नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8836 · वि.सं. २०६९
नि.नं. 8836 — कर्तव्यज्यान, ज.क. उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पीडितको पहिलेदेखि कै विभिन्न कार्य वा अभिव्यक्तिले प्रतिवादीलाई आवेश वा उत्तेजनामा ल्याउने पृष्ठभूमि तयार गरेको हुनसक्ने भए पनि पीडितले तत्काल उत्तेजना सिर्जना गर्नेहदसम्मको कुनै कार्य गरेको हुनुपर्दछ, जसको प्रतिक्रियास्वरूप प्रतिवादीले आफूलाई नियन्त्रण गर्न नसकेको होस् । यसबाट पीडितको कार्य (Provocative action) विगतदेखि हुँदै आएको (Cumulative) भए पनि सोको अन्तिम कडी तत्काल भएको हुनुपर्ने । § प्रतिवादीलाई उत्तेजनामा ल्याउने कार्य पीडितबाहेकका अन्य व्यक्तिको आचरण, कार्य वा अभिव्यक्तिको आधारमा भएको हुन नहुने । (प्रकरण नं.२) § सामान्यतया पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्दछ अर्थात् प्रतिवादी त्यस्तो आवेशमा आउने गरी निजलाई नै लक्षित गरी पीडितले कुनै कार्य गरेको हुनुपर्ने । § विशेष परिस्थितिमा स्वीकार गर्न सकिने अपवादको आधारमा पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्ने भन्ने सामान्य नियमको अनुचित विस्तार गर्नु मनासिब नहुने । (प्रकरण नं.३) § उत्तेजनामा ल्याउने गरी भएको पीडितको कार्य प्रतिवादीले आफ्नो मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गर्न सक्ने गरी उत्तेजक हुनु पर्दछ । पीडितको सामान्य कार्य वा भनाईको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजनामा आएमा उसलाई प्रतिरक्षा प्राप्त हुन नसक्ने । § प्रतिवादीकै परिवेश वा समान अवस्था र हैसियतको अन्य सामान्य समझ भएको व्यक्ति उक्त अवस्थामा प्रतिवादी सरह उत्तेजित हुन्थ्यो भन्ने कुरा वस्तुगत रूपमा स्थापित गर्न सकिने हुनुपर्दछ । यसबाट पीडितको उत्तेजक कार्य र प्रतिवादीको उत्तेजनाको बीचमा अनुपातिक सम्बन्ध (Proportional relationship) स्थापित भएको देखिनु पर्ने । (प्रकरण नं.४) § कानूनबमोजिम गरेको कार्यको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजना वा आवेशमा आई पीडितलाई हानि पुर्याउँछ वा निजको ज्यान जाने कुनै कार्य गर्दछ भने त्यस्तो प्रतिवादीलाई अत्याधिक आवेशको प्रतिरक्षा प्राप्त हुन नसक्ने । § अरूको कानूनी हकको सम्मान गर्नु पर्ने कर्तव्य सबैले पूरा गर्नुपर्ने स्वाभाविक कानूनी अपेक्षा हुने भएकाले आफूलाई चित्त नबुझ्ने कार्य गरेको भन्ने आधारमा मात्र कानूनी कार्यको प्रतिक्रियास्वरूप भएको अत्याधिक आवेशलाई प्रतिरक्षाको आधार मान्न नसकिने । (प्रकरण नं.५) § उत्तेजक कार्य र यसको प्रतिक्रियात्मक कार्यको बीचमा अन्तराल भएमा सो अन्तरालले प्रतिवादीमा आएको आवेश शान्त गराउने (Cooling off) वा मनसाय तत्वको सिर्जना गर्ने (Creation of Intention) समय प्रदान गर्ने हुनाले यस्तो अन्तरालपछि पनि प्रतिवादीले पीडितमाथि आक्रमण गरेमा उसको यस्तो आक्रमक कार्यलाई आवेशप्ररित कार्यको रूपमा लिन नसकिने । (प्रकरण नं.६) § पीडितको उत्तेजक कार्यको तत्काल प्रतिक्रियास्वरूप प्रतिवादीले आफैँउपरको नियन्त्रण पूर्णरूपमा गुमाई कुनै कार्य गर्दा पीडितको ज्यान मर्न गएको अवस्थामा प्रतिवादीले आवेशको जिकीर लिनसक्ने र आंशिक प्रतिरक्षाको सुविधा पाउनसक्ने । (प्रकरण नं.७) § मृतकले आफ्नो कानूनी अधिकारको प्रयोग गरी करणीको लागि सहमति नदिनु नै यी प्रतिवादीले आफू उपरको नियन्त्रण पूर्णतः गुमाउने गरी आवेशमा आउन सक्ने अवस्थाको सिर्जना गर्ने आधार बन्न नसक्ने । (प्रकरण नं.१०) § कर्तव्य ज्यानको अपराध कायम हुनको लागि सबै अवस्थामा पूर्व रिसइवी, पूर्वमनसाय वा पूर्वयोजना आवश्यक पर्दछ भन्ने हुँदैन । आपराधिक कार्य विभिन्न कडीहरू (Segments) को रूपमा रहेको अवस्थामा कुनै कडीमा आपराधिक मनसायको उपस्थिति भएमा अपराध कायम हुनको लागि सो आपराधिक मनसाय पर्याप्त हुने । § मार्ने मनसाय कति समयभित्र बन्नु पर्दछ भनेर कुनै पनि सीमामा बाँध्न सकिने कुरा होइन । यो मानसिक अवस्था धेरै पहिलेदेखि रहेको होस् वा तत्काल उत्पन्न भएको होस् यसले आपराधिक कार्यलाई मनसायपूर्वक गरिएको स्थापित गराई सम्पन्न अपराधको प्रकृतिलाई कुनै प्रभाव पार्न नसक्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8836 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान, ज.क. उद्योग |
| निर्णय वर्ष / मिति | 2069/04/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| मुद्दा नं. | २०६७-CR-०३८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8836 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
