नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7878 · वि.सं. २०६४
नि.नं. 7878 — जिउ मास्ने बेच्ने ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै तथ्यको अपराधमा अपराधीलाई एक पटक भन्दा बढी मुद्दा नचलाइने विधिशास्त्रीय विकासलाई अक्सर धेरै राष्ट्रले स्विकारेको अवस्था छ । लिखित संविधान भएका कतिपय राज्यले आफ्नो संविधानमा यो सिद्धान्तलाई उचित स्थान दिएको पाईन्छ । स्पष्ट कानुनी व्यवस्थाको अभावमा पनि दोहारो खतराको सिद्धान्त अन्तर्गत फौजदारी कारवाहीमा कार्याविधीगत प्रतिरक्षा (Procedural Defense) को स्थान ग्रहणगर्न सक्ने । § प्रतिरक्षामा कसूर वा अभियोग लगाईएको कसूरमा पहिले नै मुद्दा चलाई सफाई पाइसकेको (Autrefois acquit) वा कसूर वा अभियोग लगाइएको कसूरमा पहिले नै दोषी भइसकेको (Autrefois convict) हुनु अनिवार्य हुन्छ । तसर्थ, यो सिद्धान्तले कुनै पनि व्यक्ति जसलाई कुनै खास फौजदारी कार्यवाहीमा पहिले मुद्दा चलाई सफाई दिइएको होस वा दोषी ठहराई सजाय दिइएको होस, पुनः सोहि विषयमा अनुसन्धान तहकिकात शुरु गर्नु मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने । § एउटै फौजदारी अपराधका सम्बन्धमा एक पटक भन्दा बढी अनुसन्धान तहकिकात भै मुद्दा चल्न सक्ने अवस्थालाई दाहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) ले सुरक्षा प्रदान गर्ने । § सक्षम अदालतबाट एकपटक फौजदारी कारवाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्ति उपर मुद्दा चलाई सजाय गर्न राज्य विवन्धित हुन्छ । त्यसैले यो सिद्धान्तलाई वैयक्तिक अधिकारको रक्षकको रूपमा पनि लिईन्छ । § एउटै कसूरको अभियोगमा पटक पटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौज्दारी न्याय प्रणाली न्याय अनुकूल नभै आतंकपूर्ण हुन सक्ने खतरा रहन्छ। नागरिकलाई यस अवस्थाबाट जोगाउन, एउटा अपराधमा एकपटक भन्दा बढी सजायको अवस्था सृजना हुन नदिन र साथै र फौज्दारी मुद्दाको अन्त्य (Finality of the Case) लाई यो सिद्धान्तले अंगालेको छ । (प्रकरण नं.९) § मानिसको बेचबिखन गर्ने कार्य भन्नु र कानुनी संरक्षकत्वबाट बञ्चित गर्ने, गैरकानुनी शारीरिक सम्बन्धका लागि भारतमा आयात गर्ने तथा वेश्यावृतिका लागि खरिद गर्ने भन्ने विषय नितान्त फरक देखिएबाट भारतमा र नेपालमा कारवाही चलाएको अभियोगको कसूर समान प्रकृतीको भन्ने देखिन नआउने । (प्रकरण नं.११) § जिउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा २ को “ऐनको बहिक्र्षेत्रिय प्रयोग” सम्बन्धी कानुनी व्यवस्थामा “कसैले यो ऐन बमोजिम सजाय हुने कसूर नेपाल अधिराज्य बाहिर बसी गरेको भएतापनि निजले त्यस्तो कसूर नेपाल अधिराज्य भित्र वसी गरे सरह मानी निजलाई यस ऐन बमोजिम कारवाई र सजाय हुनेछ” भन्ने उल्लेख भएको देखियो । ऐनमा प्रयोग भएको बहिक्र्षेत्रिय शब्दले राज्यको भौगोलिक सिमा (Territorial area) मात्र नसमेटी राज्यको सिमा बाहिर पनि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को कसूरलाई स्पष्ट रूपमा समेटेको छ । नेपालको कानुन विपरीतको अपराधमा विदेशमा विदेशी अदालतले नेपालको कानुन बमोजिम सजाय दिने अवस्था रहँदैन । भारतीय दण्ड संहिता नेपाल अधिराज्य भित्र लागू हुने नेपालको कानुन नभएको हुँदा भारतमा भारतीय कानुन बमोजिम कारवाही चलेको अवस्थालाई नेपालको कानुन बमोजिम कारवाही चलेको भन्न नमिल्ने । (प्रकरण १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7878 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने । |
| निर्णय वर्ष / मिति | 2064/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7878 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
