नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8167 · वि.सं. २०६६
नि.नं. 8167 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत भै सो कार्यतर्फ लक्षित रहेको अवस्थामा दुर्भाग्यबश मानिसको मृत्यु भएमा त्यो भवितब्य हुने कानूनी मनसाय देखिँदा भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा लिइन्छ । संगोगवश मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रुपमा हेरिदैन र मनसाय तत्वको अभावको कारण यस्तो वारदातलाई अपराधिक गाम्भीर्यता घटाउने परिस्थितिको रुपमा लिइन्छ । मनसाय तत्वको अभावका साथै भवितव्यको घटनामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिन्छ । आवेशपूर्ण स्थितिमा पीडित (मृतक) उपर कर्ता आक्रमक अवस्थामा रहन्छ, जुन भवितव्यमा नहुने । (प्रकरण नं.४) § फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नु पर्ने खास उद्देश्य (Motive) भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए पनि सवै परिस्थितिमा सवै मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था पनि रहदैन् । तथापि प्रतिवादीमा आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निस्कन्छ भन्ने ज्ञान भई त्यो परिणामको पूर्वानुमान लगाएको साथै त्यो परिणाम निस्कियोस् भन्ने इच्छा राखेको हुन्छ । तर कानूनले आत्मरक्षा वा प्रतिरक्षाको परिस्थितिको व्यवस्था गरेको छ, जसलाई वैध प्रतिरक्षाको उपस्थिति Presence of valid defense मानिन्छ, त्यो अवस्थामा केही गर्दा जुल्मीको मृत्यु भएमा त्यो मनसायप्रेरित हत्याको अपवाद स्वरुप देखा पर्ने । (प्रकरण नं.८) § मारौ भन्ने मनसायसहित प्रतिवादीले मृतकलाई कुटपीट गरेको पुष्टि हुने प्रमाण मिसिलमा मौजुद नदेखिएको अवस्थामा प्रतिवादीले मृतकलाई ज्यान मारौँ भन्ने मनसायले नै कुटपीट गरेको र मृतकको मृत्यु भएको ठहराउनु न्यायसंगत नहुने । (प्रकरण नं.११) § आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आँफैलाई नियन्त्रण गर्न नसकी उत्तेजित भै आफ्नो कर्तव्यबाट हुने परिणामको ख्यालै नगरी पीडित उपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । तथापि प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने । § पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिकरुपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्ने । § आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितीय हिसावमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय सम्वेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन प्रतिवादीले आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (Self-induce Provocation) गरेको भन्ने हुन नहुनुका साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling Off Blood) अवस्थाले पनि आवेशको स्थितिलाई वर्जित गर्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8167 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2066/01/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8167 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
