नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8770 · वि.सं. २०६९
नि.नं. 8770 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ व्यक्तिगत रुपमा लेखिएका र परीक्षण गर्न नसकिने निजी डायरीलाई कानूनबमोजिमको अकाट्य प्रमाणको रुपमा ग्रहण गर्दै जाने हो भने त्यसले गलत संस्कार र कृत्रिम प्रमाणको सिर्जनालाई बढावा दिने हुँदा अदालतले त्यस्ता कृत्रिम र बनावटी प्रमाणको सिर्जना हुने प्रक्रियालाई अपनाउन र प्रोत्साहन गर्न नहुने । (प्रकरण नं.२७) § जाँच अवधिमा आफूले आर्जन गरेको सम्पत्ति छोरा र श्रीमतीलाई वण्डा लगाइदिएकै कारणले त्यसको स्रोत पुष्टि गर्नुपर्दैन भन्ने तर्कलाई स्वीकार्ने हो भने सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले जुनसुकै व्यहोराले आर्जन गरेको सम्पत्ति त्यसरी नै हक हस्तान्तरण गरेर स्रोत पुष्टि गर्नुपर्ने दायित्वबाट उन्मुक्ति पाउने अवस्था रहने । (प्रकरण नं.३०) § पति पत्नी र छोरा छोरीहरूबीच अंशवण्डाको लिखत पारीत गरी छुट्टि भिन्न भएको देखिएपनि भ्रष्टाचार मुद्दाको प्रयोजनको लागि त्यस्तो वण्डापत्रमा लेखिएका सम्पत्तिहरूको स्रोत पुष्टि गर्ने दायित्वबाट उन्मुक्ति नहुने । (प्रकरण नं.३२) § सम्पत्तिको स्रोतलाई कानूनी आवरणले ढाकी हालैको बकसपत्र भन्ने शब्द लिखतमा उल्लेख गरेकै आधारमा त्यस्तो सम्पत्तिलाई भ्रष्टाचार मुद्दाको प्रयोजनको लागि बकसपत्रबाट आएको मानी त्यसको स्रोत खोज्नु नपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३४) § आयोगले अभियोग दावी गर्ने हकलाई विशेषाधिकार मानी मन लागे छूट दिने र मन नलागे दावी गर्ने मनोमानी र स्वेच्छाचारिता देखाउन सक्तैन । कानून, न्याय र विवेकको अधीनमा नरही अभियोगपत्र दायर गर्ने हो भने न्यायले स्वच्छता गुमाउँदछ । यसलाई गम्भीर जिम्मेवारी सम्झेर आयोगले अनुसन्धान एवम् अभियोजन गर्न सक्नु पर्दछ । अन्यथा अरुमाथि अख्तियारको दुरुपयोगको दावी गर्ने आयोगका पदाधिकारी वा कर्मचारीहरू स्वयम् पनि त्यस्तो दोषको भागीदार हुनसक्ने अवस्था नआओस् भनी सतर्क रहनु पर्ने । (प्रकरण नं.३५) § बकस दिनुपर्ने कुनै कारण नै नभई मूल्य लिएर लिखतमा हालैदेखिको बकसपत्र भनी उल्लेख गरी झूठो व्यवहार देखाउने दाताले पनि सम्पत्तिको स्रोत लुकाउन मद्दत गरेको देखिन्छ । तर वादीले त्यस्ता दाताउपर कुनै कारवाही र दावी गरेको नदेखिएको अवस्थामा अदालतले त्यस्ता दाताको हकमा अन्यथा गर्न मिलेन । त्यसैले विशेष अदालतले जग्गाहरूलाई खरीद मानेको फैसला प्रस्तुत मुद्दाको प्रयोजनको सन्दर्भमा मिलेकै देखिने । (प्रकरण नं.३६) § ठूलो परिमाणको सुन किन्न सक्नेले अर्काको लकरमा सुन राख्न दिएको भन्ने बयान आफैंमा विश्वासप्रद नदेखिने हुँदा आफ्ना गठमेलका मानिसहरूलाई मिलाई जुनसुकै समयमा तयार पार्न सकिने घरायसी बनावटी कागज खडा गरी गराई आफूले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको मूल्य घटाउने उद्देश्यले अपुष्ट बयान गरेको र गर्न लगाएकै भरमा प्रतिवादीकै नामको बैंक लकरमा भएका सुनलाई उनाउ व्यक्तिको भन्न नमिल्ने । (प्रकरण नं.४१) § काठमाडौं जस्तो स्थानमा पाँचवटा घर भएको र भाडाबाट अस्वाभाविक र उल्लेख्य परिमाणको आय प्राप्त गरेको जिकीर लिइन्छ भने त्यसलाई व्यवसायकै रुपमा मान्नु पर्ने हुँदा मौखिक जिकीरका भरमा आय प्रदान गर्न मिल्दैन । ठूलो परिमाणमा घर भाडा प्राप्त गरेको भन्ने व्यक्तिले घर भाडामा दिएको संझौता तथा कर तिरेको प्रमाण पेश गर्नुपर्ने । (प्रकरण नं.४६) § अपुष्ट, अतार्किक र हचुवा आधारमा गरिने कल्पनाबाट अदालत सन्तुष्ट हुन सक्तैन । वस्तुनिष्ठ आधारबिना नै हचुवाको आधारमा लिइने दावीलाई कानूनसंगत मान्न नसकिने । (प्रकरण नं.४८) § आफ्नो जिकीरलाई वस्तुपरक र कानूनले मान्यता दिएका प्रमाणबाट पुष्टि वा खण्डन गर्न तथ्ययुक्त र वस्तुनिष्ठ प्रमाण प्रस्तुत गर्न नसकेको अवस्थामा मुद्दाका पक्षले अपुष्ट भनाई राखेकै आधारमा अदालतले पनि त्यसै गर्ने अवस्था नरहने । (प्रकरण नं.४९) § कृषि आयको निर्धारण सम्बन्धमा सरकारी स्तरबाट छुट्टै वैज्ञानिक मापदण्ड निर्धारण नभएको स्थितिमा त्यसको आय निर्धारण गर्नुपर्ने स्थिति सिर्जना भएमा सरकारी स्तरबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने कुतको दरलाई नै कृषि आय निर्धारण गर्ने आधार बनाउनु पर्ने । (प्रकरण नं.५०) § घडेरी प्रयोजनका लागि खरीद भएका जग्गाहरू आयस्रोत बढाउने उद्देश्यले व्यावसायिक रुपमा धान र गहुँलगायत तरकारी उत्पादनको खेती गर्ने कार्य गरेको भनी वस्तुनिष्ठ आधारबिना जिकीर गरेकै भरमा विश्वास गर्न नसकिने । (प्रकरण नं.५१) § विदेशबाट प्राप्त भएको रकम के कसरी देशभित्र भित्रिएको हो र सो रकमको स्रोत के हो भन्नेतर्फ ध्यान नदिने हो भने अवैधानिक रकमले स्वतः कानूनी आवरण प्राप्त गर्ने हुँदा विदेशबाट रकम प्राप्त भएको भनी दावी गर्ने पक्षले त्यस्तो रकमको स्रोतलाई पुष्टि गर्ने दायित्वबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.५६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8770 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2069/02/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६३-CR-०००८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8770 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
