नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9146 · वि.सं. २०७१
नि.नं. 9146 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती कर्मचारीका सन्ततिलाई उपलब्ध हुने छात्रवृत्ति नेपाल सरकारले उपलब्ध गराएको आर्थिक अनुदानबाट सञ्चालित भएकोले त्यस्तो छात्रवृत्ति वितरण गर्दा छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ र छात्रवृत्ति नियमावली, २०६० ले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने हुन्छ । त्यस्तो कानूनी व्यवस्थालाई बेवास्ता गर्न वा त्यस्तो व्यवस्थाको प्रतिकूल हुने गरी छात्रवृत्ति वितरणसम्बन्धी निर्देशिका बनाउन वा छात्रवृत्ति वितरण गर्न नमिल्ने । (प्रकरण नं.१६) कार्यकारी अधिकारको प्रयोग गरी कुनै आदेश, परिपत्र वा निर्देशिका जारी गर्दा नेपाल सरकारले प्रचलित संविधान, ऐन वा नियमावलीअनुकूल हुने गरी जारी गर्नुपर्ने र ती कानूनी व्यवस्थाप्रतिकूल जारी गरेका त्यस्तो आदेश, परिपत्र वा निर्देशिका कानूनसम्मत नहुने भई बदरभागी हुने कुरामा विवाद हुँदैन । तर उक्त निर्देशिकामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा २१, निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) र छात्रवृत्तिसम्बन्धी ऐन (संशोधन सहित), २०२१ तथा छात्रवृत्तिसम्बन्धी नियमावली (तेस्रो संशोधन), २०६० समेत अनुकूल रहेको देखिँदैन । उक्त निर्देशिकामा छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३क. र छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० को नियम १०क.ले तोकिएबमोजिम समानुपातिक समावेशी हुने गरी कुनै आरक्षण गरिएको देखिँदैन । तसर्थ उक्त निर्देशिका छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३क र छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० को नियम १०क(१) र (२) को व्यवस्था र कानूनअनुकूल रहेको नदेखिने । (प्रकरण नं.१७) कार्यकारी अधिकारको प्रयोग कानूनप्रतिकूल गरी जारी गरिएको सो निर्देशिका उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब नेपालको अन्तरिम संविधान, २०६३ को धारा २१, निजामती सेवा ऐन, २०४९ को दफा ७(७), छात्रवृत्तिसम्बन्धी ऐन (संशोधन सहित), २०२१ को दफा ३क र छात्रवृत्तिसम्बन्धी नियमावली (संशोधन सहित), २०६० को नियम १०क(१) र (२) को कानूनी व्यवस्थाअनुकूल हुने गरी अर्को निर्देशिका वा नियमावली जे जो बनाउनुपर्ने हो बनाई सो छात्रवृत्तिको वितरणमा समानुपातिक र समावेशी हुने गरी लागू गर्नु भनी परमादेशसमेत जारी हुने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9146 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/12/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०७०-WO-०४९० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9146 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
