नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8705 · वि.सं. २०६८

नि.नं. 8705 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीहरू समूहगतरुपमा रहेको र सबै प्रतिवादीहरू वारदातमा संलग्न भएको अवस्थामा कुन प्रतिवादीले के भन्यो भन्नेतर्फ कसैले चासो दिएको र कसैले नदिएको वा कसले कुन प्रतिवादीबाट के भनेको सुन्यो वा सुनेन भन्ने कुरा कर्तव्य ज्यान मुद्दाको कसूर निर्धारणमा प्रासंगिक हुन आउँदैन । वारदातमा संलग्न भएका प्रतिवादीहरूको क्रियामा फरक नपारी बकपत्र गर्ने अभियोजनपक्षका साक्षीहरूको भनाईलाई कसूर निर्धारणको सम्बन्धमा कुरा बाझिएको भन्न नमिल्ने । (प्रकरण नं.१०) § एउटै समूहमा सँगै हिँडेको अवस्थामा कसैउपर आक्रमण गर्नु पूर्व रिसइवी वा अन्य खास कारण नभए पनि साथीभाइको आग्रह तथा समूहगत मेलको कारण तत्काल मनसाय तत्वको सिर्जना हुनसक्ने । § समूहगतरुपमा हिँडेको अवस्थामा कुनै एक सदस्यको आग्रह वा उक्साहटलाई स्वीकार गरी कानूनले बर्जित गरेको कार्यमा संलग्न हुनुबाटै मनसाय तत्वको सिर्जना हुन्छ । यस्तो अवस्थामा घटना घटेको प्रत्यक्षदर्शी व्यक्तिले देखेको अथवा प्रत्यक्ष प्रमाण भएको अवस्थामा कसूर स्थापित गर्नको लागि मृतकलाई मार्नुपर्ने खास कारण वा मार्न उत्प्रेरित गर्ने तत्व थियो वा थिएन भनी खोजी गरिरहनु आवश्यक नहुने । (प्रकरण नं.११) § सर्वश्वसहित जन्मकैद वा जन्मकैद हुने अपराधको सन्दर्भमा फौजदारी न्याय प्रशासनमा तजविजी अधिकारको प्रयोगमार्फत् प्रतिवादीहरूले अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गरी कसूर निर्धारणपछि सजाय गर्दा न्यायिक सन्तुलन कायम राख्ने तजविजी अवधारणा हुन् । सजाय निर्धारणमा अ.वं.१८८ नं. को व्यवस्थाले न्यायकर्तालाई सजाय कम गर्न तजविजी अधिकार दिएको कानूनी व्यवस्थालाई प्रयोग गरी सजाय घटाउन अधिकारस्वरुप जिकीर लिन सक्ने नदेखिनुको साथै अभियोजनपक्षबाट पनि यो कानूनी व्यवस्थाको प्रयोग गरी सजाय घटाउन हुँदैन भनी दावी गर्न नसक्ने । § अपराध र सजायमा सन्तुलन राख्नुपर्ने कानूनले उल्लेख गरेको अवस्थाको विद्यमानता छ र न्यायिक आधार मौजूद रहन्छ भने दण्ड निर्धारणमा न्यायकर्ताले विवेकसंगत रुपमा यो कानूनी व्यवस्थाको प्रयोग गर्नसक्ने । (प्रकरण नं.१४) § सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने अपराधको प्रकृति, अपराध गर्दा अभियुक्तले अपनाएको कार्यशैली, अभियुक्तको मानसिक स्थिति, अपराध गर्नु पछाडिको कारक तत्व जस्ता कुराहरू सबै अवस्था र परिस्थितिमा समान हुन नसक्ने भएकाले यस कानूनी व्यवस्थाको प्रयोग गर्दा न्यायकर्ताले विचार गर्नुपर्ने । § सबै अवस्था र प्रकृतिका ज्यान मुद्दाहरूमा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउन सकिने अवस्था हुँदैन । सजाय घटाउन सकिने अवस्थाको विद्यमानता भएमा पनि उस्तै प्रकृतिका मुद्दाहरूमा अपराधको गाम्भीर्यता घटाउने परिस्थितिहरूको विद्यमानताको अवस्था पृथक हुनसक्छ । एउटै ज्यान मुद्दामा अ.बं १८८ नं. को प्रयोगद्वारा कम सजाय निर्धारण गर्दा पनि धेरै प्रतिवादीहरू भएमा उनीहरूको अपराध गर्दाको क्रियाकलाप र अपराधमा सहभागिताको आधारमा सजायको निर्धारण गर्नु न्यायसंगत हुने । (प्रकरण नं.१५) § मृतकलाई नियन्त्रणमा लिई हात खुट्टा समाई छुरी प्रहार गर्न सहज वातावरण बनाई दिएको भन्ने देखिएको अवस्थामा मृत्युवरण गराउने गरी छुरी प्रहार गर्ने र छुरी प्रहार नगर्ने प्रतिवादीहरूलाई समानरुपमा सजाय घटाउनु न्यायसंगत नहुने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8705
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2068/06/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.०६६-CR-०००६
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8705
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्