नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8732 · वि.सं. २०६८

नि.नं. 8732 — जीउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दा हेर्ने न्यायाधीशसमक्ष गरेको प्रमाणित बयानलाई दवाव र प्रभावमा भए गरेको मान्ने हो भने न्याय प्रणाली नै निष्फल हुने अवस्था रहन्छ । मुद्दाको न्याय निरोपण गर्ने न्यायाधीशसमक्ष भएको त्यस्तो प्रमाणित बयान नै स्वतन्त्रपूर्वक नभएको भन्ने अविश्वसनीय कथनलाई स्वीकार गर्न नसकिने । § बकपत्र तत्काल नै हुने नभई समयको अन्तरालपछि मात्र झिकाई गरिने परम्परा रहेको अवस्थामा जाहेरवालाहरू पनि प्रभावमा अन्यथा बकपत्र गर्न सक्ने स्थिति इन्कार गर्न नसकिने । (प्रकरण नं.५) § जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ विशेष प्रकृतिको ऐन भएकोले पछि जाहेरवाला पीडित Hostile हुन सक्ने महसूस गरी अदालतबाटै पीडितको बयान प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान विद्यायिकाद्वारा राखिएको र सो बमोजिम नै प्रमाणित समेत भएको बयान व्यहोरालाई पछि आएर होइन भनिदिएकै भरमा प्रमाण ग्राह्य नहुने भन्न नहुने । § कसैले पनि न्यायिक प्रक्रियामा सत्य तथ्य कुरा खोली सही निष्कर्षमा पुग्न सहयोग गर्नुपर्ने हुन्छ । अन्यथा अदालत मात्रैले सही तथ्य पत्ता लगाई वास्तविक न्याय गर्न असमर्थ हुन्छ । झूठो कुराको जाहेरी दिने, बयान कागज प्रमाणित गरी दिने अदालतमा एक किसिमले आफ्नो भएको व्यहोरा लेखाई प्रमणित गर्ने गर्न लगाउन अनि साक्षी परीक्षणको प्रक्रियामा अन्यथा व्यहोरा लेखाई सत्य तथ्य नै भ्रमित गर्ने गरी विरोधाभाषपूर्ण कुराहरू राख्न अन्य व्यक्तिहरूको अतिरिक्त स्वयं पीडित भनेका मानिसहरूलाई पनि छूट दिन सकिन्न । राज्य र कानूनका संयन्त्रहरूलाई हलुकासँग आफ्नो स्वार्थमा प्रयोग गर्ने र अरुको हक हितमा प्रतिकूल स्थिति सिर्जना गरी राज्यका उपर अनुचित दायित्व सिर्जना गर्ने कार्य कुनै विन्दूमा पनि सह्य वा ग्राह्य हुन नसक्ने । (प्रकरण नं.६) § आवश्यक सुरक्षा र समर्थनका अभावमा न्यायिक प्रक्रियामा यथार्थ सहयोग गर्नु जोखिमपूर्ण हुने भै वाध्यतावस आफ्नो सही कुरा पुष्ट्याई गर्न सक्ने गरी बकपत्र गर्न नसकेको समेत स्थित रहिरहेमा आफ्नो पूर्व कथनको विपरीत लाभको लागि अन्यथा बकपत्र गर्न बाध्य हुने स्थिति आउँछ, जुन अपराधीलाई न्यायको प्रक्रियामा ल्याई दण्डित गर्ने र समाजमा न्याय र सुरक्षाको वातावरण सिर्जना गर्ने कुरामा वाधक बन्न सक्छ । त्यस्तो स्थिति गम्भीर स्थिति मान्नुपर्ने । (प्रकरण नं.७) § पीडितहरूले पछिल्लो समयमा अदालतमा बकपत्र गर्दा दिएको अभिव्यक्ति जे भए पनि सोभन्दा अघि निजहरूको उद्धार गरी गरेको कागज एवं अदालतमा समेत उपस्थित भै प्रमाणित गरी दिएको बयान कागजको मान्यतालाई नै शून्य हुने गरी पछिल्लो समयमा अदालतमा गरेको बकपत्रको अभिव्यक्ति ग्राह्य एवं विश्वसनीय मान्न नसकिने । (प्रकरण नं.९) § वारदात घटनाको समय अन्तरालपछि कसैलाई सफाइ दिन सहयोग गर्ने हिसावले पछि अन्यथा बकपत्र गरेको देखिए पनि तथ्यगत सबूद र घटनावलीले अभियोग दावीको कसूर पुष्टि गरेको कुराबाट निर्णय हुने हुनाले Hostile भै पछिबाट गरेको त्यस्तो बकपत्रले मुद्दाको तथ्यमा तात्विक असर पर्न नसक्ने । (प्रकरण नं.११) § फौजदारी अपराधमा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने वस्तुगत तथ्य र सबूद प्रमाणहरूको आधारमा निर्णय गर्ने कुरा भएकोले अपराधीलाई (बचाउ गर्ने नियतले प्रमाणित बयानलाई अन्यथा भनी Hostile भै पीडितले बकपत्र गर्दैमा अपराध छिप्न नसक्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8732
मुद्दाको विषयजीउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2067/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8732
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्