नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8625 · वि.सं. २०६८
नि.नं. 8625 — जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ केवल एक पक्षले जग्गा दर्ता गरिपाउन माग गरेको अवस्थामा पनि साविक दर्ता, तिरो र भोगका आधारमा मागकर्ताका नाममा जग्गादर्ता गर्ने वा नगर्ने अधिकार मालपोत कार्यालयलाई दिएको छ । विना आधार र प्रमाण साविक दर्ता, तिरो र भोग निर्क्यौल हुन नसक्ने हुँदा प्रमाणहरू संकलन गर्न मालपोत कार्यालयले पाउँदै पाउँदैन भन्नु कानूनसंगत नहुने । (प्रकरण नं.३) § कुनै पक्षले दर्ता माग गरेको जग्गामा अर्को पक्षले पनि दर्ता दावी गर्दैमा स्वतः हक वेहकको प्रश्न उठेको मान्न मिल्दैन । दुई पक्षले दुई अलग पोता रसीद स्रोतका रुपमा देखाई एउटै जग्गा दर्ता माग गरे भन्दैमा हक वेहकको प्रश्न उपस्थित भएको मान्न नमिल्ने । § विवादमा दावीकर्ताहरूबाट सरसर्ती हेर्दा समेत समान स्तरका प्रमाण प्रस्तुत भएको र तिनलाई परीक्षण तथा मूल्याङ्कनद्वारा परख गर्नुपर्ने अवस्थामा अर्धन्यायिक निकायका रूपमा रहेको मालपोत कार्यालयको अधिकारक्षेत्र समाप्त हुन्छ । तर, प्रमाणको अवलोकनबाट नै कुनै पक्षको दावी अरघेलो र निरर्थक देखिन्छ भने मालपोत कार्यालयले निर्णय गर्न मिल्दैन भन्नु कानूनसंगत नहुने । § कुनै दावी केवल दावीका लागि मात्र भएको र कसैलाई दुःख दिने मात्र मनसायले प्रेरित भएको देखिएमा मालपोत कार्यालयले कसैको नाममा जग्गा दर्ता गरिदिने निर्णय गर्न सक्दछ । पछि त्यो निर्णय अदालतको न्यायिक परीक्षणको विषय बन्ने नै भएबाट अर्धन्यायिक निकायलाई कानूनले नै प्रदान गरेको अधिकार प्रतिसंहरित गर्न नमिल्ने । (प्रकरण नं.५) § मालपोत कार्यालयले प्रमाण अवलोकन गर्न पनि नपाउने अर्थ गर्ने हो भने मालपोत ऐन, २०३४ का दफा ६, ७, ८, २४ र ३२ समेत निष्प्रयोजित हुन पुग्दछन् र खासगरी दफा ३२ ले प्रमाण बुझ्ने र कागजपत्र दाखिल गराउने सम्बन्धमा अदालतलाई भए सरह अधिकार हुनेछ भन्ने विधिकर्ताको प्रवन्ध शून्यमा परिणत हुन पुग्ने । § मालपोत कार्यालयले प्रमाण अवलोकन समेत गर्न नपाउने हो भने प्रमाण बुझ्नुको कुनै तात्पर्य नै हुँदैन । कानूनले कुनै निकायलाई कुनै कार्य गर्न दिन्छ भने त्यो कार्य निष्प्रयोजित हुने गरी व्याख्या हुन नसक्ने । (प्रकरण नं.८) § मोहीको कथन मिसिल संलग्न प्रमाण प्रतिकूल भए सन्दिग्ध हुन सक्दथ्यो र यो एक मात्र निर्णायक प्रमाण हुन सक्दैनथ्यो । तर, अन्य प्रमाणबाट समेत समर्थित भएमा यस्ता जग्गासँग पहिलेदेखि नै मोहीका रूपमा आवद्ध व्यक्तिको कथनले प्रमाणहरूको समूहमा विशिष्ठ महत्व राख्दछ । जग्गाधनी चिन्न र चिनाउन सो जग्गा जोती आएको मोहीका कथनमा दुराशय प्रमाणित नभएमा अन्य व्यक्तिको कथनभन्दा बढी भरपर्दो हुने । (प्रकरण नं.११) § कसैले विना आधार शून्यको स्थितिमा जग्गा आफ्नो हो भनी निवेदन दिँदैमा हकबेहकको प्रश्न उपस्थित भएको मान्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8625 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2067/12/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8625 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
