नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8905 · वि.सं. २०६९
नि.नं. 8905 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अ.बं. ७२ ले गरेको कानूनी व्यवस्थावाट लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने सो हदसम्मका कुरामा इन्साफ गर्न नपर्ने भनी सम्बन्धित सेवाग्राहीलाई सूचना दिनुपर्ने “फिरादवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाई लेखिदिनुपर्छ” भन्ने वाक्य यस नम्बरमा समायोजन गरेबाट प्रष्ट भएकाले अड्डा अदालतले ग्रहण गरिसकेको नालिस सबूद प्रमाणको मूल्याङ्कन तथा हकदैया हदम्याद समेतका प्रश्नबाट जे ठहर्छ सोहीबमोजिम इन्साफ हुनैपर्ने । (प्रकरण नं.३) § फोटोहरू लिखत प्रमाण हुन् । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(घ) द्वारा निर्धारित परिभाषाका अतिरिक्त प्रमाण कानूनका विश्वव्यापी मान्यताका कारणबाट फोटोहरू लिखत प्रमाणको कोटीमा पर्दछन् । विधिसम्मत प्रक्रियाबाट मिसिलमा संलग्न हुन पुगेका फोटोहरूका हकमा समेत अ.बं. ७८ आर्कषित हुने । § पुरातन मस्यौदाहरूमा “कागज” भन्ने शब्द प्रयोग हुँदैमा आधुनिक मस्यौदामा “लिखत” भन्ने शब्द लेखिएको छ भन्दैमा लिखत भन्नु र कागज भन्नु फरक हुन् भन्ने अर्थ गर्न नमिल्ने । § जानकारीमा आएका फोटो सम्बन्धित जग्गाका होइनन् भन्ने समेतका आधारमा चुनौती दिएको अवस्थामा अ.बं. १७१ बमोजिम नाप जाँच गराउनु पर्दथ्यो । अ.बं. १७१ को नाप नक्सा जाँचबुझ अदालतले न्यायिक निष्कर्षमा पुग्न आफ्नो सन्तुष्टिका लागि अदालतका प्रतिनिधिलाई विवादस्थलको वस्तुगत अध्ययन गर्न पठाउन अवलम्बन गरिने कार्यविधि भएकाले लिखत प्रमाणका रूपमा रहेका फोटोहरूमा मुद्दाका दुवै पक्षको मुख मिलेको छ भने यिनले अ.बं. १७१ को आवश्यकता पूरा गर्न सक्ने । (प्रकरण नं.५) § न्यायिक निष्कर्ष निकाल्दा न्यायिक मनको विशिष्ठ भूमिका हुन्छ । भूमिसम्बन्धी नियमअन्तर्गतका १ नं., २ नं., ४ नं. तथा ३ नं. अनुसूची भएपनि भूमिसम्बन्धी ऐनले नै मोहियानी हक प्राप्तिका लागि निषेध गरेको अवस्थामा ऐनकै व्यवस्थाले मान्यता पाउँछ । ऐनकै कार्यान्वयनको सुगमताका लागि नियम बन्ने हुँदा ऐनका प्रतिकूल नियम बन्न नसके जस्तै सो नियमअनुसार प्राप्त कागजातले कुनै कानूनी बल प्राप्त गर्न नसक्ने । § जसरी दूषित दर्ताले कुनै मान्यता पाउँदैन, यसका लागि हदम्याद बाधक बन्दैन त्यसरी नै दूषित प्रमाणको कुनै औचित्य हुँदैन । कानूनविपरीतको दूषित प्रमाणले कसैलाई कानूनी हक प्रदान गर्न नसक्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8905 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2069/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६७-CI-०५६३ | ०६७-CI-१०८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8905 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
