नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8380 · वि.सं. २०६७
नि.नं. 8380 — मोही नामसारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ परिवारका कुनै व्यक्तिको मृत्युपश्चात् सम्पत्तिमा रहेको भोगाधिकार स्वतः समाप्त हुँदैन । कुनै पक्षले मोहीका रुपमा भोगाधिकार रहेको व्यक्तिको मृत्युपछि मोही लागेको जग्गाको भोगाधिकार आफूमा सारेको स्वघोषणा गर्नु मोहियानी हक समाप्तिको आधार हुन नसक्ने । § मोहियानी हकको समाप्तिका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को बाटो जग्गाधनीले अपनाएको हुनैपर्छ । अन्यथा सो जग्गामा रहेको जग्गाधनीलाई बाली बुझाई जोत आवाद गर्ने हक मृतक मोहीका परिवारमा स्वतः सर्ने । (प्रकरण नं.२) § सम्पत्ति स्वामित्वहीन हुन सक्दैन । त्यसैले हक जग्गा पजनीको २क ले पैंतीस दिन पछि दश रुपैया दस्तूर लिई जहिले सुकै पनि नामसारी हुन सक्ने गरी असीमित समय राखेको छ । मोहियानी हक नामसारी गर्न कुनै समय सीमा कानूनले तोकिएको छैन । बाबुको मृत्यु पछि निजका छोरा समेतका हकवाला मोहियानी हक नामसारी गर्ने औपचारिकता पूरै गर्नैपर्छ भन्ने कानूनी बाध्यता छैन । नामसारी गर्नु भनेको अभिलेख अद्यावधिक गर्नु हो । नामसारीको प्रक्रियाले नभएको हक सिर्जना गर्ने नभई कायमी हक हकवालामा सर्ने । § बाजेको मोहियानी हक निजको २०२४ सालमा देहान्त भएपछि अन्य हकवालाको विवाद नहुँदा यी प्रत्यर्थीका बाबुमा सर्यो । बाबुले नामसारी गराई अभिलेख अद्यावधिक नगराउँदैमा निजको मोहियानी हक सिर्जना नै नभएको मान्न नसकिने । § बाजेबाट बाबुमा सरेको मोहियानी २०३१ सालमा निजको देहान्तपछि यी प्रत्यर्थीमा सर्नु भूमिसम्बन्धी ऐन, २०२१ को तत्काल बहाल दफा २६(१) को परिप्रेक्ष्यमा नितान्त कानूनसंगत छ । उक्त जग्गाको मोहीलाई प्रतिवादीले भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको प्रक्रिया पूरा गरी नहटाएको अवस्थामा मोहीले निरन्तरता पाइरहेको मान्नु न्यायसंगत हुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8380 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी । |
| निर्णय वर्ष / मिति | 2067/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६६-CI-०५८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8380 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
