नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9116 · वि.सं. २०७१

नि.नं. 9116 — उत्प्रेषण/परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

परीक्षा योग्यता परीक्षणको एक मात्र माध्यम हो । त्यसमा मूल्याङ्कनको आधार केवल योग्यता हुनुपर्दछ । अन्यान्य आधारले योग्यता परीक्षणलाई घुमिल तुल्याउँछन् र यसलाई प्रोत्साहित गरिन्छ भने कानूनको शासनको दृष्टिमा यो भन्दा ठूलो दुर्भाग्य अरू कुनै हुन सक्दैन । परीक्षा सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्छ, अनिमात्र परीक्षाको विश्वसनीयता कायम हुन्छ । परीक्षा भन्ने वित्तिकै स्वच्छ, निष्पक्ष र सहीरूपले परीक्षार्थीको योग्यता र क्षमता परीक्षण गर्नु हो । यी तत्त्वको अभावमा परीक्षा शब्द नै कलुषित बन्न पुग्छ । परीक्षा शब्दले नै निष्पक्षता आस्था, विश्वास र श्रद्धाभावको प्रवाह गरेको हुन्छ । परीक्षामा परीक्षार्थीहरूबाट मर्यादाविपरीतको कार्य हुनुको साथै परीक्षकबाटसमेत उत्तरपुस्तिका परीक्षण एवम् संपरीक्षणको क्रममा अनियमितता भएको देखिएको अवस्थामा सोही परीक्षाफल कायम हुनु न्यायको न्यूनतम् मर्यादा पालना नगर्नु हो । (प्रकरण नं.१२) प्रकटरूपमा देखिएका तथ्यगत कुराहरू औँल्याई उचित निर्णय गरी दुष्परिणाम सच्याउन सार्वजनिक पदाधिकारीलाई लेखी पठाउने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छैन भन्ने हो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख निष्प्रयोजित भई शून्यमा परिणत हुन्छ । कानूनलाई निष्क्रिय तुल्याउने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१५) अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वयम् नै दुष्परिणाम सच्याउन सक्दैन । तर सो कार्यको दुष्परिणाम सच्याउन सम्बन्धित अधिकारी वा निकायलाई लेखी पठाउन सक्दछ । यसरी लेखी पठाउँदा यस्तो निर्णय गरी सो दुष्कृति सच्याउनु भन्न भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सक्दैन । निर्देशित निर्णय हुन सक्दैन । निर्णयकर्ताले तथ्य, प्रमाण र कारणका आधारमा स्वयम् नै न्यायिक मन प्रयोग गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा तथ्य र कारण दर्शाई सो दुष्कृति सच्याउन उपयुक्त निर्णय गर्न भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैङ्‍क लिमिटेडलाई लेखी पठाएको छ । यस स्थितिमा कृषि विकास बैङ्‍क लिमिटेडले गरेको निर्णय निवेदकहरूले जिकीर लिए जस्तो गैरकानूनी छैन । यसरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा गठिन छानबिन समितिले तथ्यको उजागर्‍का साथ दिएको प्रतिवेदनसमेतको आधारमा उपर्युक्त निर्णय गर्न साधिकार निकायमा पठाउने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भएको निर्णयमा सो बदर गर्न आधार लिइएको अधिकारक्षेत्रको त्रुटि रहेको नदेखिँने । (प्रकरण नं.१६) अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी पठाएको विवरणमा असहमति प्रकट गर्न सकिन्न भन्ने होइन । तर तिनलाई निर्णयकर्ताले जानकारीमा लिनै पाइन्न भन्न मिल्दैन । तथ्य तथ्य नै हो, जसले जसरी हेरे पनि एउटै देखिन्छ । कुनै उत्तरमा पूर्णाङ्कभन्दा बढी अङ्क दिएको, एउटा उत्तरलाई दुई पटक अङ्क दिएको, पहिले दिएको अङ्क सच्याएको, पहिले सिसाकलमले अङ्क दिई इरेजरले सो मेटेको धुलो उत्तरपुस्तिकामै रहेको, गलत उत्तरलाई सच्याई सही बनाइदिएको र गलत उत्तरलाई पनि पूर्ण अङ्क दिएको संकेत नम्बर सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तथ्यगत विवरण दिएको छ । यसो होइन भन्न तथ्यगत रूपमै खण्डन गर्न कृषि विकास बैङ्‍कले सकेको स्थिति छैन । रिट जारी गरी त्यस्ता आधारमा रद्द भएको परीक्षा र सोका आधारमा भएको परीक्षाफल कायम गरिदिँदा परीक्षा भन्ने पद्दतिमै ग्रहण लाग्न पुग्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9116
मुद्दाको विषयउत्प्रेषण/परमादेश
निर्णय वर्ष / मिति2070/07/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.०६६-NF-०००७
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9116
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्