुई पक्षबिचमा सहमति भै कानूनीरूपमा पिता माता र धर्मपुत्र धर्मपुत्रीको सम्बन्ध स्थापित गर्ने लिखत पारित गर्ने विषय नितान्त फरक फरक विषय हुँदा धर्मपुत्र धर्मपुत्रीको लिखत पञ्जिकाधिकारीसमक्ष दर्ता नगरि मालपोत कार्यालयमा रजिस्ट्रेसन गरेको कार्य समानताको हक प्रतिकूल मान्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9475 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/10/22 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६८-WS-००३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9475 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
