नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8203 · वि.सं. २०६६
नि.नं. 8203 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ व्यक्ति आफ्नो स्वैच्छाबमोजिमको पेशा वा रोजगार गर्न स्वतन्त्र हुन्छ । यस स्वतन्त्रतामाथि हस्तक्षेप गरी यो यस्तो पेशा वा रोजगार मात्र गर्न पाउने भनी अन्य कुनै पनि पक्षबाट दवाव सिर्जना गर्न मिल्दैन । यो स्वतन्त्रतामा व्यापक सार्वजनिक हित र कल्याणका लागि राज्यद्वारा प्रतिवन्धात्मक वाक्यांश (५) बमोजिम रोक लगाउने वा कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन पाउने अवस्थावाहेक अन्य कुनै पनि हस्तक्षेप अग्राह्य नमानिने । (प्रकरण नं. ९) § महिला हकको संरक्षणको लागि पुरुषसरह रोजगारीको अवसरमा समान र सहज पहुँचका साथै रोजगारीका शर्त र कार्य वातावरण महिलामैत्री बनाउने र उनीहरूलाई रोजगार प्राप्तिको लागि सशक्तीकरण गराउँदै लानेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने । (प्रकरण नं. १५) § सार्वजनिक क्षेत्रमा पिछडिएका वर्ग, क्षेत्र वा लिङ्गका नागरिकहरूको उपस्थिति न्यून रहेको परिप्रेक्ष्यमा तिनीहरूको संख्यात्मक र गुणात्मक उपस्थितिलाई अभिवृद्धि गर्नेतर्फ राज्यको रोजगारसम्बन्धी नीति र कार्यक्रम केन्द्रित हुनुपर्ने । (प्रकरण नं. १६) § मौलिक हकहरू विभिन्न भए पनि ती हकहरू आ—आफ्नो ढंगले विशिष्ट अनि एक–आपसमा अन्तर्निर्भर र अन्तरसम्बन्धित पनि रहने हुनाले हकहरूको तहगत प्राथमिकता निर्धारण गरी कुनै हकलाई कम महत्त्वपूर्ण भनी होच्याउन नमिल्ने । § कुनै हक विशेषको कार्यान्वयन पक्षलाई केन्द्रित गर्दा अरु हकहरू पनि कसरी एकीकृत र सम्वद्ध भएर आउँछन् भन्ने तथ्यगत विश्लेषण गरी त्यस्तो हकको अधिकाधीक प्रचलनको लागि अन्य हकहरूको योगदानको महत्त्वलाई विचार गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण हुने । (प्रकरण नं. १९) § मानव अधिकारहरूलाई हकको प्रकृतिअनुसार वर्गीकरण गर्न सकिने भए पनि हकको सार पक्षलाई नै गौण बनाई एउटा वर्गलाई उपभोग्य मान्ने र अर्कोलाई तत्काल प्रचलन योग्य नबनाए पनि हुने गैरजिम्मेवार हलुका (Complacent) सोच बनाउन नमिल्ने । (प्रकरण नं. ४४) § रोजगारीको हक आर्थिक र सामाजिक अधिकारमध्ये महत्त्वपूर्ण हक रहेको र नागरिक एवं राजनैतीक अधिकारको सार्थक उपयोग गर्न समेत महत्त्वपूर्ण हुने हुनाले यसलाई अनिश्चितकालसम्म राज्यले आफ्नो स्रोत र साधन हेरी क्रमिक रुपमा व्यवस्थित गर्दै जाने वर्गमा राखेर यसको महत्वलाई घटाउन दिन नमिल्ने । (प्रकरण नं. ४५) § हरेक देशलाई रोजगारीको हकको व्यवस्था गर्ने क्रममा आफ्नो देशको विशिष्ठ परिस्थितिअनुकूल हुने गरी कानूनी लगायत जुनसुकै उपायहरू अवलम्बन गर्ने तजवीजी अधिकार हुन्छ । तर तजवीजको नाउँमा रोजगारीको हक नै सुनिश्चित नगर्ने भन गर्नु हुदैन । हरेक व्यक्तिलाई बेरोजगारीको समस्याबाट मुक्त गर्ने र रोजगारीमा सुरक्षा दिने व्यवस्था अविलम्व गर्नेतर्फ राज्य सचेत रहनु पर्ने । (प्रकरण नं. ५८) § स्रोत साधनको अपर्याप्तताको आधार देखाई राज्य सधैं नै दायित्वबाट पन्छिइरहने हो भने अधिकारहरू कहिल्यै पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले राज्यको स्रोत साधनको लेखाजोखा र त्यसको नागरिक हक अधिकार संरक्षणको हितमा भएको उपयोगिताको औचित्यता न्यायिक पुनरावलोकनको दायराभन्दा बाहिर पर्न नसक्ने । (प्रकरण नं. ६९) § मानव अधिकार आयोग जस्तो निकायबाट गैरकानूनी थुना जस्तो विषयमा मात्रै सीमित हुने नभै मानव अधिकारको सबै विषयमा आरम्भक (Initiator), अनुगमनकर्ता (Monitor), प्रोत्साहक (Inspirer), सल्लाहकार (Advisor), मूल्याङ्कनकर्ता (Evaluator) र आलोचक (Critic) जस्ता विभिन्न रुपले सहयोग पुर्याउन सक्ने । (प्रकरण नं. ७२) § मौलिक हकको भागमा कुनै हकलाई समावेश गर्नुको अर्थ त्यस्तो हकलाई तत्काल क्रियाशील बनाउनु हो र यसको उल्लंघन वा अप्रचलनको स्थिति खडा भएमा उपचारको हक प्राप्त हुन्छ भन्न पनि हुने । (प्रकरण नं. ७७) § संविधानले जे जस्तो उत्तरदायित्व किटान गरेको भए पनि सो पूरा नगर्न कुनै अंग स्वतन्त्र छ र सो पूरा गर्न कर लगाउन हुदैंन भन्ने सोच राख्ने हो भने लिखित संविधानको पद्धतिप्रति नै अनास्था व्यक्त गरेको हुन जान्छ त्यस्तो तर्कको गुन्जाइस नदेखिने । (प्रकरण नं. ७९) § मौलिक हकहरू जनताको प्रत्यक्ष र तत्काल प्रचलन गराउन पर्ने हकहरू हुन । त्यसैले तिनीहरू कुनै पनि निकाय चाहे त्यो विधायिका नै किन नहोस, उसको इच्छाधीन रहँदैनन् र साधन स्रोतको अभावको नाममा अनिश्चित बनाउन वा प्रचलन नगराउने आधार बनाउन नमिल्ने। (प्रकरण नं. ८०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8203 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2065/09/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | ०६४-WO-०७१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8203 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
