नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8787 · वि.सं. २०६९

नि.नं. 8787 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशबण्डा नभई एकासगोलमा रहेको अवस्थामा मोहियानी कायम रहेको परिवार सदस्यको मृत्युपछि अर्को परिवार सदस्यका नाममा प्राप्त भएको जग्गा सो प्राप्त गर्ने दाजु वा भाइको वा परिवार सदस्यको निजी आर्जनको बण्डा नहुने सम्पत्ति हो भनी मान्नु न्याय तथा कानूनसम्मत् नहुने । § अंशबण्डाको १८ नं. को निजी ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम सीप परेको अर्थात् सोको कारण प्राप्त भएको र ज्ञानको कारणले आर्जन भएका सम्पत्ति मान्नु पर्दछ । § पैतृक सम्पत्ति वा पूर्वजको कुनै योगदान नभएको सम्पत्ति मात्र निजी हो । तर पूर्वज वा अभिभावकले कर्तव्यस्वरूप कुनै परिवार सदस्यका लागि शिक्षा, स्वास्थ्य र लालन पालनमा गर्ने योगदानलाई भने पैतृक वा पूर्वजको योगदानको वर्गमा राख्न मिल्दैन । अंशबण्डाको १८ नं ले बाबु मोही रहेको, निजको देहान्तपछि एउटा छोरामा जग्गाधनीको रोजाइका कारणले मानो छुट्टिनु अघि नै आएको सम्पत्तिलाई निजी मान्न नमिल्ने । § सम्पत्ति आर्जनमा सगोलका परिवार सदस्य सवैको श्रम र सीप परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र कुनै एक व्यक्तिको मात्र निजी ज्ञान, सीप र श्रम परेको छ भने त्यसमा अरुलाई भाग बण्डा गर्न कर नलागोस् भन्ने विधिकर्ताको मनसाय अंशबण्डाको १८ नं बाट परिलक्षित हुने । § बाबुको पालादेखि नै एकासगोलका परिवारका सदस्यका नाउमा रहेको जग्गा बाबुको मृत्युपश्चात् कुनै एक सन्तानका नाउंमा मोहियानी हक प्राप्त भएकै आधारमा त्यसमा परिवारका अन्य सदस्यको हक हुँदैन भन्ने हो भने यो तर्क भूमीसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा उल्लिखित भावनाको प्रतिकूल हुन जान्छ र अंशबण्डाको १८ नं. को भावना अनुकूल नहुने । (प्रकरण नं.५) § भोगाधिकार बण्डा हुन सक्दैन भने स्वामित्व बण्डा हुन्छ । मोहियानीमा रहेको सम्पत्ति जग्गाधनी र मोहीबीच भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित दफा २६ख, २६ग र २६घ बमोजिम विभाजित भए पछि सो मोहीका हैसियतले प्राप्त सम्पत्ति सगोलका अंशियारबीच अंशबण्डाको १ र १८ नं समेत बमोजिम बण्डा हुने । (प्रकरण नं.६) § आफ्नै पालामा मोहियानी प्राप्त गरेको मोहीको नाताले आफूमा स्वामित्व आएको अवस्था र बाबु बाजे समेतका पूर्वजको मोहियानी निजको मृत्युपछि जग्गाधनीले रोजिदिएका कारणले सरिआएको अवस्थालाई समान मान्न नमिल्ने । § मोहियानी छोडपत्र वा जग्गाधनी र मोही बीचको बाँडफाँडका माध्यमले कसैलाई प्राप्त हुन्छ भने त्यो उसको निजी श्रम, सीप र प्रयासको आर्जन मानी सो जग्गामा समान रुपले खेती गर्ने अन्य अंशियारलाई बण्डा नहुने मान्न अंशबण्डाको १८ नं. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २६ (१) को परिप्रेक्ष्यमा न्यायसंगत नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8787
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2068/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६७-CR-०६१८
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8787
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्