नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8608 · वि.सं. २०६८
नि.नं. 8608 — अंश नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी प्रतिवादीबीच नाता पर्नु र उनीहरू बीच बण्डा भएको नपाइनु नै अंशबण्डा गरिदिनुपर्ने पूर्वाधार होइन । नाता पर्नु र अंशियार हुनु विल्कुलै अलग स्थिति हुन् । सबै अंशियार नातेदार हुन्छन् तर सबै नातेदार अंशियार हुँदैनन् । तसर्थ नाता कायम भए पनि कुनै व्यक्ति कसैको अंशियार नठहर्न सक्छ । अंशबण्डा हुन सो सम्पत्तिको प्रकृतिको विश्लेषण गरेर मात्र त्यो बण्डा हुने वा नहुने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । सम्पत्तिको विश्लेषण गरिने आधार नै पक्षहरूबाट प्राप्त हुने तायदाती हुने । (प्रकरण नं.८) § तायदाती मागिनु अंशबण्डा हुने सुनिश्चितता होइन । अंशबण्डाको २० नं. मा अंशमा नालिस परी आएकोमा अंशबण्डा गरी दिनुपर्ने देखिन आएपछि घरको लेनदेन कामकाज गर्ने जानकारसँग तायदाती माग्ने कानूनी व्यवस्थाले तायदाती माग्ने आदेश गर्दासम्मका प्रमाणको मोटामोटी मूल्याङ्कन गरिनेसम्म हो । तत्काल प्राप्त प्रमाणबाट अंशियार देखिएमा र बण्डा नभएको पाइएमा अंशबण्डा गरिदिनुपर्ने अवस्था देखिने भई यस्तो अवस्थामा तायदाती माग्ने आदेश हुने हो । भविष्यमा संकलित हुने प्रमाणका बारेमा आदेश गर्दा पूर्वाभास हुन सक्ने अवस्था हुँदैन । तसर्थ, तायदाती माग्नु असाधारण अधिकारक्षेत्रका मुद्दामा सरसर्ती हेर्दा गरे विराएको देखिएमा कारण देखाउ आदेश जारी गरिए सरहमात्र हुने । (प्रकरण नं.९) § तायदाती अंशबण्डा गरिदिन पर्ने हो वा होइन र अंशबण्डा गरिदिन पर्ने स्थिति छ भने कुन कुन सम्पत्ति बण्डा गरिदिन पर्ने हो भन्ने निष्कर्ष निकाल्न न्यायकर्तालाई सघाउ पुर्याउने कार्यविधिगत एउटा चरण मात्र भएकाले तायदाती पछि सोमा उल्लिखित प्रत्येक सम्पत्ति पूर्वजका नामबाट आएका पैतृक वा सो सम्पत्तिबाट बढे बढाइएका हुन् वा होइनन् तथा कुनै सम्पत्ति कसैले निजी भन्दछ भने त्यसको स्रोत र आर्जनका माध्यमका बारेमा प्रामाणिक विश्लेषण गर्दै अदालतले न्यायिक निर्णय लिनुपर्ने । (प्रकरण नं.९) § दर्तावालाको नाममा रहेको सम्पत्ति आर्जन गर्दा परोक्ष श्रम र सहयोग उसको परिवारका अन्य सदस्यको पनि रहन्छ भन्ने मान्यता नै अंशबण्डासम्बन्धी कानूनी व्यवस्थाको मूल मर्म हो । आर्जनमा आफ्नो कुनै सहभागिता नै नरहेको सम्पत्ति अंशबण्डाको रूपमा दुई भागको एक भाग पाउनु पर्छ भन्न न्यायसंगत नहुने । (प्रकरण नं.१२) § नाता वा सम्बन्धका बारेमा कुनै कुरा व्यक्त गर्ने व्यक्ति विवादित नाता सम्बन्धका बारेमा वा त्यस्तो नातासम्बन्धी पुस्तेवारी वा वंशवृक्षका बारेमा विशेष रुपमा जानकारी भएको हुनुपर्ने हुँदा विशेष जानकारी राख्ने स्थितिमा नरहेको व्यक्तिले उक्त नाता वा सम्बन्धको विषयमा वास्तविक र सही कुरा व्यक्त गर्न नसक्ने हुँदा निजको भनाई सो नाता वा सम्बन्ध यकीन गर्न प्रमाणयोग्य हुन नसक्ने । (प्रकरण नं.१४) § नाता सम्बन्धमा विवाद सिर्जना भइसकेपछि सो विषयमा साधिकार न्यायिक निकायबाट निश्चित् निष्कर्ष नआउँदै अन्य कुनै निकाय वा पदाधिकारीले त्यस्तो नाता सम्बन्धको विषयमा गरिदिएको सिफारिश वा उपलब्ध गराएको नाता प्रमाणपत्रले त्यस्तो नाता सम्बन्ध स्थापित गर्न कुनै प्रामाणिक भूमिका खेल्न नसक्ने । § प्रमाण भन्ने कुरा जहिले पनि स्वाभाविक देखिनु पर्दछ । मुद्दा परेपछि त्यसलाई भरथेग गर्न सिर्जित कागजातले कुनै मूल्य राख्दैनन् । नाताको विषयमा विवाद उत्पन्न भएपछि तयार भएका त्यस प्रकारका कागजातहरूलाई अदालतले प्रमाणको रुपमा लिई ग्रहण गर्ने हो भने नातासम्बन्धको विवादित प्रश्न अन्ततः अदालतभन्दा बाहिरका अन्य निकाय वा पदाधिकारीको निर्णयबाट प्रभावित हुन पुग्दछ, जुन न्यायको मान्य सिद्धान्तप्रतिकूल हुने । (प्रकरण नं.१९) § अंशमा दावी गर्ने अंशियार नाता सम्बन्धभित्रको व्यक्ति हो भन्ने नै निर्विवाद रुपमा स्थापित हुन नसकेको, कुनै पैतृक सम्पत्ति नरहेको, वादी प्रतिवादीसँग साथमा नरहेको, मानो छुट्टिएपछि प्रतिवादी पक्षका नाममा आएका सम्पत्ति आर्जनमा परोक्ष समेत सहभागिता नरहेको अवस्थामा अंश दिलाई दिने कार्य कानून तथा न्यायसंगत नहुने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8608 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारी |
| निर्णय वर्ष / मिति | 2068/02/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६५-NF-०३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8608 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
