नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9120 · वि.सं. २०७१
नि.नं. 9120 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पेशा व्यवसायको स्वतन्त्रतालाई वाञ्छित हदसम्म मान्यता दिन पर्ने भएपनि त्यस्तो उद्योगको उत्पादनशील गतिविधि, बजार व्यवस्थापन, उपभोक्ता हित र सार्वजनिक स्वास्थ्य आदि कुरालाई विचार गरेर त्यस्तो व्यवसायलाई नियन्त्रण गर्न राज्यले कानून निर्माण गरी आवश्यक नियन्त्रण गर्न र विवेकसङ्गत बनाउन सक्ने । § सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा उल्लिखित अधिकांश कानूनी व्यवस्था सार्वजनिक स्वास्थ्यको पक्षमा गरिएको देखिएको र त्यसको कार्यान्वयनबाट उद्योगहरू वा उत्पादकहरूमा केही प्राविधिक, प्रक्रियात्मक र जनस्वास्थ्यका सरोकारजन्य मापदण्डहरूले गर्दा कतिपय प्रतिकूल व्यवहारिक कठिनाई आउने कुराको निवेदकले जिकीर लिएपनि न्यायिक पुनरालोकनमार्फत् असंवैधानिकताको प्रश्न बाहेक अन्य औचित्यको प्रश्नमा प्रवेश गरी हेर्न मिल्नेसमेत नदेखिने । (प्रकरण नं. २०) § देशको कानून देशले मञ्जूर गरेको कुनै अन्तर्राष्ट्रिय महासन्धीको हुबहु देखासिखी गरेको लिखत जस्तो हुनुपर्छ भन्नु पनि अनुचित हुन्छ । WHO Frame Work Convention on Tobacco Control (FCTC) महासन्धीलाई नेपालले पारीत गरिसकेको भन्ने आधारमा संसदले राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा कानून निर्माण गरी जारी गर्ने प्रक्रियालाई नै कार्यान्वयन गर्न नदिई रोक्न मनासिब नहुने । (प्रकरण नं. २२) § उद्योगी, व्यवसायी वा पेशाकर्मी जो सुकैले पनि संविधानको अधीनमा रही जनहित र सार्वजनिक हितको विरूद्ध नहुने गरी हक प्रचलनको मार्ग प्रशस्त गर्न सक्ने हुन्छन् तर संवैधानिक सीमा, मूल्य मान्यता र अपेक्षाहरूलाई संरक्षण गर्न सार्वजनिक हित विरूद्ध तथा सार्वजनिक स्वास्थ्यप्रतिकूलका गतिविधिलाई नियन्त्रण गर्न र सार्वजनिक स्वास्थ्यको विषयमा आवश्यक विधायिकी प्रबन्ध गर्न सक्ने कुरालाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. २४) § राष्ट्रिय उत्पादनमा उत्पादित हुने सूर्तिजन्य पदार्थबाट बनेका वस्तुहरूमा कति प्रतिशत चेतावनीमूलक सन्देश वा चित्र अङ्कित हुने भन्ने कुरा फरक फरक कुरा भै यी प्रणालीगत विविधता अन्तर्गत रहने कुरा हुन् । प्रणालीगत विविधता प्रत्येक राष्ट्रका आ–आफ्ना कुराहरू हुन् । आन्तरिकरूपमा उत्पादित यस्ता वस्तुहरूको मुख्य भागमा कति प्रतिशत चेतावनीमूलक सन्देश वा चित्र अङ्कित गर्ने वा व्यवस्था गर्ने भन्ने कुरा हाम्रो मौजुद आवश्यकताका आधारमा तय गरिने । (प्रकरण नं. ३३) § समाजको पछौटेपन, स्वास्थ्यप्रतिको सचेतनाको अभाव तथा युवापुस्ताबीच सूर्तिजन्य पदार्थ सेवनको बढ्दो आकाङ्क्षाका कारण यस्ता वस्तुहरूको प्रयोग र उपभोगसमेत दिनानुदिन बढ्दै छ । सूर्तिजन्य पदार्थको उपयोगमा कमी, स्वास्थ्यप्रतिको सचेतना, सूर्तिजन्य पदार्थको सेवनबाट परेको असरका बारेमा स्थानीयस्तरमा सचेतनाका पक्ष कमजोर छन् । यस्तो दिनानुदिन बढ्दो समस्यालाई सम्बोधन गर्नु राज्यको अहम दायित्व हुन आउँछ । यो उदासीनतालाई बोकेर बस्नु राज्यको निरीहता हो भने सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी लागू गरिएको ऐनको कार्यान्वयन रोक्न चुनौती दिनु आफैँमा उदेकलाग्दो र हास्यास्पद तर्क हुने । (प्रकरण नं. ३४) § सूर्तिजन्य पदार्थको लेबुल वा प्याकेटको बाहिरी भागमा ७५% चेतावनीमूलक सन्देश वा चित्र अङ्कित हुनुपर्ने गरी व्यवस्था गर्दा सर्वसाधारण जनताले सूर्तिजन्य पदार्थको सेवनबाट पर्न सक्ने असरको बारेमा थाहा पाउने हुँदा प्रस्तुत रिट निवेदकका उद्योगी व्यवसायीहरूले यसमा विरोध गर्न मिल्दैन । उपभोक्ताको अनभिज्ञतालाई व्यवसायको लाभ र अवसर बनाउन नहुने । (प्रकरण नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9120 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2070/09/14 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| मुद्दा नं. | ०६८-WS-००२२ | ०६८-FN-०१३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9120 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
