नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9183 · वि.सं. २०७१
नि.नं. 9183 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आर्थिक कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत् प्रबन्धक (कार्यालय प्रमुख) आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत रहनुपर्ने कुरामा विवाद छैन । बैङ्कको नगद मौज्दात, नोटकोष लगायतका कोषको संरक्षणको मुख्य जिम्मेवारीमा रहेको प्रबन्धकले बिदामा बस्दा वा आफ्नो जिम्मेवारी आफू भन्दा तल्लो कर्मचारीलाई हस्तान्तरण गर्दा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने । § बैङ्कजस्तो आर्थिक कारोबार गर्ने निकायका प्रबन्धक जस्तो जिम्मेवार पदमा कार्यरत् प्रतिवादीले आन्तरिक परिपत्र जारी गरी एक दिनको लागि मात्र बिदा बस्ने उल्लेख गरेको र पूर्वस्वीकृतिसम्म नलिई सात (७) दिनसम्म बिदा लिई उक्त बिदाको स्वीकृति पछिमात्र गराएको देखिन्छ । एक दिनको बिदाको निम्ति परिपत्र जारी गरी सात (७) दिनसम्म बिनाआधार कारण बिदामा बस्नु नै निजमा बद्नियत रहेको देखिने । (प्रकरण नं. ३) § बैङ्कको प्रमुख प्रबन्धक पदमा कार्यरत् व्यक्तिले आन्तरिक परिपत्र जारी गरी सहायक प्रबन्धकलाई एक दिनको लागिमात्र जिम्मेवारी दिएको कुरा उक्त परिपत्रमा उल्लेख गरी लामो बिदा बसेको कुरालाई स्वभाविक मान्न सकिँदैन । बिदा बस्दा बिदा स्वीकृत गर्ने अधिकारीबाट स्वीकृत गराई आफूसँग भएको ढुकुटीको चाबी, नगद मौज्दात तथा नोटकोषको विवरणलगायतका यथार्थ विवरणसहितका जिम्मेवारीहरू निमित्त भै काम गर्ने सहायक प्रबन्धकलाई प्रक्रियागत ढङ्गबाट हस्तान्तरण हुनुपर्नेमा प्रतिवादीले उक्त जिम्मेवारी पूरा गरेको देखिन नआउने । § बैङ्कका प्रबन्धकको मातहतमा रहेका प्रतिवादी सुनिलकुमार राईउपर प्रबन्धकको अनुपस्थितिमा कार्यालयको काम प्रभावित हुन नदिने कर्तव्य र दायित्वसमेत रहेकोले एक दिनको लागिमात्र प्रबन्धक बिदामा बसेको अवस्थामा बैङ्कको प्रतिष्ठामा आँच आउन नदिने तथा सेवाग्राहीलाई मर्का पर्न नदिनको लागि आपसी विश्वास र सद्भावमा काम गर्नैपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । सोहीअनुसार प्रतिवादी सुविलकुमार राईले प्रबन्धकसमेतउपर विश्वास गरी निजको अनुपस्थितिमा निमित्त प्रबन्धक भै कार्य गरेको र सो गर्नैपर्ने बाध्यता सिर्जना भएको अवस्थामा बैङ्ककै कार्य सम्पादनको सिलसिलामा रकम झिकेको कारणबाटै निजलाई दोषी ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9183 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2071/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६८-CR-०३६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9183 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
