नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8873 · वि.सं. २०६९
नि.नं. 8873 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सरकारी कर्मचारी प्रतिवादी हुने वित्तिकै त्यस्ता मुद्दाको फिराद वा अभियोग पत्र पुनरावेदन अदालतमा दायर गरिनुपर्ने अर्थ गर्न नमिल्ने । § सरकारी कर्मचारीले कर्तव्यपालनको सन्दर्भमा गरेको कार्यबाट उठेको मुद्दाको शीघ्र निर्णय होस् भन्ने विधिकर्ताको अभिप्राय अ.वं. २९ को देहाय ८ नम्बरको हो । सरकारी कर्मचारीको संरक्षण र सुविधाको प्रबन्ध गर्ने यो कानून आपराधिक कार्यको रक्षाकबच बन्न नसक्ने । § एउटा व्यक्तिको सम्पत्ति अर्कै नक्कली व्यक्ति खडा गरी हस्तान्तरण गराउने कार्यलाई अड्डासम्बन्धी काम कुरा मान्न नसकिने । § अड्डासम्बन्धी कामको परिधिमा नपर्ने कार्यबाट उत्पन्न हुने परिणामको भागी सम्बन्धित कर्मचारी वैयक्तिक रुपमा नै हुनुपर्ने । § ठगीजन्य कार्य कुनै पनि अड्डासम्बन्धी काम हुन सक्दैन, न त कुनै सरकारी कर्मचारीको पदीय कर्तव्यपालनाभित्र ठगी गर्ने कार्य नै पर्दछ । त्यसैले प्रस्तुत मुद्दाका केही प्रतिवादी सरकारी कर्मचारी रहेको भन्ने मात्र आधारमा प्रस्तुत मुद्दालाई अ.वं.को २९ को देहाय ८ नम्बर अन्तर्गतको मुद्दाका रुपमा राख्न नमिल्ने । (प्रकरण नं.५) § कुनै पनि ठगीजन्य कार्य निजामती कर्मचारीको ओहदाको कर्तव्यपालन सम्झी गरेको कार्यअन्तर्गत पर्दैन । त्यस्तो कार्यलाई विद्यमान कानूनले फौजदारी कसूरअन्तर्गत परिभाषित गरेको छ । त्यस्तो कसूरजन्य कार्य गर्ने व्यक्तिलाई निज सार्वजनिक सेवामा रहेको भन्ने मात्र आधारमा उन्मुक्ति प्रदान गर्ने उद्देश्य निजामती सेवा ऐनले ग्रहण गरेको होइन र त्यसलाई त्यति विकृत रुपमा बुझ्न पनि नहुने । § प्रस्तुत मुद्दामा निजामती सेवा ऐन, २०४९ को दफा ५७ को सन्दर्भ पनि उठेको छ । निजामती सेवा ऐनमा रहेको उल्लिखित व्यवस्थाले कर्मचारीलाई बिना डर, धाक र प्रभावमा आफ्नो पदीय जिम्मेवारीभित्र पर्ने कार्य गर्न उत्प्रेरित गर्दछ । आफ्नो जिम्मेवारी इमानदारिपूर्वक निर्वाह गर्दासम्म कर्मचारीको बचाउ गर्न सकिने हुन्छ । तर, यो कानूनी प्रावधानले कर्मचारीलाई वद्नियतका साथ कार्य गर्ने अनुमति प्रदान गर्दैन, न त त्यस्तो कर्मचारीको बचाउ नै हुने । (प्रकरण नं.७) § ठगी र भ्रष्टाचार जस्ता आपराधिक कार्य सरकारी कर्मचारीको ओहदाको कर्तव्यपालनको विषय हुन सक्दैन । यस्ता आपराधिक कार्य विरुद्ध मुद्दा चलाउन अख्तियारवालालाई सूचना दिनु र स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेको मान्न सकिँदैन । पदको दुरुपयोग गरी ठगी र भ्रष्टाचार जस्ता कसूरजन्य कार्यमा संलग्न हुनका लागि त्यस्तो बचाउको प्रावधान सहयोगी बन्न नसक्ने । (प्रकरण नं.८) § घटनामा जानाजानी संलग्न हुनु र अनजानवस घटनाको कुनै चरणमा सहभागी भएको देखिनु फरक–फरक कुरा हुन् । मालपोत कार्यालयको अधिकृतका रुपमा वहाल रहेका व्यक्तिले आफ्नो कार्यालयसँग सम्बन्धित कुनै कार्यमा संलग्न रहनु उसको पदीय जिम्मेवारी नै हो । त्यस्तो कार्यमा संलग्न हुनु उसको कर्तव्य पनि हो । त्यसरी कर्तव्यपालना गर्ने सिलसिलामा वद्नियत राखी आफूले लाभ लिने वा अन्य कसैलाई हानि पुर्याउने कार्य गरेमा त्यस्तो क्रिया निश्चय नै गैरकानूनी हुन्छ । तर, यी प्रतिवादीले त्यस्तो वद्नियत राखी कार्य गरेको वा आफूलाई लाभ हुने गरी कुनै कार्य गरेको भन्ने कुरा पुष्टि हुन नआएको हुँदा केबल अनुमान र आशंकाका आधारमा निजलाई कसूरदार मान्न नमिल्ने । (प्रकरण नं.१२) § अपराध स्वीकार गरिरहेका प्रतिवादीहरूले त्यसको परिणामस्वरुप हुने विगो र जरीवानाको सामान्य हेरफेरलाई निर्णयमा तात्विक अन्तर मान्न नमिल्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8873 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2069/05/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६८-CF-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8873 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
