नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9033 · वि.सं. २०७०
नि.नं. 9033 — मोही लगत कट्टा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमिसम्बन्धी ऐन कानूनअन्तर्गतको अनुसूची, नापी, फिल्डबुक र राजीनामा समेतमा मोहीकारूपमा अंकित व्यक्तिका नाममा सामान्य फरक पर्दैमा मोही होइनन् भन्न नमिल्ने । § राजीनामासमेतका लिखतमा मोही जनिएपछि मोही रहेको स्वीकार गरियो भन्न मिल्दैन । । हक भन्ने कुरा कानून अनुसार मात्र प्राप्त हुन्छ र हकको विस्थापन पनि कानूनबाट मात्र हुने । (प्रकरण नं.२) § छोरीका हकमा एकासगोलमा रहनु भनेकै अविवाहित रहनु हो । विवाहपछि छोरीको बाबुआमासँगको एकासगोलको भन्ने हैसियत टुट्दछ । एउटै घरमा रहनु नै एकासगोल हुनु होइन । नाता सम्बन्ध पर्ने प्रत्येक व्यक्ति एकासगोलमा रहेको हुन सक्दैन । एकासगोल एउटा कानूनी हैसियत हो । परिवारका प्रत्येक व्यक्ति एकासगोलमा नरहन सक्दछन् । एकासगोल साम्पत्तिक हक र दायित्वसँग सम्बन्धित रहने अवस्था हो । § एकै परिवारमा रहेकै व्यक्तिसमेत अंश लिई वा अंश छोडपत्र गरी वा सम्बन्ध विच्छेद गरी अलग भएपछि निजको एकासगोल भन्ने हैसियत टुट्छ । आमाको हेरचाह मैले नै गर्दथेँ । विवाह घर छोडेर माइतीमै आएर बसेकी थिएँ, मृत आमाको हक खाने मबाहेक कोही छैन भन्ने जिकीरले कसैलाई एकासगोलको मान्न मिल्दैन । एउटै घरमा बस्नु नै एकासगोलमा रहनु होइन । (प्रकरण नं.६) § ऐनको परिभाषा खण्डले कसैलाई अधिकार दिदैंन । ऐनमा दिइने परिभाषा खण्ड सो ऐनका दफाहरूलाई व्याख्या गर्नका लागि सहायकसम्म हुन्छन् । मृत मोहीकी एक मात्र हकदार भएको नाताले निजको हक आफूमा सर्नु पर्ने सारवान दावी गर्न यो परिभाषाको व्यवस्था कसैको पनि हकाधिकारको स्रोत बन्न नसक्ने । (प्रकरण नं.७) § कानून जुन मितिबाट लागू हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोही मितिबाट त्यो ऐनमा भएका प्रावधानहरू लागू भएको मान्नुपर्ने । (प्रकरण नं.८) § कानूनी हकको जन्म निवेदन वा फिराद वा दर्खास्त वा दावी गरेको मितिमा बहाल कानूनका आधारमा हुने होइन । हक भनेको सारवान् कुरा हो । कारण परेको वा घटना घटेको वा कुनै काम भएको दिनमा बहाल कानूनकै आधारमा हकको स्थापना वा विस्थापना हुन्छ । त्यसैको आधारमा अपराध हुने वा नहुने तथा हक प्राप्त हुने वा नहुने यकीन हुने । § जुनबेला कारण परेको हुन्छ त्यसैबेला प्रचलनमा रहेको कानूनले त्यसलाई सम्बोधन गर्ने हो । २०४५ सालमा आमाको देहान्त भएको कारणबाट निजको नामको मोहियानी आफूमा सर्नुपर्ने दावीका हकमा २०४५ सालमै बहाल रहेको कानूनकै सीमामा रहनु पर्ने । (प्रकरण नं.९) § कसैको मृत्यु भएपछि निजको स्वामित्व तथा भोगाधिकारसम्बन्धी साम्पत्तिक हकको पनि निजसँगै मृत्यु हुन्छ । सम्पत्ति कहिल्यै पनि स्वमित्वबिहीन रहँदैन । साम्पत्तिक हक कानूनबमोजिमको हकदारमा स्वामित्ववालाको मृत्यु सँगसँगै सर्दछ । सम्पत्तिमा हक रहेको व्यक्तिको मृत्यु भएको क्षणमा बहाल रहेको कानूनअनुसार हक सर्ने वा नसर्ने वा कसमा सर्ने भन्ने कुरा निरोपित हुन्छ । २०५३ सालमा भएको संशोधनले सिर्जना गरेको हक २०४५ सालमै प्राप्त हुन नसक्ने । (प्रकरण नं.१०) § मोहीको मृत्युपश्चात् मात्र एकासगोलका छोरीमा पनि मृत मोहीको मोहियानी हक सर्नसक्ने कानूनी व्यवस्था भएको रहेको देखिएको अवस्थामा उक्त कानून संशोधनपूर्व नै मृत्यु भैसकेका मोहीको मोहियानी हक नामसारी हुने ठहर हुन नसक्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9033 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कट्टा |
| निर्णय वर्ष / मिति | 2070/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६७-CI-१६२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9033 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
