नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8814 · वि.सं. २०६९

नि.नं. 8814 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै व्यक्ति, संस्था वा कम्पनीहरूबाट सञ्चालित गैरकानूनी कारोवार तथा अन्य अनियमित कामकारवाहीबाट आमजनताको सम्पत्तिसम्बन्धी हकमा असर परेको, जनताहरू ठगिने, झुक्किने कामकारवाही भए गराइएका छन् भन्ने कुरा सार्वजनिक जानकारीमा आएपछि यस सम्बन्धमा सत्य तथ्य पत्ता लगाई दोषीहरू माथि कानूनी कारवाहीको प्रक्रिया शुरु गर्ने गराउने कुरा नेपाल सरकारमा अन्तर्निहीत संवैधानिक दायित्व तथा कर्तव्य हुने । (प्रकरण नं.४) § नेपाल सरकारले अधिकारप्राप्त निकायको ध्यानाकर्षण गराउन वा प्रतिवेदनमा उल्लेख गरिएका सत्य तथ्यहरूको विश्लेषण गरी दोषीमाथि कानूनी कारवाही चलाउने भनी पत्राचार गर्दैमा कानूनअनुसार अधिकारप्राप्त निकायको अख्तियारीमा हस्तक्षेप हुने वा निजहरूको क्षेत्राधिकार सीमित हुन्छ भन्ने अनुमान गर्न नसकिने । (प्रकरण नं.५) § कम्पनीका सञ्चालक वा कम्पनी आफै कुनै विकास बैङ्कको सञ्चालक समितिमा भए रहेको कारणले मात्र कम्पनीले सर्वसाधारणहरूबाट निक्षेप संकलन गर्ने र बैकिङ्ग कारोवार सञ्चालन गर्ने अनुमति प्राप्त गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं.८) § गैरकानूनी रुपमा सर्वसाधारण ठगिने वा झुक्किने वा निजहरूको हितविपरीत हुने काम भए गरेको विषयमा नेपाल सरकारले छानबिन गरेको कारणले कम्पनीको व्यवसाय गर्ने अधिकारमाथि आघात भयो भनी मान्न नमिल्ने । (प्रकरण नं.१६) § कम्पनीको स्वतन्त्र अस्तित्व र सीमित दायित्वको सिद्धान्त व्यावसायिक सुगमताको लागि दिइएको सुविधा हो र यो सुविधा प्रचलित कानूनअनुरूप कम्पनीको पूर्व निर्धारित उद्देश्यअनुरूप भए गरेका वा सञ्चालन भएका कारोवारहरूको सम्बन्धमा मात्र प्राप्त हुने । § मूल रुपमा निम्न अवस्था प्रमाणित भएमा कम्पनीको आवरण हटाई गैरकानूनी वा अनियमित काममा संलग्न देखिएका कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी वा कम्पनीको तर्फबाट काम गर्ने भनिएका अन्य व्यक्तिहरूलाई व्यक्तिगत रुपमा जिम्मेवार बनाइन्छः (क) कुनै अनुचित कार्य, गैरकानूनी कार्य वा जालसाजी वा धोकेवाजीपूर्ण काम कारवाहीको लागि कम्पनीको आवरण प्रयोग भएको देखिएमा, (ख) कम्पनीको फाइदाको लागि नभई कुनै व्यक्ति वा अन्य निकायको हितको लागि मात्र कम्पनीको आवरण प्रयोग भएको अवस्थामा, (ग) राजश्व चुहावट वा कर छल्ने कार्यको लागि कम्पनीको आवरण प्रयोग भएमा, (घ) कुनै कम्पनीको आवासीय स्थिति (Residential Status) पत्ता लगाउनको लागि । (प्रकरण नं.१९) § कम्पनीको नाममा गैरकानूनी कारोवार सञ्चालन गरेको देखिएमा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी तथा यसको प्रतिनिधि मानिएको कुनै पनि व्यक्तिउपर प्रचलित नेपाल कानूनअनुसार अधिकारप्राप्त निकायले आवश्यक कानूनी कारवाही गर्नसक्ने नै देखिँदा कम्पनीको नाममा काम गरेको भन्ने आधारमा उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.