नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8368 · वि.सं. २०६७

नि.नं. 8368 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करारका पक्षहरूद्वारा संशोधन नगरिएको अवस्थामा करारका कुनै एक पक्षको कुनै व्यवहार वा कुनै घटनालाई लिएर त्यसमा संशोधन भएको भनी बलात् अर्थ गर्नु करारसम्बन्धी अवधारणाको प्रतिकूल हुनजाने । (प्रकरण नं.५) § जुन काम वा उद्देश्यका लागि करार भएको हो, ठेक्कादाता पक्षले सो काम वा उद्देश्य प्राप्त गरेको हुनुपर्दछ । यस्तो उद्देश्य प्राप्त नभएको अवस्थामा सारभूत रुपमा काम सम्पन्न भएको मान्न नसकिने । (प्रकरण नं.१२) § रोपवे निर्माण जस्तो करारको पूर्णतासँग जोडिएको महत्वपूर्ण कार्यको सम्पन्नताको प्रमाणपत्र जारी गर्ने विषयलाई सामान्य प्रशासकीय पत्राचारको श्रेणीमा राखेर हेरिनु हुँदैन । त्यस्तो प्रमाणपत्र जारी गर्ने जिम्मेवारी करार लिखतले कसैलाई तोकेको अवस्थामा निज स्वयंले र त्यसरी नतोकिएको अवस्थामा कम्पनीको तर्फबाट आधिकारिक व्यक्तिले वहन गर्नु पर्दछ । त्यस बाहेकका अन्य कसैले निर्णयमा दस्तखत गरेको भन्ने मात्र आधारमा त्यसैलाई सम्पन्नताको आधार बनाउनु कम्पनीको कार्य सम्पादन गर्ने स्थापित प्रक्रिया र मान्यता प्रतिकूल हुन जाने । (प्रकरण नं.१३) § मध्यस्थताद्वारा विवाद समाधान गर्ने प्रक्रिया भनेको न्यायिक प्रक्रियाअन्तर्गतकै एउटा अनौपचारिक र वैकल्पिक प्रक्रिया मात्र हो । अदालत बाहिर सम्पन्न हुने भन्ने आधारमा यसलाई अनुमान, आशंका र काल्पनिक कुरालाई समेत निर्णयाधार बनाउन मिल्ने प्रक्रियाका रुपमा स्थापित गरिनु हुँदैन । मध्यस्थताको प्रक्रियामा पनि विवादित विषयमा ठहरमा पुग्नका लागि तथ्यहरू स्थापित हुनुपर्छ, सम्बद्ध प्रमाणहरूले त्यसलाई समर्थन (Corroborate) गर्नु पर्दछ र त्यो सम्बन्धित करारको लिखतअनुरूप हुनुपर्छ । करारका शर्तहरू अस्पष्ट रहेको वा मौन रहेको अवस्थामा मात्र प्रचलित कानून, यससम्बन्धी अवधारणा र मान्यताका आधारमा व्याख्या गर्नुपर्ने हुन्छ । तर त्यस्ता स्थापित मूल्य, मान्यता र प्रचलित कानूनको आधारमा नभै सीधै अनुमानका आधारमा निष्कर्षमा पुग्ने परिपाटीले निष्पक्ष न्यायको सम्भावनालाई कमजोर पार्दछ, त्यस्तो निर्णय तथ्य र कानूनमा आधारित नभै निर्णयकर्ताको मनोगत तर्क र स्वविवेकमा आधारित हुन पुग्छ । त्यसरी कुनै पनि न्यायिक निर्णयलाई अनुमानको अधिन बनाउने अनुमति न्यायका मान्य सिद्धान्तहरूले प्रदान नगर्ने । (प्रकरण नं.१८) § कुनै दुई पक्षबीच भएको करारले सिर्जना गरेको दायित्व कुनै व्यक्तिले पूरा नगरेको अवस्थामा त्यस्तो दायित्व म पूरा गर्नेछु भनी पहिलो करारका कुनै पक्ष र अर्कै तेस्रो पक्षका बीचमा भएको करार नै जमानतसम्बन्धी करार हुने हुँदा जमानतसम्बन्धी करारलाई सबै अवस्थामा शर्तरहित मान्न नसकिने । (प्रकरण नं.२६) § जमानत सम्झौता स्वयंमा पनि विभिन्न दफाहरू रहेको र त्यसले दुबै पक्षका दायित्वलाई स्पष्ट रुपमा सूचीकृत गरेको अवस्थामा कुनै एउटा दफा वा कुनै एउटा शर्तलाई निरपेक्ष ढंगले अलग गरेर हेर्न मिल्ने अवस्था रहँदैन । सम्झौताका शर्तहरू एक आपसमा सम्बन्धित र सापेक्ष रहन्छन् । यो करारीय विधिशास्त्रको सामान्य सिद्धान्त नै हो र जमानतको वाणिज्यिक आसय पनि त्यसभन्दा पृथक हुन नसक्ने । (प्रकरण नं.२७) § करारको लिखत आफैंमा एउटा सिंगो र पूर्ण दस्तावेज हुने, त्यसमा रहेका प्रत्येक दफाहरूको आ–आफ्नै महत्व रहने र एकको अभावमा अर्कोले समेत प्रयोजन गुमाउने करार कानूनको सामान्य सिद्धान्तलाई जमानतको वाणिज्यिक आसयको रुपमा फरक किसिमले मनोगत अर्थ गरी गरिएको निर्णय स्वयंमा नै प्रचलित कानूनको विपरीत, कानूनी दृष्टिले त्रुटिपूर्ण, अस्पष्ट, सम्झौताको शर्तविपरीत र गलत सिद्धान्तमा आधारित मान्नुपर्ने । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8368
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2067/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्