नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9257 · वि.सं. २०७१
नि.नं. 9257 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बालबालिकाको पहिचानको विषय आमाबाबुको अधिकारबाट रूपान्तरण हुँदै मानव अधिकारको अन्तरवस्तुको रूपमा विकास भएको देखिन्छ । यसै गरी उनीहरूको अधिकारको विषय आमाबाबुबाट राज्यको दायित्वमा पनि रूपान्तरण हुनपुगेको छ । संवैधानिक विधिशास्त्रअन्तर्गतको अधिकारमुखी अवधारणा (Right based approach) को आधारमा बालबालिकाको अधिकारको संरक्षणको दायित्व परिवार र राज्यलाई सुम्पेपश्चात ती विषयहरू बालअधिकारका विषय बन्न पुगेका छन् । Doctrine of Parens Patriae को अवधारणाअनुसार पनि देशका प्रत्येक बालबालिकाको सर्वोत्तम् हित र संरक्षणको लागि राज्यले अभिभावकत्वको जिम्मेवारी ग्रहण गर्नुपर्ने । (प्रकरण नं. ४) § विभिन्न उमेर समूहको आधारमा फरकफरक सजायको व्यवस्था गरेको देखिँदा त्यस्तो बेला बाल अदालत वा बाल इजलासले उमेरको विवाद टुङ्गो लगाउनुपर्ने अवस्था आउँछ । सो अवस्थामा पहिले अस्पतालबाट जारी भएको जन्म प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति खुलेको कागजातलाई आधार मान्ने हो । अस्पतालबाट जारी भएका कागजात विश्वसनीय हुनुका साथै वैज्ञानिक प्रणालीमा आधारित भई व्यवस्थित हुने हुँदा बालकको यथार्थ उमेर निर्धारण गर्न सहयोग हुन्छ । यस अर्थमा यस व्यवस्थालाई बृहत्तर दृष्टिकोणबाट बालबालिका र देशको हितमा आवश्यक सम्झेर बनाएको कानूनी व्यवस्था भनी मान्न सकिने । (प्रकरण नं. १२) § बालबालिकाको संरक्षण र सामञ्जस्यपूर्ण विकासको लागि यो अपरिहार्य व्यवस्था हो । स्थानीय पञ्जिकाधिकारीले बालबालिकाको जन्मदर्ता गर्ने सन्दर्भमा सूचकले जुन जन्ममिति फाराममा भरेको छ, त्यसलाई आधार मानी दर्ता गरी जन्मदर्ता प्रमाणपत्र दिने हुँदा त्यसमा विश्वसनीयता र वैज्ञानिकता हुँदैन । जुन समयमा बालकको उमेरको सम्बन्धमा विवाद आउँछ त्यतिबेला विवाद हेर्ने बाल अदालत वा बाल इजलासले अस्पतालबाट जारी भएको जन्ममिति उल्लेख भएको प्रमाणपत्रलाई उमेर निर्धारणको लागि आधार लिने हो । अस्पतालबाट जारी भएको जन्ममिति खुलेको प्रमाणपत्र नभएमा दोस्रो प्राथमिकतामा रहेको स्थानीय पञ्जिकाधिकारीबाट जारी भएको प्रमाणपत्रकै आधारमा बालबालिकाको उमेरसँग सम्बन्धित विवादको निरूपण हुने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9257 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/11/22 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६९-WS-००३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9257 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
