नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8738 · वि.सं. २०६८

नि.नं. 8738 — कित्ताकाट दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतको अन्तिम फैसला हरहालतमा कार्यान्वित हुनुपर्दछ भन्ने कुरामा विवाद उठाउनु मनासिव हुँदैन । अदालतले गर्ने अन्तिम फैसला कार्यान्वयन नहुने हो भने फैसला गर्नुको कुनै तुक हुँदैन र कानूनद्वारा संरक्षित अधिकारको दुहाई दिँदै अदालत प्रवेश गर्नुको कुनै अर्थ हुँदैन । कार्यान्वयन नहुने फैसलाले न्यायको आभाष दिन नसक्ने । (प्रकरण नं.६) § फिराद गर्दा “तर्फ” को माग गरिएन भने पनि फैसला कार्यान्वयनको क्रममा कूल जग्गामध्ये कुन ठाउँबाट कसरी कित्ताकाट गरिदिने हो, त्यो यकीन गर्न सकिन्छ । यसरी यकीन गरिएको कुरालाई फैसलामा हुँदै नभएको फिरादमा दावी नै नभएको कुरामा प्रवेश गरेको मान्न नमिल्ने । § म्याद सूचना पाएर अनुपस्थित नहुनुको परिमाण फैसलाको प्रतिकूल कार्यान्वयन गरेपनि हुन्छ भनेर समर्पण गरेको अर्थमा ग्रहण गर्न नमिल्ने । § अदालतबाट भएको फैसला कार्यान्वयनमा हार्ने पक्षको वा जित्ने पक्षको असहमति वा सहमति कानूनले आवश्यक मानेको छैन । केवल फैसलाको प्रतिकूल सो कार्यान्वयन नहोस् भन्ने अभिप्रायले हार्ने तथा जित्ने दुवै पक्षलाई सूचना दिइने मात्र हो । फैसलाविपरीत कार्यान्वयन भए त्यसलाई चुनौती दिने कानूनी उपायको अवलम्बन गर्न पक्षहरू सक्षम हुन्छन् । उपचारका विविध उपाय भएको अवस्थामा आफूले उचित सम्झेको उपचार विधि छनौट गर्ने अधिकार सम्बन्धित पक्षलाई हुने । (प्रकरण नं.७) § सबूद प्रमाण तथा फैसलाको आसय तथा ठहर प्रतिकूल हुन गएको कार्यान्वयनले स्वतः कानूनी मान्यता पाउन नसक्ने । § कानून र न्यायले आफ्नो स्वरुप स्वयं निर्धारण गरिरहेका हुन्छन् । त्यसैले फैसलाको कार्यान्वयन सो अनुकूल हुनुपर्छ भन्ने कानूनी मान्यतालाई कुनै पक्षको आचरणकै कारणबाट तिलाञ्जली दिएको अर्थ लगाउन नमिल्ने । § फैसलाको प्रतिकूल हुने कार्यान्वयन प्रक्रियाको त्रुटि सच्चाउने कानूनी उपचारका मार्ग सम्बन्धित पक्षले नै रोज्ने कुरा हो । फैसला कार्यान्वयन गर्न अनावश्यक बखेडा झिकिएको अवस्थामा अदालतले त्यस्ता पक्षलाई कहिल्यै मद्दत गर्न नहुने । § फैसला कार्यान्वयन गरी काम सम्पन्न भएको मानिएको स्थितिमा फैसला प्रतिकूल गम्भीर त्रुटि गर्दै कार्यान्वयन भएको कुरा औल्याएर प्रचलित कानूनबमोजिम नै कुनै पक्ष अदालत प्रवेश गर्न चाहन्छ भने त्यसलाई ढोका थुन्नु न्यायको मान्यता होइन । सबूद प्रमाण समेतका वस्तुस्थितिले कार्यान्वयन भइसकेको फैसलाका हकमा समेत सो फैसला र त्यसको कार्यान्वयनमा तालमेल छ छैन, त्यसले कसैको अधिकारमा गम्भीरतम् रुपमा प्रतिकूल असर पारे नपारेको हेर्न नै मिल्दैन भन्नु न्यायोचित् नहुने । (प्रकरण नं.८) § कुनै पक्षलाई पूरै बाटोसँग जोडिएको जग्गा दिनु र अर्को पक्षलाई पिछवारको जग्गा दिने कार्य न्यायसंगत हुँदैन । दिने दिलाउने कार्यमा नरमगरम मिल्नु पर्दछ भन्ने साश्वत न्यायिक मान्यता हो । कुनै पनि सम्पत्ति विभाजित गर्दा त्यसको मूल्य र महत्वअनुसार समान विभाजन गरिदैन भने न्यायोचित हुन नसक्ने । § फिरादमा नै लिखतको तर्फ खोली दावी भएको र त्यसमा प्रतिवाद भई मुख नमिलेको स्थितिमा सबूद प्रमाण बुझी नरमगरम मिलाई फैसलामा बोल्नु पर्ने हुन्छ । तर, फिरादमा तर्फ खोली माग भएन भन्दैमा नरमगरम मिलाउन पर्दैन भन्ने रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.१०) § नरमगरम हेर्ने भनेको मूल्य र भोगको सुविधा समेत हेर्ने भएकाले बाटोमा जोडिएको सवै भू–भाग चार खण्डको एक खण्ड पाउने पक्षलाई मात्र दिलाउनु न्यायोचित् हुन नसक्ने । (प्रकरण नं.११) § मुद्दाको अन्त्य नभएको स्थितिलाई मुद्दा चल्दा चल्दैको अवस्था मान्नु पर्ने हुन्छ । मुद्दा चल्दाचल्दैको सिर्जना गरिएका प्रमाणलाई प्रमाण मान्न नमिल्ने । § मुद्दाको अन्त्य नभई गरिने सम्पत्तिको स्वरुप परिवर्तन र निर्माण समेतले प्रभाव पार्न सक्तैन । कसैले मुद्दा चल्दाचल्दै त्यस्ता कार्य गर्दछ भने त्यसको परिणाम निजले नै भोग्नुपर्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8738
मुद्दाको विषयकित्ताकाट दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2068/05/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8738
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्