नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8201 · वि.सं. २०६६
नि.नं. 8201 — दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गाको स्वामित्वको निर्धारणमा तत्काल भौतिक नियन्त्रण हुनैपर्ने बाध्यता नहुने किनभने स्वामित्व र भोग अलग–अलग कानूनी अवधारणा भएबाट यी अलग–अलग व्यक्तिको हुनसक्ने विधिशास्त्रीय मान्यता छ । तर सम्पत्ति धारण गर्ने स्वामी अर्थात् धारकको सो सम्पत्तिसँगको सम्बन्ध स्पष्ट रुपमा देखिनुपर्छ । त्यो देखिने आधार कानूनले संरक्षण गर्नसक्ने अवस्थाको भएमा मात्र त्यस्तो सम्पत्तिमा स्वामित्वको दावी गर्ने अधिकारको सिर्जना हुनसक्ने । (प्रकरण नं. ६) § दूषित दर्ता भनी हाँक दिने हकदैया जो कोहीमा र जहिले सुकै पनि रहँदैन । यसलाई हाँक दिने पक्षको सो दर्तासँग सार्थक सम्बन्ध भने रहनु पर्ने । § स्रोतविहीन दर्तालाई दूषित दर्ताको परिधिमा राखेर हेर्नुपर्ने हुन्छ । दूषित दर्ता गराउँदैमा कुनै सम्पत्तिमा अधिकारको सिर्जना हुनसक्तैन । त्यसो हुँदा दूषित रुपमा दर्ता गराइएको जग्गाको हस्तान्तरण प्रक्रियाको आडमा हैसियत परिवर्तन हुन सक्दैन । स्रोत नै दूषित भएपछि तद्पश्चात्का क्रियाले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ७) § प्रतिवादीले फिराद हदम्याद नाघी परेको भनी जिकीर लिए पनि दूषित रुपमा दर्ता गराएको जग्गालाई हदम्यादको आधार देखाउँदै मान्यता दिँदै जाने हो भने एकाको हकको अथवा सरकारी वा सार्वजनिक जग्गा गुपचुप रुपमै दर्ता गर्ने र निश्चित म्याद नाघेपछि दावी गर्न आउने प्रवृत्तिले प्रोत्साहन पाउने हुँदा यस्तो प्रवृत्ति साम्पत्तिक अधिकारसम्बन्धी विधिशास्त्रीय अवधारणा प्रतिकूल हुने । (प्रकरण नं. ८) § स्रोत दूषित भएपछि सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ता फोडद्वारा खण्डित भएको जग्गाको हैसियत पनि मूल जग्गासरह दूषित हुन्छ । कानूनी बाटो अनुशरण गरी अदालतबाट फैसला गराई हक हस्तान्तरण गरेको भन्ने आधारले दूषित दर्ताको हैसियत परिवर्तन हुन सक्तैन । यसरी ऐलानी जग्गा दूषित रुपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्ता माथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद हदम्याद नाघी परेको भन्न नमिल्ने । (प्रकरण नं. ९) § परस्पर अन्योन्याश्रित क्रियाहरूको कानूनी रुपमा परीक्षण एकसाथ गर्न सकिन्छ । यसलाई अलग–अलग विषय मान्नु न्यायोचित हुँदैन । मूल क्रियाबाट निःसृत हुने अन्य सहक्रियाको संख्या अ.वं. ७२ को परिप्रेक्ष्यमा अलग विषय होइन । मूल क्रियाको कानूनी वैधताको परीक्षणमा सोसम्बन्धी अन्य सहक्रियाको अस्तित्व आश्रित रहन्छ भने यस्तो अवस्थामा जतिसुकै क्रियाहरूको विरुद्धमा पनि एउटै फिराद दायर भई इन्साफ हुन सक्ने, अ.वं. ७२ नं.को प्रयोजन र मनसाय यही हुने । (प्रकरण नं. १२) § दूषित रुपमा प्राप्त गरेको जग्गाको खण्डित अँशको स्वरुप र हैसियत पनि दूषित नै हुन्छ । दूषित जग्गा राजीनामा पारीत गरिदिएकै भरमा त्यो अलग्गै झगडाको विषय बन्नसक्ने अवस्था रहँदैन । दूषित स्रोतबाट प्राप्त भएको जग्गाको दर्तालाई अलग–अलग झगडाको विषय मान्न नमिलेकाले कि.नं. २३ फोड गरी राजीनामा पारीत भएको जग्गाको दर्तासमेतका विरुद्धमा परेको फिरादलाई मुलुकी ऐन, अदालती वन्दोवस्तको ७२ नं. को कानूनी व्यवस्था विपरीत दर्ता भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8201 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2066/05/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8201 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
