नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9218 · वि.सं. २०७१

नि.नं. 9218 — उत्प्रेषण/परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मातृ ऐनको प्रस्तावना तथा उद्देश्यविपरीत नहुने गरी प्रतिष्ठानले आफ्नो सेवा सञ्चालनार्थ आवश्यक पर्ने कार्यविधि, नियम वा नियमावली तर्जुमा गरी नियमन गर्न सक्ने । § चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १२(छ) र १३(१) बमोजिम प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष जनशक्ति स्वतन्त्रढङ्‍गबाट आपूर्ति गर्न सेवा आयोग रहने व्यवस्था गरी कर्मचारीको पदपूर्ति सम्बन्धमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ मा सेवाको गठन, पद, दरबन्दी, योग्यता, पदपूर्तिसम्बन्धी व्यवस्था, समावेशीका आधारमा पदपूर्ति परीक्षा प्रणालीलगायतका विषयमा व्यवस्था गरेको देखिने । § विशेषीकृत चरित्र भएको खास कुनै संस्थाको जनशक्तिको आपूर्ति गर्दा के कस्तो योग्यता निर्धारण गर्ने, छनौट विधि कसरी तय गर्ने, परीक्षा प्रणाली कसरी तय गर्ने भन्ने कुरा सम्बन्धित निकायले निश्चित गर्ने विषय हो । प्रतिष्ठानको आवश्यकता र औचित्यताको आधारमा कर्मचारीको उपयुक्ततासमेतलाई विचार गरी आवश्यक सङ्‍ख्यामा कर्मचारी आपूर्ति गर्न प्रतिष्ठानलाई अधिकार प्रत्यायोजन गरेको र प्रतिष्ठानले आफ्नो संस्थामा रिक्त रहेको दरबन्दीमा आवश्यकता र उपयुक्तताको आधारमा स्वतन्त्रढङ्गबाट पारदर्शीरूपले कर्मचारी नियुक्ति गर्न मातृ ऐनले दिएको अधिकारको सीमामा रही कर्मचारीको नियुक्तिको उपयुक्तता निर्धारण गर्ने अधिकार रहे भएको देखिने । (प्रकरण नं.९) § प्रतिपादित सिद्घान्तहरूसमेतका आधारमा अस्पताल प्रतिष्ठानको रूपमा स्थापित भएपछि अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीलाई प्रतिष्ठानमा नियुक्तिका लागि सिमित आन्तरिक प्रतियोगितामा सामेल हुन एक पटक मौका दिनु स्वयम्‍मा अनुचित वा गैरकानूनी कुरा नहुने । (प्रकरण नं.१५) § स्वायत्त स्वतन्त्र निकायले कर्मचारीको छनौट गर्दा योग्यता, दक्षता, कार्यक्षमता, कार्यकुशलता, अनुभव र निजको सेवाप्रतिको लगावसमेतका आधारमा स्वतन्त्र किसिमबाट योग्यतम्‍् व्यक्तिको छनौट गर्नुपर्दछ । अस्थायी, करार वा ज्यालादारीमा सेवामा प्रवेश गरिसकेको हुँदा सामान्य प्रकियाद्वारा स्थायी हुने वा गरिने किसिमको अर्थमा लिनुहुँदैन । यसो गरिएमा असक्षम व्यक्तिले सेवामा प्रवेश गर्ने मौका पाई सार्वजनिक सेवा प्रवाहमा गतिरोध उत्पन्न हुन सक्ने । (प्रकरण नं.१७) § कुनै सार्वजनिक संस्थाको सेवामा कर्मचारीको नियुक्ति गर्दा अपनाउनुपर्ने सामान्य सिद्घान्तको विषयमा लोक सेवा आयोगसँग त्यस्तो संस्थाले आवश्यक परामर्श लिन सक्ने गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२६(६) मा व्यवस्था भएको हुँदा नियुक्तिका लागि विज्ञापित पदहरूमा अपनाउनुपर्ने मापदण्डका विषयमा कुनै द्विविधा भई लोकसेवा आयोगको परामर्श आवश्यक छ भनी प्रतिष्ठानलाई लागेमा आवश्यकता अनुसार लोकसेवा आयोगको परामर्श लिई मापदण्ड निर्धारण गर्न सक्ने नै हुँदा सो सम्बन्धमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सेवा आयोगलाई ध्यानाकर्षण गराइने । (प्रकरण नं.