नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9022 · वि.सं. २०७०

नि.नं. 9022 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रामाणिक शक्ति हुन्छ । तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन् । व्यक्तिले झूठो बोल्न सक्दछ तर वस्तुस्थितियुक्त तथ्यले कहिल्यै झूठो बोल्दैन । (प्रकरण नं.५) § फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल सामग्री लिखत हुन् । यिनको प्रामाणिक मूल्यलाई अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन । तथ्यका प्रत्येक गवाह प्रमाण हुन् । मुद्दाका कुनै पक्षबाट फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल प्रति प्रमाणका रूपमा प्रस्तुत हुन्छन् र अर्को पक्षबाट तिनमा इन्कारी जनाइदैन भने लिखित प्रमाणका रूपमा यी ग्राह्य हुन्छन् । यस्ता प्रमाणका विषयमा विवाद उठेमा तिनको सत्यता परीक्षणको विषय बन्दछ । अन्यथा लिखत प्रमाणका आधुनिक स्वरूपलाई सतर्कता साथ ग्रहण गर्दै जानुपर्ने । (प्रकरण नं.६) § जीवनप्रति जीजिविषा राख्ने युवतीले सहजै आत्महत्या गर्ने निर्णय लिन कुनै अपरिहार्य कारण हुनै पर्छ । आत्महत्या गर्न मानिसले तत्काल पनि निर्णय लिन सक्दछ । आत्महत्या गर्न एक्कासी मन परिवर्तन भई अठोट गरिन पनि सक्दछ । तर यसका पछाडि भरपर्दो कारण भने हुनै पर्ने । (प्रकरण नं.७) § आत्महत्या गर्ने व्यक्तिले आफ्नो निर्णय बिनाव्यवधान कार्यान्वयन होस् र त्यसमा आफूलाई सफलता मिलोस् भन्ने ध्येय राखेको हुन्छ । यसकारण उसले आफ्नो निर्णय कार्यान्वयन गर्न भरपर्दो र सुरक्षित स्थानको चयन गर्ने । (प्रकरण नं.८) § दुई विपरीत खालका अभिव्यक्ति मिसिल सामेल रहेकोमा अदालतले स्वतन्त्र प्रमाणबाट पुष्टि हुने कथनलाई प्रमाणमा लिनुपर्ने हुन्छ । अधिकारप्राप्त अधिकारीसमक्षको साबिती र अदालत समक्षको इन्कारीमध्ये कुनलाई प्रमाणमा ग्रहण गर्ने भन्ने सन्दर्भमा कुन कथन अन्य प्रमाणबाट समर्थित हुन्छ भन्ने कुरा नै अदालतले निष्कर्ष निकाल्ने आधार हो । अधिकारप्राप्त अधिकारीसमक्ष व्यक्त गरेका कुरा प्रमाण शून्य हुने होइनन् । न त प्रतिवादीहरूको अदालतसमक्षको इन्कारी नै अकाट्य प्रमाण मानिने हो । अदालतसमक्ष इन्कारी गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष के कुन कारण र कसरी साबित बनाइयो भन्ने कुराका हकमा व्यक्त गरेको कुरामा अदालतले ध्यान दिनुपर्ने । (प्रकरण नं.१५) § प्रमाण ऐन, २०३१ को दफा ९(२) ले व्यवस्था गरेका भय, त्रास, प्रलोभनसमेतका अबस्था देखिएमा अभियुक्तको अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण नलाग्ने हुन्छ । अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष कुनै कुरा व्यक्त गर्दाको अवस्थाको सचेतता, यातना, धम्की र प्रलोभन दिएको थिएन भन्ने प्रत्याभूति प्रमाणित गर्नुपर्दछ । तर, यी अवस्थाको जिकीर र आधार भने मिसिलबाट देखिनुपर्ने । § मुद्दाको एक पक्ष सरकारको प्रतिनिधि अनुसन्धान अधिकारीले आफ्नो विपक्षलाई कब्जामा राखी व्यक्त गराइएका अभिव्यक्तिलाई अदालतले सहजै विश्वास गरी प्रमाणको रूपमा ग्रहण गर्न नहुने भन्ने नै प्रमाण ऐन, २०३१ को दफा ९(२) को आशय भएकाले उक्त दफाको परिपालनकै सन्दर्भमा म्याद थपका लागि अदालतमा पेश गरिँदा अभियुक्तलाई सशरीर न्यायाधीशसमक्ष उपस्थित गराउनु पर्ने, त्यस बेलासम्म खडा भएका लिखतमा अदालतले छाप लगाई दिने र अभियुक्तसँग सोधपूछ गर्दा आवश्यकता महसूस गरिएमा तत्कालै घाँ जाँच वा स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने कार्यविधि सुनिश्चित् छ । अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा ग्रहण गर्दा सतर्कता अपनाउनु पर्ने । § अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको अवस्था र अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन ईच्छाविरुद्धको हो भनी लिएको जिकीरलाई विश्वास गर्न सकिने आधार नदेखाइएको अवस्थामा सो कथन प्रमाण शून्य हुन्छ भन्न नसकिने । (प्रकरण नं.