२०) § कम्पनीको भौतिक अस्तित्व नभई अमूर्त हुने हुँदा यसलाई कैद गर्न नसकिने, यसको स्वतन्त्र मन, मस्तिस्क वा सोच्न सक्ने दिमाग तथा आत्मा नभएको हुनाले यसले आत्मदाह गर्ने अवस्था पनि नहुने हुँदा कुनै फौजदारी आपराधिक मनसाय (Mens Rea) पनि राख्न वा बोक्न नसक्ने । § संस्थापक वा शेयरधनीहरूको मन मस्तिष्कबाट सञ्चालन हुने साधारण सभा, सञ्चालक समिति, प्रवन्ध सञ्चालक वा प्रवन्धक जस्ता अंग वा पद वा समितिमार्फत् नै कम्पनीको कारोवार सञ्चालन हुने हुँदा सामान्यतयाः मानसिक तत्वको विद्यमानता हुनै पर्ने कुनै फौजदारी अपराधमा कम्पनीलाई सजाय गर्ने अवस्था नहुने । § कुनै ऐनमा नै कम्पनीको तर्पmबाट काम गर्ने सञ्चालक, कर्मचारी वा व्यक्ति नै व्यक्तिगत रुपमा सजायका भागी हुने भन्ने स्पष्ट व्यवस्था गरिएको अवस्थामा यस्तो कसूरमा यस्तो कम्पनीको नाममा काम गर्ने सञ्चालक, कर्मचारी वा व्यक्तिउपर कारवाही चलाउन पाइने । (प्रकरण नं.२१) § कम्पनीको कारोवार सञ्चालन गर्ने प्रक्रियामा सिर्जना भएको देवानी दायित्वबाट कम्पनी उम्कन सक्तैन । यसको नाममा भए गरेका कुनै काम वा कारवाहीबाट कुनै व्यक्तिको सम्पत्ति नोक्सान भएमा वा कसैको ज्यान गएमा यसबाट पीडित पक्षहरूलाई क्षतिपूर्ति वा उपयुक्त राहत दिने कर्तव्य कम्पनीको हुन्छ र यस्तो अवस्थामा कम्पनीको अमूर्त अस्तित्व वा मनसायरहित अवस्थाको दावी वा जिकीर कम्पनीले लिन नसक्ने । § कम्पनीको तर्फबाट काम गर्ने सञ्चालक, कर्मचारी वा अन्य व्यक्तिको हेलचेक्र्याइको कारणले क्षति भएको वा निजलाई यस्तो अधिकार कम्पनीले दिएको थिएन भन्ने प्राविधिक आधार र कारण देखाई उक्त क्षतिपूर्ति वा राहत दिने दिलाउने दायित्वबाट कम्पनी उम्कन सक्दैन । यसको लागि कम्पनीको कोष तथा सम्पत्ति प्रयोग गरी आवश्यक भुक्तानी हुन सक्ने । § प्रचलित कानूनले नै कुनै निरपेक्ष फौजदारी दायित्वको परिकल्पना (Strict Liability Offence) गरेको भएमा यस्तो अपराधमा कम्पनीको संलग्नता देखिएमा सो अनुसार जरीवानासम्म हुने कुरा हो । तर कम्पनीको भौतिक अस्तित्व नहुने हुँदा यस्तो अमूर्त तथा अभौतिक व्यक्तिलाई कैदको सजाय हुन नसक्ने । § कम्पनीको नामबाट काम गरेको भनी आपराधिक कार्यमा संलग्न संस्थापक, शेयरधनी वा यसका कर्मचारी वा अन्य व्यक्तिलाई व्यक्तिगत रुपमा यस्तो आपराधिक कार्यको सजाय हुने हुँदा कम्पनीहरूको फौजदारी दायित्वको सीमा अति सीमित रहेको मानिनु पर्ने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8814
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2068/12/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६६-WO-१२९३
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8814
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्