नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9216 · वि.सं. २०७१
नि.नं. 9216 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदकले आफ्नी श्रीमतीको हत्या योगेशचन्द्र महतोको नेतृत्वमा रहेको सुरक्षा फौज अन्तर्गतका ५ जना सादा पोशाकका सुरक्षाकर्मीहरूले गरेको भनी किटान गरी जाहेरी दिन जाँदा सो जाहेरी दर्ता गरी सबुद प्रमाण सङ्कलन गर्ने, घटनास्थल प्रकृति मुचुल्का तयार गर्ने, Post Mortem Report को लागि पठाउने जस्ता कार्यहरू गरी अनुसन्धानसम्बन्धी जे जो गर्नुपर्ने हुन्छ सो गरेर आफ्नो राय सहित जिल्ला सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने र दर्ता गर्न नमिल्ने भए कानूनबमोजिम दरपीठ गर्नुपर्ने कानूनी दायित्व भएको जिल्ला प्रहरी कार्यालयले प्रमाण नभएको, Post Mortem Report नभएको, ढिला गरी आएको भन्ने जस्ता अड्चन थापी जाहेरी नलिनु उक्त संवैधानिक र कानूनी व्यवस्थाको पालना नगरेको भन्ने स्पष्ट हुने । § कुनै पनि व्यक्तिलाई कानूनबमोजिम बाहेक कसैको हत्या गर्न पाउने छुट कानूनले प्रदान गरेको छैन । जो सुकै व्यक्तिले कानूनको उलङ्घन गरी कुनै कसुरजन्य अपराध गरेको छ भने त्यस्तो व्यक्तिले कानूनबमोजिम सजाय पाउनु नै पर्ने । § प्रस्तुत मुद्दामा जो जसउपर किटान गरी यी पुनरावेदकले जाहेरी दरखास्त दिन ल्याएका हुन् निजहरूबाट नै रमा अधिकारीको हत्या भएको हो वा अरू कसैबाट भएको हो वा अरू कुनै कारणबाट मृत्यु हुन गएको हो भन्ने कुरा अनुसन्धान तहकिकात गरेपछि सङ्कलित सबुद प्रमाणबाट पुष्टि हुने विषय भएकाले सुरू मै जाहेरी दरखास्त दर्ता नै नगरी अनुसन्धान बिना प्रमाण नपुगेको भन्ने अनुमानित तर्क गरी जाहेरी दरखास्त दर्ता गर्न इन्कार गर्नु कानूनसङ्गत नहुने । (प्रकरण नं. ६) § आफूसमक्ष कसैले जाहेरी दिन ल्याउँदा जाहेरी दर्ता वा दरपीठ गर्न इन्कार गर्ने अधिकार विपक्षी जिल्ला प्रहरी कार्यालयलाई हुँदैन । त्यसकारण यी पुनरावेदकले रीतपूर्वकको जाहेरी लिई दर्ता गराउन आएमा दर्ता गर्न नमिल्ने भए सोको लिखत जानकारी निजलाई गराई र दर्ता गर्न मिल्ने भए दर्ता गरी अनुसन्धान कार्य पूरा गरी मुद्दा चलाउनुपर्ने हो होइन भन्ने विषयमा निर्णय गरी मुद्दा चलाउनपर्ने देखिएमा कानूनबमोजिम मुद्दा चलाउनु र मुद्दा चलाउन नपर्ने देखिए सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २० बमोजिमको सूचना जाहेरवालालाई दिनु भनी जिल्ला प्रहरी कार्यालय, झापाको नाममा परमादेश जारी हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9216 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2071/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | २०६६-CI-०६७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9216 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