१६) § निःसन्देह फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रमाणको भार वादीमा रहने कुरा हो । प्रतिवादीहरूलाई आफूविरुद्धको कारवाहीमा चूपचाप बस्ने हक अवश्य छ । तर, चूप नबसी आफ्नो सफाइमा तथ्य व्यक्त गर्ने व्यक्तिका दायित्व पनि सोही प्रमाण ऐनको दफा २७(१) द्वारा अभिनिश्चित् छन् । अधिकारप्राप्त अधिकारीसमक्षको कथनलाई इन्कार गरिएको अवस्थामा त्यसका आधार र कारण पनि व्यक्त गर्नु पर्दैन भन्ने प्रमाण ऐन, २०३१ को दफा २५ को मनशाय होइन । (प्रकरण नं.१७) § साक्षीको योग्यता अदालतबाट निजलाई सोधिएको प्रश्न बुझ्न सक्ने र सोको युक्तियुक्त जवाफ दिन सक्ने हुनुपर्दछ । यस कानूनी व्यवस्थाको प्रयोजनार्थ आफूबाट के कुरा जान्न खोजिएको हो सो बुझ्न सक्ने हुनुको साथै निजले सो सोधिएको प्रश्नलाई समुचित ढङ्गले सम्बोधन गरेको छ भन्ने न्यायाधीशलाई लागेमा त्यस्तो साक्षीको बकपत्रलाई प्रमाणमा लिन हुन्छ । योग्य साक्षी हुन कुनै उमेरको छेकवार प्रमाण ऐन, २०३१ को दफा ३८ ले लगाएको छैन । कम उमेरका नाबालिगसमेत निजलाई गरिएको प्रश्नले के मागेको छ बुझ्नसक्ने हुनु र त्यस प्रश्नको जिज्ञासालाई समुचितरूपमा समाधान गर्नसक्ने क्षमता हुनु नै योग्य साक्षी हुन पर्याप्त हुने । § उत्तर सकारात्मक वा नकारात्मक जे जस्तो होस् त्यसले प्रश्नका माध्यमबाट अदालतले जान्न चाहेको तथ्य नाबालिग समेतबाट सहज रूपमा प्रकट हुनु नै त्यस उत्तरको युक्तियुक्तताको परिचय हो । कुनै नावालिकाको कथन प्रमाणमा लिने वा नलिने भन्ने सन्दर्भमा यकीन गर्नु पर्दा निजलाई सोधिएका सम्पूर्ण प्रश्नहरू र तिनको उत्तरको अध्ययन गरिनु पर्ने । (प्रकरण नं.२०) § कुनै पनि प्रमाणले पुष्टि नगर्ने विशेषज्ञको राय विचारयोग्य हुँदैन । विशेषज्ञको राय अदालतको सन्तुष्टिका लागि हो । मिसिल संलग्न प्रत्यक्षदर्शीको कथन, लासका फोटोहरू, घटनास्थल मुचुल्का तथा स्वयम् प्रतिवादीहरूको कथनसमेतका प्रमाणले सिधै इन्कार गर्ने भीषेरा परीक्षण प्रतिवेदनबाट अदालत भ्रमित हुनुपर्ने अवस्था नहुँने । § आत्महत्या गर्नकै लागि विषादि सेवन गर्ने व्यक्तिले झुण्डिनु पर्ने आवश्यकता नपर्ने । (प्रकरण नं.२३) § कुनै पनि कुराको परीक्षण गर्न एक ठाउँबाट अर्को ठाउँमा पठाइँदा सो परीक्षण गर्न के कसरी पठाइयो, परीक्षण विधि के कस्तो रह्यो र लासका भीषेरा नमूना समेत सुरक्षित राख्न तथा यो नमूना परिवर्तन नहुने व्यवस्था गर्न के कस्ता प्रक्रिया अपनाइयो भन्ने समेतका आधार खुलाइएको देखिनु पर्ने । § कुनै पनि राय निरापद हुन सक्तैन । बिना आधारको राय अदालतको विचारवस्तु बन्दैन । प्रस्तुत विवादमा मृतकको भीषेरा परीक्षणका विषयमा यस्ता कुनै कुरा खुलाइएको नपाइँदा विशेषज्ञ भनिएको व्यक्तिको फगत रायमा न्यायकर्ता रुमलिन आवश्यक नहुने । (प्रकरण नं.२४) § मृतकको शरीरमा हात हाल्ने व्यक्तिलाई ज्यानसम्बन्धीको १७ नं. आकर्षित हुन नहुने । (प्रकरण नं.२७) § घरपरिवारसमेतका सबैजना मिली जेठानीलाई दिएको यातना एव कुटपीट समेतको कर्तुत आफ्नै आँखाले देखे भोगेकी बुहारीले घरपरिवारको डर, सामाजिक परिवेश र पतिको आदेश समेतका कारणले कुनै प्रतिक्रिया नजनाउनुलाई मतसल्लाहमा पसेको भनी प्रतिवादीलाई दोषी ठहर गर्न नमिल्ने । § हत्या गर्ने मतसल्लाहमा पस्नु र प्रतिक्रिया नजनाउनु विल्कुल अलग कार्य हुन् । मार्ने योजनामा सहमति जनाउनु वा सो योजनाको पूर्व जानकारी राख्नु मतसल्लाहमा पसेको मान्ने आधार हुन सक्दछन् । तर, आफूबाहेक अरूले गरेको मतसल्लाहअनुसारको कार्यको दर्शक हुनु नै आरोपित कसूर गरेको प्रमाण हुन नसक्ने । (प्रकरण नं.२८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9022
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2070/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६७-CR-०२५५
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9022
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्