१९) § गठन भएको समितिले लिएको परीक्षामा उत्तीर्ण गरेको योग्यतम्‍ व्यक्तिलाई सिफारिस गर्नुपर्ने र उक्त सिफारिस गर्ने निर्णय गर्दा लिएका उपयुक्तताको आधारहरू खोल्नुपर्ने हुन्छ । व्यावहारिकरूपमा योग्यता सहित दक्षता र क्षमता छ भन्ने कुरा छनौट समितिले निश्चित गरेका व्यक्तिहरू मात्र नियुक्ति गर्नुपर्ने । (प्रकरण नं.२०) § चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ को नियम ८ मा समावेशिताको व्यवस्था भएकोमा सोही नियमावलीको नियम १४५ को व्यवस्थाले सङ्‍कुचित गरेको भन्ने निवेदन दावीतर्फ विचार गर्दा नियम ८ को व्यवस्था नियम खारेज वा संशोधन नभएको अवस्थासम्म दीर्घकालीनरूपमा क्रियाशील रहने प्रावधान हो भने नियम १४५ को व्यवस्था एक पटक प्रयोग भएपछि स्वतः निस्क्रिय हुने प्रावधान भएबाट नियम १४५ को व्यवस्थाले नियम ८ को व्यवस्थालाई सङ्‍कुचित गरेको भनी अर्थ र व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.२५) § बदर माग गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगबाट मिति २०६८।८।९ मा प्रकाशित विज्ञापन हेर्दा श्रेणी विहीन कार्यालय सहयोगीदेखि आठौं तह मेडिकल अधिकृतसम्म गरी विभिन्न ३१ किसिमका प्राविधिक र प्रशासनिक पदहरूमा दरखास्त माग भएको देखिन्छ । उक्त विज्ञापन र सूचना बदर गरिपाउँ भनी चारजना विद्वान् अधिवक्ताहरू र दुईजना सर्वसाधारण नेपाली नागरिकको हैसियतबाट निवेदन गरेको देखिए पनि माग भएको पदहरूमध्ये कुन पदको लागि आफ्नो निर्धारित योग्यता पुगी प्रतिस्पर्धा गर्न सम्भावित उम्मेद्‍वार हुन पाउने हो भन्ने कुरा कहिँकतै उल्लेख गरिएको छैन । आफ्नो शैक्षिक योग्यता कति हो र शैक्षिक योग्यता अनुसार कुन पदमा आफू उम्मेद्‍वार हुन पाउने हो भन्ने सम्बन्धमा कुनै कुरा उल्लेख नभएबाट प्रतिष्ठानबाट माग भएको कुनै पनि पदको लागि यी निवेदकहरू प्रतियोगी देखिएका छैनन् । जो प्रतियोगी र प्रतिस्पर्धी हुन सक्दथे ती नेपाली नागरिकहरूले चुनौती दिएको अवस्था छैन । यसरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगबाट मिति २०६८।८।९ मा प्रकाशित विज्ञापन र मिति २०६८।१२।२१ मा प्रकाशित सूचनाबाट यी निवेदकहरूको हकमा कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था नभएको र विज्ञापित पदहरूमा निवेदकहरूको सार्थकसम्बन्ध रहेको नदेखिएबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत दावी गर्न हकदैया रहे भएको देखिन नआउने । (प्रकरण नं.२७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9218
मुद्दाको विषयउत्प्रेषण/परमादेश
निर्णय वर्ष / मिति2070/12/06
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६८-WS-००६६ | ०६८-FN-०४३८
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9218
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्