नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9308 · वि.सं. २०७१
नि.नं. 9308 — जीउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफैँले लगेकी महिलाको स्थितिका बारेमा प्रतिवादी मौन रहेको र पीडितको अवस्था प्रतिवादीको कारणबाट अज्ञात रहेको अवस्था हुँदा त्यसरी अज्ञात रहेकी महिलाका पति जाहेरवाला स्वयम्ले किटानी जाहेरी दिई अदालतमा गरेको बकपत्रको घटनाक्रमबमोजिम नै प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको अवस्था हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम वारदातका पीडित व्यक्तिले वारदातपश्चात वारदातको विषयमा व्यक्त गरेको कुरा प्रमाणयोग्य हुने हुँदा त्यस्तो प्रमाण ग्राह्य नभएको भन्ने प्रतिवादीहरूको जिकिर कानूनसम्मत् हुन नआउने । (प्रकरण नं. ९) § पीडित मैयाँ गिरीलाई भारतको वेश्यालयमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेको भनी यी प्रतिवादीहरू प्रहरीसमक्ष आरोपित कसुरमा मुख साबित रहेका र अदालतमा बयान गर्दा विवाह गरी काठमाडौं लगेको भनी उल्लेख गरे पनि निज पीडितको हालको अवस्था प्रतिवादीहरूले प्रकाश नगरेबाट ललाई फकाई विवाह गर्ने झुट्ठा आश्वासनमा पारी आफ्नो कब्जामा लिई निज पीडितको घरबाट छुटाई लगेको प्रतिवादीहरूको उक्त कार्य निरपेक्ष दायित्वअन्तर्गतको अपराध भएबाट आफू निर्दोष रहेको भन्ने प्रमाणको भार प्रतिवादीहरूले पुर्याउनुपर्ने । § प्रहरी र अदालतसमक्ष प्रतिवादीहरूले गरेको बयानबाट प्रतिवादीहरूले वादीलाई विवाह गर्ने प्रलोभन देखाई आफ्नो कब्जामा लिएपछि निजको अवस्था हालसम्म अज्ञात रहेको र प्रतिवादीहरूले त्यसरी आफूले कब्जामा लिएकी व्यक्तिलाई प्रकाश नपारेबाट प्रतिवादीहरूकै कार्यबाट निजको अवस्था अज्ञात रहेको र प्रतिवादीहरूले आफ्नो निर्दोषिता स्थापित गर्न नसकेबाट प्रतिवादीहरूले दावीबमोजिम कसुर गरेको देखिन आउने । (प्रकरण नं. ११) § दुईवटा वारदातमा एकसाथ मुद्दा चलेको वा पहिलो वारदातमा थुनामा बसेको अवस्थामा अर्को मुद्दा पनि चली फैसला भई फैसलाबमोजिम लागेको कैद सजाय ठेकिएको अवस्था नभई पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद सजायमा मिति २०५४।८।९ देखि २०६३।९।२३ सम्म कैदमा बसी कैदबाट छुटेपछिमात्र अर्को वारदातमा अनुसन्धान भई मिति २०६४।५।१९ मा अभियोग दायर भएको हुँदा पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद भोग गरी कैदबाट छुटिसकेपछि प्रस्तुत वारदातमा मुद्दा चली पछिल्लो मुद्दामा भएको कैद सजायलाई कैदबाट छुटिसकेको पहिलो मुद्दामा कैदमा बसेको अवधिसमेत गणना गरी सजाय निर्धारण गर्न दण्ड सजायको महलको ४१ नं. विपरीत हुन जाने । § पहिलो मुद्दामा कैद भुक्तान भई कैदबाट छुटेपछि अर्को वारदातमा अभियोग दायर भई भएको फैसलाबमोजिम कैद सजाय भोगिरहेको हुँदा उक्त सजाय निर्धारण गरिएको निर्णयलाई दण्ड सजायको महलको ४१ नं.को प्रतिकूल मान्न मिल्ने नदेखिने । § बेग्लाबेग्लै वारदात भई चलेका बेग्लाबेग्लै मुद्दामा फरकफरक मितिमा फैसला भएका र पहिलो मुद्दामा लागेको कैद भुक्तान भएपछि पछिल्लो मुद्दा दायर भएको त्यस्तो स्थितिमा अघिल्लो मुद्दामा ठहर भएको कैद सजायबमोजिम कैदमा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद असुल गर्ने प्रयोजनले गणना गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) § सजायको न्यूनतम् र अधिकतम् हद ऐनले नै निर्धारण गरी कसुरको अनुपातमा सजाय निर्धारण गर्ने तजबिजी अधिकार अदालतलाई प्रदान गरेको अवस्था हुँदा कसुरको गम्भीरताको आधारमा सजाय निर्धारण गर्नुपर्ने । § दुबै मुद्दा एकैसाथ दायर भएको वा एकैसाथ फैसला भएको अवस्था भए ठूलो कैद सजायमा सानो कैद सजाय खापिएर एकैसाथ कैद भुक्तानी हुने कानूनी व्यवस्था भएकोमा एकसाथ मुद्दा नचलेको र एकसाथ फैसला नभई पहिलो मुद्दामा कैद भुक्तान भएपछि दोस्रो मुद्दा चलेको स्थिति र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले अधिकतम् र न्यूनतम् हदको सजायको व्यवस्था गरेकोमा प्रतिवादीहरूलाई अधिकतम् सजाय नगरी न्यूनतम् सजाय ठहर गर्दा कानून र न्यायको उद्देश्य पनि पूरा हुने र प्रतिवादीहरूलाई पनि प्रतिकूल असर पर्न जाने अवस्थासमेत देखिन नआएबाट पुनरावेदन अदालतको फैसलालाई बेमनासिब भन्न मिलेन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9308 |
|---|---|
| मुद्दाको विषय | जीउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2071/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६७-CR-०७६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9308 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
