नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8680 · वि.सं. २०६८
नि.नं. 8680 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सामाजिक न्यायको दृष्टिकोणबाट सरकारले गरेको निर्णयले कुनै सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक दृष्टिकोणले पिछडिएको बर्ग, समुदाय वा क्षेत्रका प्रति न्याय हुन सकेको छैन वा राष्ट्रिय स्रोत र साधनको वितरणमा त्यस्ता वर्गको पहुँच सुनिश्चित हुन सकेको छैन भने त्यसरी पिछडिएका वर्ग समुदाय वा क्षेत्रका व्यक्तिको अदालत वा राज्यका संयन्त्रहरूमा पिछडिएको वा चेतनास्तर कम भएको कारण सहज पहुँच छैन भने सोही कारणले मात्र सामाजिक न्यायबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले त्यस्ता व्यक्तिहरूको तर्फबाट अन्य व्यक्तिहरूले समेत न्यायिक उपचार माग गर्न सक्ने व्यवस्था सार्वजनिक सरोकारको विषय हुने । § सार्वजनिक सरोकारको विषयको पहिचान गर्दा कुनै विवाद खास व्यक्ति वा व्यक्तिहरूको हक वा सरोकारसँग सम्बन्धित छ वा सर्वसाधारण नागरिक वा जनसमुदायको सामूहिक हक वा सरोकारसँग छ भन्ने कुरा हेर्नुपर्ने । § देशको सुरक्षा, शासन व्यवस्था, सामाजिक शान्ति, जनसाधारणको शिक्षा, स्वास्थ्य र नैतिकता, देशको आर्थिक अवस्था, राज्यका निर्देशक सिद्धान्तका रुपमा व्यवस्थित सामाजिक न्यायका विषयहरू जस्ता पक्षहरूले सर्वसाधारण नागरिक वा कुनै जनसमुदायको हित वा स्वार्थमा अनुकूल वा प्रतिकूल प्रभाव पार्न सक्ने भएकोले यस्ता विषयलाई सार्वजनिक सरोकार मान्न नसकिने । § सार्वजनिक सरोकारको विषयलाई ग्रहण गरेर न्यायिक रुपले निरोपण गर्नुको मुख्य उद्देश्य कानून वा संविधानद्वारा समर्थित सरोकारको संरक्षण गर्नु हो । केवल वौद्धिक उत्सुकता वा लहडवाजीको आधारमा वा कुनै विषयलाई अदालतमा प्रवेश गराएर जनमानसमा कौतुहलता उत्पन्न गराई आफ्नो प्रचार प्रसार गराउने वा अदालतको क्षमता परीक्षण गर्ने उद्देश्यले ल्याइएको विषयलाई सार्वजनिक सरोकारको विषयको रुपमा लिन नसकिने । (प्रकरण नं.६) § औद्योगिक प्रवर्द्धन बोर्डले देशको औद्योगिकरण सम्बन्धी नीति, ऐन नियमहरूको तर्जुमा र कार्यान्वयनमा आवश्यक सहयोग पुर्याउने तथा आर्थिक नीतिहरूको उद्देश्य प्राप्तिको लागि उद्योग क्षेत्रलाई प्रतिष्पर्धात्मक बनाउँदै लैजान मार्गदर्शन दिनेलगायतका नीतिगत निर्णय गरी मार्गदर्शन गर्नसक्ने । § एउटा कानूनबमोजिमको अधिकारप्राप्त निकायले कुनै एउटा निश्चित कम्पनीको दर्ता गर्ने सिलसिलामा गरेको निर्णयलाई सार्वजनिक सरोकारको विषय मान्न नसकिने । § एउटा कम्पनीको दर्ताको विषयलाई सार्वजनिक सरोकारको विषयको रुपमा लिएर सक्षम पक्षको प्रतिनिधित्व गर्न निवेदकहरू आएको पाइएकोले निजहरूको प्रस्तुत विषयमा सार्थक सम्बन्ध (Meaningful Relation) रहेको अवस्था नदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8680 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2068/07/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६७-WO-०५८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8680 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
