नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8832 · वि.सं. २०६९
नि.नं. 8832 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निक्षेपबाट बढेबढाएको ब्याज रकमलाई सम्पत्तिको मान्यता दिई विगो कायम गर्न तथा आय स्रोतका रुपमा छुट्टै मान्यता प्रदान गर्न नमिली निक्षेप रकमको स्रोत पुष्टि भएमा सोबाट बढेबढाएको ब्याजको पनि स्वतः स्रोत पुष्टि हुने तथा स्रोत पुष्टि नभएको विगोको रुपमा रहने सम्पत्ति तथा सोबाट बढेबढाएको सम्पत्ति समेत स्वतः गैरकानूनी भई जफतसम्म हुने । (प्रकरण नं.३) § जाँच अवधिमा खरीद गरिएका जग्गा बिक्रीबाट प्राप्त रकमलाई आयको रुपमा जिकीर लिइन्छ र मान्यता पनि दिइन्छ भने त्यस्तो जग्गा खरीदको स्रोत पनि पुष्टि गर्नुपर्ने । (प्रकरण नं.७) § विदेश जाँदा वैदेशिक भ्रमणबापत प्राप्त भएको रकम नै सटही गरेको भन्ने अर्थ गर्न मिल्दैन । भ्रमण गर्ने व्यक्तिको सामथ्र्य र आवश्यकताअनुसार विदेशमा गर्न सकिने खर्चको अनुमान गरी आफूसँग भएको रकम सटही गरिने हुँदा जे जति रकम आधिकारिक निकायबाट भ्रमण भत्ताबापत प्राप्त भएको हुन्छ त्यसैलाई आयको आधार मान्नु पर्ने । § आयस्रोत प्राप्त भएको भन्ने कुरा पुष्टि हुने आधिकारिक र वस्तुनिष्ट प्रमाणको अभावमा राहदानीमा उल्लेख भएको वैदेशिक मुद्रा सटही गरेको विवरणलाई आयको मान्यता प्रदान गर्न नमिल्ने । (प्रकरण नं.१३) § ब्यक्तिका साथमा रहेको सुनचाँदी चल सम्पत्ति हो । त्यस्तो सम्पत्तिलाई बिक्री गर्दा प्राप्त हुने मुनाफा आयस्रोत हुन सक्दछ, तर सम्पत्ति स्वयं भने आयको स्रोत हुन नसक्ने । § सम्पत्ति र आयस्रोतको भिन्नतासम्बन्धी सामान्य अवधारणागत विषयमा अनभिज्ञ रही सुन चाँदीलाई स्रोतको रुपमा गणना गरेको विश्लेषण प्रथमदृष्टिमा नै त्रुटिपूर्ण देखिएकोले कायम रहन नसक्ने । (प्रकरण नं.१७) § घरसारमा लिएको कर्जा भाखाभित्र तिर्नु बुझाउनु पर्ने र आर्जन वा सम्पत्तिबाटै कर्जा तिरिने हुँदा ऋण लिएको रकम सधैंका लागि आयस्रोत भैरहन्छ भन्न तर्कसम्मत हुँदैन । घरसारमा ऋण लिएको भनिएको लिखत मितिबाट कर्जा बुझाउने म्याद समेत बाँकी नरही समाप्त भैसकेको र साहूको नालेस नपरेको अवस्थामा घरसारको ऋण निष्क्रिय मान्नुपर्ने । § कानूनबमोजिम भाखा नाघिसकेको घरसारको भनिएको ऋण आयस्रोत कायम हुन नसक्ने । (प्रकरण नं.१८) § निक्षेपबाट प्राप्त भएको ब्याज बढेबढाएको सम्पत्ति हुँदा बढेबढाएको सम्पत्तिको छुट्टै स्रोत दिई रहनु पर्ने अवस्था पर्दैन । आधारभूत सम्पत्ति अर्थात् निक्षेप रकमको स्रोत पुष्टि भएमा त्यसबाट बढेबढाएको ब्याजको पनि स्वतः कानूनअनुरूपको आर्जन हुने र निक्षेप रकमको स्रोत पुष्टि गर्न नसकेमा त्यसबाट बढेबढाएको सम्पत्ति पनि स्वतः गैरकानूनी हुने । § खातामा जम्मा गरेको निक्षेपको स्रोत भने पुष्टि गर्नु नपर्ने केवल खाताबाट प्राप्त ब्याज मात्रै आयस्रोतको रुपमा गणना हुनुपर्ने भन्ने तर्क कानूनसम्मत हुन नसक्ने । (प्रकरण नं.१९) § कानूनले नै सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकका साथमा रहेको सम्पत्तिको स्रोत पुष्टि गर्ने दायित्व निजउपर राखी सो गर्न नसकेमा गैरकानूनी आर्जन मान्नु पर्ने गरी स्पष्ट व्यवस्था गरेको अवस्थामा कानूनको सीधा प्रावधानको बलपूर्वक व्याख्या गरी अन्यथा अर्थ गर्न वा निकाल्न नमिल्ने । (प्रकरण नं.२३) § उच्च पदीय हैसियत अर्थात् प्रतिष्ठाको आडमा वा पेशागत आधारमा गरिने अपराध अपराधशास्त्रमा श्वेतग्रिवी अपराध (White Colour Crime) को रुपमा परिचित भएको देखिन्छ । यस्ता अपराधहरू उच्च पदस्थ कर्मचारी तथा राजनीतिक पदाधिकारीहरूबाट पदीय अधिकारको दुरुपयोगको उपजको रुपमा हुने भएकोले यस्ता अपराधलाई नैतिकताको प्रतिकूल गम्भीर अपराधको रुपमा लिनु पर्ने । (प्रकरण नं.२४) § जतिसुकै जेहेन्दार र सार्वजनिक जीवनमा सम्मानीत ओहोदामा रहेको भए पनि कदाचित कानून उल्लंघन गरी अपराध जगतमा प्रवेश गर्दछ भने ढिलो चाँडो कानूनको साङ्लोभित्र पर्ने निश्चित प्रायः हुन्छ । कानूनमा बाँधिने र कानूनसंगत व्यवहार गरी अनुशासित जीवनयापन गर्नु नै सार्वजनिक जिम्मेवारी बोकेका राष्ट्रसेवकहरूसँग अपेक्षित कुराहरू हुन् र यसलाई सम्बन्धित सबैले हृदयंगम गर्नुपर्दछ भन्ने सन्देश ग्रहण गर्नु विशेष रुपले महत्वपूर्ण हुने । (प्रकरण नं.२७) § अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर परिभाषित नभएको स्थिति हुँदा सन्दर्भहरूको आधारमा निर्धारण गर्नुपर्ने प्रकृतिको देखिन्छ । त्यसलाई स्पष्ट गर्ने मापदण्डको अभावमा व्यक्तिको वैधानिक र औपचारिक आयस्तरको आधारमा मात्र निर्धारण गर्नुपर्ने । (प्रकरण नं.३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8832 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2069/04/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | २०६३-CR-०४७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8832 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
